तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
काठमाण्डू-हेटौँडा सडक: तराई छुने छोटा बाटो किन राजधानी जोड्ने भरपर्दो विकल्प बन्न सक्दैनन्?
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
राजधानीलाई हेटौँडासँग जोड्ने झन्डै आठ वटा ठूला-साना सडकहरू भए पनि ती कुनै भरपर्दो वैकल्पिक मार्गका रूपमा प्रयोगमा आउन सकेका छैनन्।
ती सडक हुँदै काठमाण्डूबाट महेन्द्र राजमार्ग पुग्ने दूरी समेत उल्लेख्य कम रहे पनि दुई राजमार्गका हकमा स्तरोन्नति हुन सकेका छैनन् भने साना मार्गहरू विस्तार गर्न प्राविधिक र व्यवस्थापकीय रूपले कठिन रहेको अधिकारीहरू बताउँछन्।
चल्तीमा रहेका दुई वटा हेटौँडा-काठमाण्डू सडक मर्मत सम्भारका लागि भन्दै मध्य फागुनसम्मका लागि पूर्ण रूपमा बन्द भएका सूचना जारी गरिएका छन्। अर्को एउटा बाटोमा चल्तीकैबीच मर्मत सम्भार भइरहेको छ।
यी तिनवटै सडकको लम्बाई ७५ देखि ८५ किलोमिटरबीच छ।
स्तरोन्नतिका लागि रोकिएको तीन महिनापछि पनि त्यस बाटोमा गुड्ने गाडीहरू उही साना कार र माइक्रोबसभन्दा ठूला हुने छैनन्।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी ज्यानेन्द्रप्रसाद पुनले अहिले सरकारको ध्यान ती बाटो बाह्रै-मासे चल्न मिल्ने बनाउनेमा मात्र रहेको बताउँछन्।
“इन्टरमिडिअट मापदण्डको बनाउँछौँ। यो एकतर्फी बाटो पनि होइन तर दुईतर्फी समेत भन्न मिल्दैन। आउजाउलाई एउटा गाडी कुना लागेर अर्को कट्न सक्छ,” इन्जिनिअर पुन भन्छन्।
“चौडाइ बढाउने कुरा सोचिएको छैन। किनकि त्यसो गर्दा जग्गाको ठूलो विवाद हुन्छ। पहिल्यै जग्गा छुट्याएर राखिएको सडक पनि होइन यो।”
अलपत्र एउटा योजना
एकजना पूर्वाधार विज्ञ तुलसी सिटौलाले हेटौँडा काठमाण्डू सडक स्तरोन्नति हुँदाको हकमा समेत 'कृषि सडक' भन्दा माथिको तहको नहुने भन्दै त्यहाँबाट ठूला अपेक्षा गर्न नसकिने बताउँछन्।
यद्यपि काठमाण्डू-कुलेखानी-हेटौँडा सुरुङ मार्ग योजना स्वदेशी लगानीमै अगाडि बढाउने भन्दै नेपाल पूर्वाधार विकास कम्पनीमार्फत् अघि सारिए पनि त्यो अझै अगाडि बढ्न सकेको छैन।
उक्त राजमार्ग बन्ने अवस्थामा ५८ किलोमिटरको दूरीमा सङ्घीय राजधानीसँग बागमती प्रदेशको राजधानी जोडिन्छ।
तीन वटा सुरुङ आवश्यक पर्ने भनिएको उक्त चार लेनको सडक योजनामा झन्डै पाँच किलोमिटर सुरुङ रहने भनिएको छ।
पूर्वाधारविद् सिटौलाका अनुसार बिस्तारै बलिया साझेदारहरू छुट्टिँदै गएको र लगानी झन्झन् अनिश्चित बन्दै गए पनि आयोजनाको म्याद थप हुने काम मात्र भइरहेको बताउँछन्।
“फास्ट ट्र्याक बन्ने भएपछि हेटौँडा मात्र जानका लागि सुरुङ मार्ग आवश्यक छैन भनेर भन्दा भन्दै पनि तत्कालीन निजी लगानीकर्ताहरूले बलजफ्ती यस आयोजना अगाडि बढाएका थिए। तर अहिलेसम्म पनि उक्त आयोजना अगाडि बढ्न सकेन।”
चाहिएला काठमाण्डू-हेटौँडा सुरुङमार्ग?
