चुनावमा कसरी हुन्छ धाँधली, कसरी रोक्न सकिन्छ

    • Author, इस्सारिया प्राइथोङ्याम
    • Role, बीबीसी विश्व सेवा

यो वर्ष ६० वटा देशमा निर्वाचन हुन लागेको छ। ती निर्वाचनमा मतदानका लागि झन्डै चार अर्ब मानिस योग्य छन्।

प्रजातान्त्रिक प्रणालीमा विचलन आएको चिन्तामाझ विज्ञहरूले कसरी निर्वाचन प्रणाली भ्रष्ट हुन्छ र त्यसलाई रोक्न के गर्न सकिन्छ भन्नेबारे बताएका छन्।

निर्वाचनको स्वच्छता

युरोपेली सङ्घका एक निर्वाचन अधिकारी रिकार्डो चेलेरीका अनुसार पूरै निर्वाचन प्रणालीले मतदाताहरूको चाहना प्रतिबिम्बित हुन दिँदा यस्तो अवस्था हुन्छ।

उनका अनुसार मानिसहरूले निर्वाचन प्रक्रियालाई विश्वास गर्न सक्ने हुनुपर्छ। त्यसो हुँदा उनीहरू मतदान गर्न आउँछन्।

“निर्वाचन पारदर्शी रूपमा हुनुपर्छ र मानिसहरूले आफूलाई आवश्यक जानकारी पाउने सुनिश्चित हुनुपर्छ," चेलेरी भन्छन्।

"निर्णय सहभागितामूलक हुनुपर्छ। मतदाताहरूलाई मत दिने मौका दिनु मात्रै स्वच्छ निर्वाचन होइन। त्यसका लागि राजनीतिक दलहरूलाई सहभागी हुन, हिंसात्मक घटनाबिनै निर्वाचनको प्रचारप्रसार गर्न पनि दिइनुपर्छ।"

यूनिभर्सिटी अफ बर्मिङ्गममा प्रजातन्त्र विषय पढाउने प्राध्यापक डा निक चीजमन आफ्नो अध्ययनमा उम्मेदवार तथा मतदाताहरूले स्वतन्त्र भएर मतदान गर्ने अनि सही तरिकाले मतदान हुने निर्वाचनको गुणस्तरीय प्रक्रियामा विश्वभरि नै कमी आइरहेको देखिएको बताउँछन्।

उनका अनुसार निम्न गुणस्तरको निर्वाचन नै मानक बन्न सक्ने खतरा रहेको छ।

“कुनै निर्वाचन सबै कुराले पूर्ण नहुन सक्छ तर उच्च गुणस्तरको निर्वाचनले जनतालाई सरकार छान्न र नेताहरूलाई जनताप्रति उत्तरदायी बनाउन मतदाताहरूलाई अवसर दिन्छ,” चीजमन भन्छन्।

साधनस्रोत र शक्ति दुरुपयोग गरेर अनियमितता

निर्वाचनको प्रक्रिया एउटा चुनाव सकिएको भोलिपल्टबाटै सुरु हुन्छ भनिन्छ। विज्ञहरूका अनुसार मतदाताहरूलाई प्रभावित गर्ने काम यो चरणमा जुनसुकै समयमा पनि हुन सक्छ।

"सिकारुले मात्रै मतदानको दिन चुनावमा धाँधली गर्छन्। तर यसमा पोख्त भइसकेकाहरूले मतदानको एक वर्षअघि नै चुनावको नतिजा तलमाथि बनाउने खेल गर्छन्,” चीजमन भन्छन्।

चुनावी धाँधलीका लागि सरकारमा रहेको दलले सुरक्षाशक्ति प्रयोग गरेर विपक्षी नेताहरूलाई धम्की दिने, सञ्चारमाध्यममा विपक्षीको सन्देशमा प्रतिबन्ध लगाउने र सत्ताधारी दललाई सहज हुने गरी चुनावमा दल तथा उम्मेदवारको दर्ता प्रक्रिया अघि बढाउने जस्ता शैली अवलम्बन गरेको पाइन्छ।

