झन्डै नौ वर्ष सुस्ताएको इम्बोस्ड नम्बर प्लेट छाप्ने काम अहिले किन हतारहतार

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

नेपाल सरकारले आउँदो हिउँद अगाडि नै २५ लाखवटा सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न लागेको यातायात व्यवस्था विभागका महानिर्देशकले बीबीसीलाई बताएका छन्।

नेपालभरि झन्डै ६० लाख सवारीसाधन दर्ता भएका छन्। तीमध्ये पहिलो चरणमा त्यति सङ्ख्याका गाडीमा डिजिटल रूपले पढ्न सकिने इम्बोस्ड प्लेट राख्ने सरकारको योजना छ।

"हाल विभागले पाँच लाखजति सङ्ख्यामा त्यस्ता प्लेट छापिसकेको छ। सन् २०२५ सम्म सम्झौता भए अनुसारको उक्त सङ्ख्या छापिसक्नुपर्ने भएकाले यस्तो क्रियाशीलता अपनाइएको हो," महानिर्देशक राजीव पोखरेलले भने। "प्रदेशतिरबाट मागहरू आउने क्रम उत्तिकै छ। त्यसैले यतिखेर माग र आपूर्तिमा समस्या छैन।"

त्यस्ता प्लेट सरकारले नै नि:शुल्क जडान गरिदिनुपर्ने पक्षमा उभिएका सार्वजनिक यातायात व्यवसायीहरूको एक सङ्गठनका पदाधिकारीले त्यसो नगरिए महँगो शुल्कमा इम्बोस्ड प्लेट जडान गर्ने काम सफल नहुने दाबी गरे।

"लाइसन्समा विदेशीको भरमा छाप्दा अहिले पनि लाखौँ मानिसहरूले ट्रायल पास गरेर पनि वर्षौँदेखि लाइसन्स पाएका छैनन्। एम्बोस्ड नम्बर प्लेटको विषय पनि यस्तो नै बनेर जान्छ भन्ने हाम्रो चिन्ता हो," यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने। चिपयुक्त 'स्मार्ट लाइसन्स' अब अत्यावश्यक हुँदाबाहेक अरूलाई वितरण गर्न छाडेर मोबाइल एपकै भर पर्न सकिने अवस्थालाई अधिकारीहरूले स्वीकार गरिसकेका छन्।

विशेष खालको विद्युतीय चिप राखिएको इम्बोस्ड नम्बर प्लेटमा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुने बताइन्छ।

तर यसको जडान निश्चित यातायात कार्यालयहरूमै आएर गर्नुपर्ने हुनाले प्लेट छपाइदेखि जडानसम्मको प्रक्रिया खर्चिलो र सकसयुक्त हुने सिटोलाको बुझाइ छ।

यातायात व्यवस्था विभागले इम्बोस्ड प्लेट छाप्ने उद्योग काठमाण्डूमा मात्र रहेको र प्रदेशहरूबाट आएको मागका भरमा छापेर पठाइने गरिएको जनाएको छ। त्यसकै कारण हालसम्म छापिएका प्लेटहरू पनि उल्लेख्य सङ्ख्यामा जडान हुन नसकेको बताइएको छ।

हतारो किन

विसं २०७३ सालमा प्लेट उत्पादन तथा जडान गर्नका लागि बाङ्ग्लादेश र अमेरिकाको संयुक्त लगानीको एउटा कम्पनीसँग थप गरिएको ठेक्का सम्झौता सकिन अब आठ महिना मात्रै बाँकी छ।

अहिले समयको अवधिमा प्लेटमा हुने भाषा र त्यसको औचित्यको विषयलाई लिएर सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका कारण पूर्णरूपमा कार्यान्वयनमा लैजान नसकिएको अधिकारीहरू बताउँछन्।

"अब त्यस्तो समस्या छैन। ऐन-नियममै अनिवार्य चाहिन्छ भनिएको विषय हो," पोखरेलले भने।

यसबारे झन्डै तीन वर्षअघि राजपत्रमा पनि सूचना प्रकाशित गरेर अनिवार्य कार्यान्वयनमा लैजाने भनिएको थियो। तर २५ लाखवटा प्लेटमा कसको नम्बर छाप्ने भन्नेबारे अझै स्पष्टता देखिँदैन।

"जो आउनुहुन्छ, उहाँहरू सबैले पाउनुहुन्छ," उनले भने।

हालसम्म सवारी नामसारी गर्दा सार्वजनिक, पर्यटक, निजी, सरकारी र संस्थानका गाडीमा सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरिएको छ।

"यसबाट नम्बर प्लेटहरू फेरिने, गाडी हराउने, तिनको अवस्थिति थाहा पाउन नसकिने अवस्था छ। त्यसलाई निराकरण गर्न यसो गर्न लागिएको हो," पोखरेलले भने।

"नेपालमा चल्ने सबै गाडीहरू डिजिटलाइज्ड हुनुपर्छ, आवश्यक पर्दा तिनलाई ट्र्याक गर्न सकिनुपर्छ भन्ने हाम्रो लक्ष्य हो।"

तर यातायात व्यवसायी महासङ्घका सिटौला भने लाइसेन्स छाप्दाकै बेलाको जस्तो ढिलासुस्ती र झमेला इम्बोस्ड प्लेटमा पनि हुने जोखिम रहनुले पनि आफूहरूमा यसप्रति विश्वासस्त हुन नसकेको बताउँछन्।

"व्यवसायीले महँगोमा यस्तो नम्बर प्लेट राख्नेवाला छैनन्। नेपालीमा पनि स्पष्ट बुझ्ने गरी नम्बर राखिनुपर्छ भन्ने मागमा अझै छलफल आवश्यक छ," उनले भने।