काठमाण्डूबाट हेटौँडा पुग्न नारायणगढ हुँदै यात्रा गर्दा ६ देखि ७ घण्टा समयमा २२७ किलोमिटर यात्रा गर्नुपर्छ । त्रिभुवन राजपथको बाटो १३२ किलोमिटर छ।
५८ किलोमिटरमा घट्ने यस छोटो बाटोले समयलाई डेढ घण्टामा घटाउने सोचिँदा त्यसले इन्धन खपत समेत उच्च मात्रामा घटाउने भनिएको थियो।
सन् २०१२ मा उक्त आयोजनाको तत्कालीन खर्च झन्डै ४० करोड अमेरिकी डलर अनुमान गरिएको थियो।
“अहिलेको अवस्थामा त्यसको लागत मूल्य करिब १ खर्ब रुपैयाँ पुग्छ। मलाई त्यस बेला पनि यो बाटो बन्दैन भन्ने लागेको थियो। स्रोतको कुनै सुनिश्चितता पनि नहुँदा अहिले पनि मलाई त्यो बन्दैन भन्ने लाग्छ,” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव समेत रहेका सिटौला भन्छन्।
“पूर्वी नेपाल जानका लागि अर्को बाटो जसरी पनि आवश्यक पर्ने भनिएका बेला हेटौँडा जानका लागि मात्र यति धेरै खर्च हुने अवस्था रहँदैन।”
बागमती प्रदेशले समेत यस आयोजनालाई अगाडि बढाउनेबारे सोचेको भए पनि त्यसको आर्थिक लाभ नरहेको भन्दै अर्बौँ रकम खर्चन नहुने विज्ञहरूले बताउने गरेका छन्।
बागमती भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी ज्यानेन्द्रप्रसाद पुनका अनुसार प्रदेश सरकारले आफूले उक्त सडक खण्डलाई अगाडि बढाउन सङ्घसँग अनुमति मागे पनि अहिलेसम्म त्यसमा प्रगति भएको छैन।
“यस सडकको औचित्य सकिएको छैन। त्यसैले हामीले सङ्घ सरकारसँग कम्पनीलाई जिम्मा दिइएको उपभोक्ताहरूको पैसा समेत उठाइएको परियोजनाको अवस्था माग गरेका छौँ। त्यो समेत उपलब्ध भइसकेको छैन,” पुन भन्छन्।
“अनुमति पाएका खण्डमा त्यसको निर्माण विभिन्न स्वरूपमा गर्न सकिन्छ। पहिलेजस्तो चार लेनकै बनाउन पर्छ भन्ने छैन। दुई लेनमा समेत जान सकिन्छ। प्राविधिक पक्ष सुल्झाउने अनेकौँ तरिका हुन्छन्।”
हेटौँडा-काठमाण्डूको भरपर्दो बाटो कुन?