“प्रायः के हुन्छ भने सरकारमा रहेका शक्तिले निष्पक्ष नबसेका व्यक्तिहरूलाई न्यायाधीश नियुक्त गर्छन्। अनि त्यसका कारण अन्तिम मतपरिणामविरुद्ध कुनै पनि पुनरावेदनको सुनुवाइ अदालतमा हुँदैन,” चेलेरी भन्छन्।

अमेरिकाको निर्वाचनमा पनि यस्तो हुन सक्ने ठूलो चिन्ता थियो, तर भएन।

राष्ट्रपति हुँदा डोनल्ड ड्रम्पले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त गरेका थिए। त्यसपछि अमेरिकी अदालतमा कन्जर्भेटिभ पार्टीको पक्षमा ६-३ को बहुमत पुगे जस्तो देखिएको थियो।

तर सन् २०२० को निर्वाचनमा जो बाइडनसँग पराजित भएपछि ट्रम्पले दायर गरेको मुद्दामा न्यायाधीशहरूले ठूलो बहुमतसहित ट्रम्पको मागविपरीत‍ फैसला गरे।

चुनावमा धाँधली गर्ने अर्को तरिका 'जेरिम्यान्डरिङ' हो। निश्चित समूहलाई फाइदा पुग्ने गरी निर्वाचन क्षेत्र पुनर्निर्धारण गरेर यस्तो धाँधली गरिन्छ।

सत्ताधारी दलहरू वा सरकारी पक्षबाट चुनावको प्रचारप्रसारमा सार्वजनिक सम्पत्तिको दुरुपयोग हुन सक्छ। सरकारी स्रोतको प्रयोग गरेर चुनावको विश्वसनीयताबारे भ्रामक सूचना फैलाउने वा मतदाताहरूलाई पैसा खर्च गरेर आफ्नो पक्षमा पार्ने पनि गर्न सक्छन्।

“अमेरिकामा सबैभन्दा ठूलो चिन्ता जेरिम्यान्डरिङ, मतदाताहरूलाई मतदान गर्न निरुत्साहन र भ्रामक सूचनाको हुने गर्छ,” चीजमन भन्छन्।

“हामीले राष्ट्रपति बाइडनको भनाइजस्तो सुनिने नक्कली डिजिटल सन्देश पनि देखिसकेका छौँ। त्यसमा मतदाताहरूलाई मतदान गर्ने झन्झटतिर नलाग्न र आफूहरू अझैसम्म चुनावी अभियानको तयारीमा नलागेको भन्ने कुराहरू छन्।”

उनका अनुसार एल साल्भाडोर, भारत र श्रीलङ्काजस्ता देशहरूमा त भ्रामक सूचना, अनियमितता र राजनीतिक हिंसाको पनि जोखिम देखिने गरेको छ।

मतपत्र र परिणाम फेरेर जालझेल

मतदान भइसकेपछि परिणाम आउनुअघि परिणाम हेरफेर गरेर पनि धाँधली गर्ने प्रयास हुन सक्छ।

यस्तो धाँधलीमा पहिले नै छाप लगाइएका मतपत्रहरू पेटिकामा हाल्ने, खसेका मतहरूको सङ्ख्या तलमाथि पार्ने वा विपक्षीको मत घटाउन मतपेटिका नै नष्ट गर्ने जस्ता काम पनि पर्न सक्छन्।

सन् २०२१ मा रुसमा तीन दिनसम्म चलेको मतदानमा ठूलो धाँधलीको आरोप लागेको थियो। त्यहाँ मतपेटिकाहरूमा थप मत खसाल्ने र चुनावमा पर्यवेक्षकहरूलाई धम्की दिने जस्ता कार्य भएको आरोप लागेको थियो।

अनलाइनमा भाइरल भएका भिडिओहरूमा मानिसहरूले पेटिकामा मतपत्र खाँदिरहेको देखिएको थियो।

यद्यपि रुस सरकारले निर्वाचन कानुन उल्लङ्घन भएको ठूलो घटनाबारे जानकारी नआएको जनाएको थियो।

