तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत चुनाव: नेपाली विश्लेषकहरू किन ‘असहिष्णुता बढ्ने’ चिन्तामा?
विश्वको सबभन्दा विशाल लोकतन्त्र भनेर परिचित भारतमा एप्रिल १९ देखि जुन १ तारिखसम्म सात चरणमा हुन लागेको आमनिर्वाचनअघि प्रतिपक्षी दलहरूले आफूहरूलाई निसाना बनाइएको बताइरहेका छन्।
निर्वाचनको केही महिना अगाडि उत्तर प्रदेशको अयोध्यामा धर्मलाई राजनीतिक उपयोग गर्ने उद्देश्यले विशाल राम मन्दिरको उद्घाटन गर्नेदेखि लिएर साम्प्रदायिक ध्रुवीकरणका प्रयासहरू भएका आरोप पनि उनीहरूले लगाइरहेका छन्।
भारतसँग १८ सय किलोमिटरभन्दा लामो खुला सिमाना रहेको नेपालमा त्यहाँ चलिरहेका बहसलाई चासो र चिन्ताका साथ हेरिँदै गरेको नेपाल-भारत मामिलाका जानकारहरूले बताएका छन्।
कस्ता चिन्ता?
चुनावको मिति घोषणा भएको केही दिनमै राजधानी दिल्लीमा राज्य सरकार चलाइरहेको आम आदमी पार्टी (आप)का मुख्यमन्त्री अरविन्द केजरीवाललाई गत बिहीवार इन्फोर्समेन्ट डिरेक्टोरेट (ईडी)ले पक्राउ गर्यो।
खासगरी सम्पत्ति शुद्धीकरणका मामिलाहरू ईडीले हेर्ने गर्दछ।
साथै मुख्य विपक्षी भारतीय राष्ट्रिय कांग्रसले प्रेस सम्मेलन गरेर पुराना मामिलाहरूलाई लिएर पार्टीको खाता रोक्का गरिएको आरोप लगायो। ३०-३५ वर्ष पुराना मामिला कोट्याएर पार्टीको चारवटा खाता रोक्का गरिएको उसले बताएको छ।
बीबीसी हिन्दीसँग कुरा गर्दै भारतका पूर्व प्रमुख चुनाव आयुक्त एसवाई कुरैशीले चुनावको ठिक अगाडि कुनै राजनीतिक दलको ब्याङ्क खाता रोक्नु भनेको चुनावमा सबैलाई समान अवसर दिनु पर्ने नियमबाट तिनलाई वञ्चित गरिनु सरह हो भनेका छन्।
“अहिले भारतमा प्रतिपक्षीहरूलाई निकै गाह्रो भइरहेको देखिन्छ। एकतर्फी बनाइएको छ। यसले समग्रमा असहिष्णु व्यवहार नै बढाइरहेको देखिन्छ,” भारतका निम्ति पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले भने।
अर्का पूर्व राजदूत प्राध्यापक लोकराज बराल भारतमा लोकतान्त्रिक दायरा खुम्चने डर सुनाउँछन्।
“एकातिर नरेन्द्र मोदीको करिश्मायुक्त नेतृत्वमा त्यहाँ बाटाघाटा, विमानस्थल तथा अन्य संरचनाको व्यापक विस्तार भइरहेको छ। अर्कातिर जनस्तरमा अनि समाजमा कतै विचलन आएको हो कि, धर्मका नाममा ध्रुवीकरण भइरहेको हो कि जस्तो मलाई लाग्छ,” प्राध्यापक बरालले बताए।
“कतै देश निर्वाचित निरङ्कुशतामा जाने हो कि भन्ने चिन्ता त्यहाँका कतिपय बुद्धिजीवीहरूमा पनि पाइन्छ। प्रतिपक्षी दलहरूलाई यति नै बेला सताउने कार्यहरूले त्यहाँ अलि भयको वातावरण चाहिँ सिर्जना भएको छ,” उनले भने।
कस्तो पाठ लिने?
नेपालमा हालै सरकार परिवर्तन भएर वामपन्थीहरूको वर्चस्व राजनीतिमा बढिरहेको देखिन्छ भने भारतमा चाहिँ हिन्दू राष्ट्रवादी दल मानिने भारतीय जनता पार्टी बलियो बन्दै गइरहेको देखिन्छ।
भारतमा चलिरहेको राजनीतिक हावाबाट अलि सजग भएर रहनुपर्ने मधेश विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक हरेराम ठाकुरको सुझाव छ।
“हामीले भारतबाट सिक्नुपर्ने पाठ धेरै छन्। सबभन्दा त उनीहरूले गरेको आर्थिक प्रगतिको नक्कल हामीले गर्नुपर्छ। तर राजनीतिको हकमा हामीले त्यहाँको आचरण यहाँ उतार्नु हुँदैन,” प्राध्यापक ठाकुरले बताए।
लोकतान्त्रिक व्यवहार तथा आचरण समाजअनुसार भिन्न हुन सके तापनि मूलभूत चरित्र गुमाउन भने नहुने उनीहरूले सुझाव दिएका छन्।
कस्तो प्रभाव पर्ला?
प्राध्यापक बराल भारतको राजनीतिको सोझो प्रभाव नेपालमा परिहाल्छ भन्ने ठान्दैनन्।
“हेर्नोस् चाहे राजतन्त्रको कुरा होस् वा अन्य,नेपाली जनताले विगतमा भोगेर अनि त्यसको परिवर्तन खोजेर आएका हुन्। त्यसैले भारतीय समाज र नेपाली समाजको चरित्र भिन्न छ,” उनले भने।
“तर पनि मनोवैज्ञानिक असर भने पर्न सक्छ।”
पूर्व राजदूत दीपकुमार उपाध्यायको चिन्ता चाहिँ ‘असहिष्णुता बढ्ला’ भन्नेमा छ।
“त्यहाँ असहिष्णुता बढ्यो भने हामीलाई प्रभाव परिहाल्छ। एक त कस्तो हुँदो रहेछ भने घरेलु राजनीतिमा असहिष्णुता बढ्यो भने त्यो उक्त देशको वैदेशिक सम्बन्धमा समेत प्रतिविम्बित हुन थाल्छ,” उनले भने।
“जस्तो भनौँ न अब उनीहरूको अनुकूल भएन भने विद्युत् व्यापार सम्झौता गर्न पनि आनाकानी गरिरहेका खबर छन्। असहिष्णुता बढ्दा के हुन्छ भने हामीले भन्या नमान्ने वा नगर्ने हो भने पख् देखाउँछु भन्ने भावना पलाउँछ। त्यसबाट हामी जोगिनु पर्छ,” उपाध्यायले बताए।
प्राध्यापक बराल नेपालका राजनीतिक शक्तिहरूले थिति नबसाल्दा अस्थिरता बढेको र अराजकता मौलाएको भए पनि त्यो तत्कालका निम्ति व्यवस्था नै खतरामा पार्ने किसिमको नभएको बताए।
भारतमा पनि जे जस्ता घटनाक्रम देखिएका छन् तिनले त्यहाँ लोकतन्त्र नै खतरामा पार्ने होइन कि प्रवृत्ति गलत बाटोतिर जाने डर भएको उनले बताए।
मधेश विश्वविद्यालयका प्राध्यापक हरेराम ठाकुर भारतमा हुने राजनीतिक गतिविधिले खासगरी सीमा क्षेत्रका राजनीतिमा कुनै प्रभाव पार्न सक्ने हुनाले त्यहाँ बढ्ता सजगता जरुरी हुने ठान्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।