हेटौँडाबाट कुलेखानीसम्म एउटै बाटो आउने भए पनि त्यहाँबाट एउटा सिस्नेरी- दक्षिणकाली हुँदै आउँछ भने अर्को फाखेल–हुमाने–फर्पिङ र तेस्रो अर्को कुलेखानी नजिकैको कलङ्की-महालक्ष्मीखोला-मातातीर्थ खण्डमा काम भइरहेका छन्।
पूर्वाधारविद् सिटौलाले यी सडकहरू विगतमा स्थानीयले खनेका र परम्परागत ज्यामितीका आधारमा बनाइएकाले त्यसको विस्तारको सम्भावना न्यून रहेको बताउँछन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा हेटौँडालाई भरपर्दो रूपमा जोड्नका लागि झण्डै ९५ किलोमिटर लामो कान्ति राजपथ उपयुक्त रहेको तर्क गर्छन्।
त्यसको स्तरोन्नतिका लागि केही बजेट विनियोजन भए पनि त्यो पर्याप्त नभएको उनी स्विकार्छन्।
“कान्ति राजपथको एक-दुई ठाउँको पहिरोबाहेक उक्त राजमार्ग तयार छ। यसलाई सधैँ चलायमान राख्न सक्दाका हकमा मूल राजमार्गमा चाप पर्दा सहज कनेक्टिभिटी कायम रहन्छ,” सचिव शर्माको भनाइ छ।
“कान्ति राजपथमा ललितपुरतिर काल्चेभीरमा समस्या छ। मकवानपुरतिरको भाग राम्रै छ। थुप्रै गाडीहरू अहिले त्यहाँबाट जान्छन्। कुलेखानी हुँदै जाने साना बाटो समेत राम्ररी चलेपछि हलुका गाडीको चाप उल्लेख्य घट्नेछ।”
पृथ्वी राजमार्ग वा नारायणगढ मुग्लिङ सडक खण्डमा अवरोध आएर घन्टौँ वा केही दिनसम्म राजधानी जोडिने बाटो अवरुद्ध हुँदा कान्ति राजपथ चाहिने भन्दै चर्चा हुने गरे पनि त्यसको स्तरोन्नतिमा पर्याप्त काम नभएको जानकारहरू बताउँछन्।
जटिल मोडहरू र कमजोर भूबनोट पर्याप्त काम हुन नसकेका कारण उक्त बाटोको भर परेर ठूला मालवाहक सवारी लैजाने अवस्था अझै नरहेको अधिकारीहरू स्वीकार्छन्।
नारायणगढ-मुग्लिन खण्डमा पुल बनाउनका लागि पहाड काट्नुपरेको भन्दै मुख्य सडक दोस्रो पटक पुन: तीन साताका लागि हाल दिउसो चार घण्टा बन्द गरिँदा मुख्य सडकमा अहिले समेत सवारी चाप छ।
पूर्वाधारविद् सिटौला सचिव शर्माको भनाइमा सहमत हुँदै हेटौँडाबासीको स्तरोन्नतिको जोड कान्ति राजपथमा हुनुपर्ने बताउँछन्।
“भौगोलिक रूपले विस्तार गर्न सकिने भनेको कान्ति राजपथ नै हो। फास्ट ट्र्याक नबन्दासम्म यो प्रयोगमा ल्याउन सकिन्छ।”
वीपी राजमार्ग पनि 'विकल्प होइन'
पूर्वाधारविद् सिटौलाले १५८ किलोमिटर लामो बनेपा-बर्दिवास खण्डको वीपी राजमार्गलाई जबरजस्ती पूर्व जाने बाटोको रूपमा प्रयोग गरिएको भन्दै 'त्यो पनि कृषि सडक नै रहेको' तर्क गर्छन्।
“खुर्कोटबाट एउटा सुरुङ नबनाईकन त्यो बाटोले समेत राजमार्गको स्वरूप लिन सक्दैन,” सिटौला भन्छन्।
“सरकारले जोड दिएर छिटो सक्नुपर्ने भनेको काठमाण्डू तराइ फास्ट ट्र्याक नै हो। त्यो पूर्व जानलाई पनि नजिक र वीरगञ्जसँग पनि नजिक पर्छ।”
थानकोट-चित्लाङको बाटो समेत काठमाण्डू हेटौँडा जोड्ने एउटा सडक भए तापनि एउटै प्रदेशको छोटो बाटो भन्दै ८० वटा राजमार्गमा नपरेको सचिव शर्मा बताउँछन्।
“यद्यपि त्यस बाटोमा उकालो कम गर्न सक्दा उपयोगी हुने भन्दै सुरुङको अध्ययन गरिएको छ,” सचिव शर्मा बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।