“तर पूरा प्रक्रिया नै आफ्नो नियन्त्रणमा छ भने तपाईँ सजिलै झुट बोल्न सक्नुहुन्छ,” चुनावी धाँधलीबारे पुस्तक प्रकाशित गरेका चीजमन भन्छन्।

उनका अनुसार बलियो निर्वाचन प्रणालीको अभ्यास भएका देशमा पनि धाँधली हुन सक्छ।

बलियो निर्वाचन प्रणाली भएका देशहरूमा पर्यवेक्षकहरूसँगै फरकफरक दलका प्रतिनिधि पनि बसेर मतदाताहरूको उपस्थिति र खसेको मत लगायतका विवरण राखेका हुन्छन्।

चीजमनका अनुसार घानामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा विपक्षी दलहरूले चुनावी नतिजाको विवरण सङ्कलन गर्न मोबाइल एप प्रयोग गरेका थिए।

सन् २०२१ मा जाम्बिआमा भएको निर्वाचनमा आन्तरिक पर्यवेक्षकहरूले अन्तर्राष्ट्रिय समुदायसँगको साझेदारीमा निर्वाचन आयोगसँगै खसेको मतको विवरण राखेका थिए।

यसले निर्वाचन आयोगलाई आफूले सङ्कलन गरेको विवरण पनि सार्वजनिक गर्न दबाव पुगेको थियो।

तर निरङ्कुश सरकारहरूले चुनावका समयमा नागरिक र गैरसरकारी संस्थाहरूको गतिविधि सीमित गर्ने गरेका कारण त्यसो गर्नु सजिलो नभएको चीजमन बताउँछन्।

चेलेरी पर्यवेक्षकहरूले चुनावको अन्तिम दिन मात्रै अनुगमन गर्न पाउने भएका कारण त्यसअघिका चरणमा भएको अनियमितताबारे उनीहरूले थाहा नपाउने बताउँछन्।

प्रतिपक्षीले पनि धाँधली गर्न सक्छन्

चुनावी धाँधलीबारे पुस्तकका लेखक चीजमनका अनुसार प्रतिपक्षी दलहरूले पनि चुनावमा धाँधली गर्न सक्छन्।

यद्यपि प्रतिपक्षी दलहरूले गरेका धाँधलीबारे खासै चर्चा भने हुँदैन।

“अहिले प्रतिपक्षमै भए पनि डोनल्ड ट्रम्पजस्ता व्यक्तिले सरकारमाथि आरोपहरू लगाउन सक्छन्। तीमध्ये केही सही र धेरै गलत हुन सक्छन्।"

"यसलाई सरकारलाई बदनाम गराउने अस्त्रको रूपमा प्रयोग गरिन्छ,” उनले भने।

प्रजातन्त्र सङ्कटमा परेको हो

“हामी आफैँलाई नढाटौँ। अहिले विश्वभरि प्रजातन्त्रको अप्ठ्यारोमा परेको समय हो," ईयूका अधिकारी रिकार्डो चेलेरी भन्छन्।

"मेरो विचारमा विगत पाँच वर्षयता प्रजातान्त्रिक अभ्यासमा पनि मन्दी आएको छ।”

उनका अनुसार कमजोर अर्थतन्त्र र सामाजिक सञ्जालमार्फत् फैलाइएका शङ्का र उपशङ्कामूलक कुराहरूको नकारात्मक प्रभावका कारण पनि त्यसो भएको हो।

यो वर्ष धेरै देशहरूमा हुन लागेका निर्वाचनको परिणामले प्रजातन्त्रको भविष्य निर्धारण गर्ने उनी बताउँछन्।

“सधैँ चुनावमा धाँधली भइरहने प्रजातान्त्रिक देशका मानिसहरूले यसबारे साँच्चिकै सोच्न थाल्ने छन्,” उनी भन्छन्।

“यदि प्रणालीले कहिले पनि हामीलाई वास्तविक छनोटको मौका दिँदैन भने मानिसहरूले मतदान गर्नु वा राजनीतिक सहभागिता जनाउनुको के अर्थ?”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।