कस्ता गाडीलाई अनिवार्य

विभागका महानिर्देशक पोखरेल भने राष्ट्रिय सीमा नाघेर जाने सवारीसाधनहरूका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार पनि इम्बोस्ड नम्बर प्लेट अत्यावश्यक भइसकेको छ।

उनले यस पटक भारतको प्रयागराजमा भएको कुम्भस्नान मेलामा ठूलो सङ्ख्यामा नेपाली गाडीहरू जाँदा त्यस्तो चासो र चिन्ता महसुस गरिएको बताए।

"भारतबाहेक बाङ्ग्लादेशमा समेत ढुवानी गर्न हाम्रा गाडीहरू जाने गर्छन्, चीनका सीमा क्षेत्रमा पनि हाम्रा गाडी चलिरहेका हुन्छन्। यी सबै अन्तर्राष्ट्रिय मापदण्डअनुरूप हुनुपर्ने छ," उनले भने।

"तर हामीले दुईपाङ्ग्रे, तीनपाङ्ग्रेदेखि भाडाका गाडी, निजी गाडीलगायत सबैका लागि हुने गरी खुला गरेका छौँ।"

हाल परम्परागत रूपमा प्रयोगमा रहेका सात प्रकारका नम्बर प्लेटहरू छन्। एकरूपता ल्याउन क्रमशः एकै खालको प्लेट बनाउनका लागि चरणबद्ध यस्तो प्रयास थालिएको अधिकारीहरूको तर्क छ।

प्लेट तयार पार्ने कम्पनीसँग झन्डै एक दशकअघिको सम्झौताअनुसार उसले छापेर सरकारलाई बुझाउने र सरकारले भुक्तानी दिने व्यवस्था गरिएको छ।

सरकारले दुईपाङ्ग्रे सवारीसाधनका लागि इम्बोस्ड नम्बर प्लेटको शुल्क २,६०० रुपैयाँ तोकेको छ भने ट्रकजस्ता ठूला सवारीसाधनका लागि सबैभन्दा बढी ३,६०० रुपैयाँ तिर्नुपर्ने हुन्छ।

पुरानोभन्दा के फरक?

सरकारले उपलब्ध गराउने नम्बर प्लेट "मशीन इम्बोस्ड" हुने हुँदा अङ्क र अक्षर मशीनबाट छापिएको हुन्छ। अर्थात् विगतमा जस्तो हातले नम्बर प्लेट कोरिएको हुँदैन।

यातायात व्यवस्था विभागका अनुसार एक पटक सवारीसाधनमा नम्बर प्लेट जडान गरिएपछि त्यो निकाल्न मिल्दैन। अधिकारीहरूका अनुसार कि त्यसलाई 'ड्यामेज' गरेर फाल्नुपर्छ नत्र त्यो निकालेर अर्को हाल्न सम्भव हुँदैन।

यसको सबैभन्दा ठूलो फाइदा भनेको गाडी चोरी हुने "सम्भावना घट्छ" र गलत नम्बर प्लेट प्रयोग गर्न "मिल्दैन"।

दुईपाङ्ग्रे सवारीसाधनमा जडान गरिएको इम्बोस्ड नम्बर प्लेटमा 'आरएफआईडी स्टिकर' टाँसिएको हुन्छ। चारपाङ्ग्रे सवारीमा भने त्यो स्टिकर अगाडिको सिसामा हुन्छ।

सरकारी योजना अनुसार विभिन्न नाकाहरूमा आरएफआईडी गेट (प्रवेशद्वार) बनाएपछि त्यो प्रवेशद्वारमा इम्बोस्ड नम्बर प्लेट जडान भएका गाडी प्रवेश गरे त्यसको सूचना केन्द्रीय सर्भरमा आफैँ जान्छ। त्यसले गर्दा गाडी कता गएको छ भन्ने कुरा समेत हेर्न सकिने बताइन्छ।

त्यस्तै हाल जडान गरिएका नम्बर प्लेटहरू रातको समयमा "देख्न नसकिने समस्या रहेकामा" इम्बोस्ड नम्बर प्लेट भने झन्डै २०० मिटरको दूरीमा समेत प्रकाशमा टल्किएर देखिने बताइएको छ।

उक्त नम्बर प्लेट प्राप्त गर्नका लागि सर्वसाधारणहरूले यातायात व्यवस्था विभागको वेबसाइटमार्फत् आवेदन दिनुपर्ने हुन्छ।

आवेदकले पेस गरेका कागजपत्र प्रमाणीकरणको काम सम्पन्न हुनासाथ सिस्टमबाटै इम्बोस्ड नम्बर प्लेट जारी हुने अधिकारीहरू बताउँछन्।

त्यसपछि आवेदकले एउटा बार कोड प्राप्त गर्छन्। त्यो लिएर यातायात कार्यालयहरूमा गएपछि इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्न सकिन्छ।

सरकारले हाल वितरण गरिराखेको इम्बोस्ड नम्बर प्लेट चार वटा प्रकारमा वर्गीकरण गरेको छ।

सार्वजनिक यातायातमा पहेँलो प्लेटमा कालो अक्षर हुन्छ भने निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर लेखिएको हुन्छ।

त्यस्तै सरकारी र संस्थानका गाडीमा सेतो प्लेटमा रातो अक्षरले लेखिएको हुन्छ भने कूटनीतिक निकायहरूले प्रयोग गर्ने सवारीमा नीलो प्लेटमा सेतो अक्षर हुन्छ।

सरकारले फरक व्यवस्था गरेको अवस्थामा बाहेक मन्त्री, प्रधानमन्त्रीले प्रयोग गर्ने सवारीहरू समेत यी चार प्रकारका इम्बोस्ड नम्बर प्लेटमै पर्ने बताइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।