गाजामा मानवीय सहायताका लागि केही ठाउँमा युद्ध रोक्न इजरेल तयार

इजरेलले गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने घोषणा गरेको छ। शनिवार राति गाजामा जहाजबाट सहायता सामग्री खसालेको बताएको इजरेलले त्यसलगत्तै यस्तो घोषणा गरेको हो।

इजरेली डिफेन्स फोर्सेस (आईडिएफ) द्वारा जारी वक्तव्यमा गाजा स्ट्रिपमा "आइतवारबाट बिहान १० बजेदेखि राति ८ बजे (०७:००–१७:०० जीएमटी) सम्म मानवीय सहायताको उद्देश्यका निम्ति सैन्य गतिविधिमा अस्थायी र सीमित विराम रहने" उल्लेख छ।

शनिबार खसालिएका सहायता सामग्रीमा "पिठो, चिनी र डिब्बाबन्द खानेकुरासहितका सातथरिका चिजबिज रहेको" बताइएको थियो।

त्यसअघि इजरेलले संयुक्त राष्ट्रसङ्घका सहायता वाहनहरूका निम्ति समेत नयाँ मार्ग खुला गर्ने घोषणा गरेको थियो।

विभिन्न सहायता निकायका प्रमुखहरूले गाजामा जहाजबाट सहायता उपलब्ध गराउने कार्यप्रति असन्तुष्टि जनाउँदै त्यसले त्यहाँको गहिरिँदो भोकमरीको समस्यालाई हल गर्न नसक्ने चेतावनी दिइरहेका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई) र जोर्डनले पनि आउँदा दिनमा हवाई सहायता उपलब्ध गराउने ठानिएको छ। त्यस्तै यूकेका प्रधानमन्त्री किअर स्टार्मरले पनि गाजामा हवाई मार्गमार्फत् "सक्दो सहायता" उपलब्ध गराउन ब्रिटिस सरकार प्रतिबद्ध रहेको बताएका थिए।

अन्तर्राष्ट्रिय उद्धार समितिका किरन डोनलीले त्यति गर्दा पनि खाँचो भएजति "परिमाण वा गुणस्तरको सहायता कहिल्यै उपलब्ध गराउन नसकिने" बताएका छन्।

सयभन्दा धेरै सहायता संस्था तथा मावाधिकारवादी समूहहरूले उक्त क्षेत्रमा ठूलो स्तरको भोकमरीको चेतावनी दिएका छन्।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले कुपोषणका कारण शनिवार थप पाँच जनाको ज्यान गएको जनाएको छ र योसँगै युद्ध सुरु भएयता यसरी ज्यान गुमाउनेको सङ्ख्या १२७ पुगेको छ। त्यसमा ८५ जना बालबालिका छन्।

विश्व खाद्य कार्यक्रमले गाजाका हरेक तीनमध्ये एकजनाले कैयौँ दिनदेखि खाना खान नपाएको र "मानव सिर्जित भोकमरीका कारण" त्यहाँका ९०,००० महिला तथा बालबालिकालाई उपचारको खाँचो रहेको जनाएको छ।

परम्परागत स्थल मार्गमार्फत् गाजामा सहायता पुग्न नसकेपछि जहाजबाट खाद्यान्न पुर्‍याउने विषयमा बहस भइरहेको हो।

प्यालेस्टाइनका निम्ति राष्ट्रसङ्घीय शरणार्थी निकाय यूएनआरडब्ल्यूएका प्रमुख फिलिप लाजारिनीले शनिवार आकासबाट खसालेर सहायता पुर्‍याउने कार्य "खर्चिलो र अपर्याप्त हुनका साथै गडबड भएका खण्डमा" भोकमरीसँग जुधिरहेका मानिसहरूको ज्यानैसमेत जान सक्ने बताएका थिए।

उनले आफ्नो सङ्गठनसँग जोर्डन र इजिप्टमा गरेर ६,००० ट्रक बराबरका सामग्री रहेको र गाजा प्रवेशका निम्ति अनुमतिको प्रतीक्षामा रहेको बताए।

त्यस्तै उनले "अवरोध हटाएर मार्ग खोल्न र अभावमा रहेका मानिसहरूसम्मको सुरक्षित र सम्मानजन पहुँच सुनिश्चित गर्न" राजनीतिक इच्छाशक्तिको खाँचो रहेको बताए।

"सडक मार्गबाट सहायता पुर्‍याउन सजिलो, प्रभावकारी, छिटो, किफायती र सुरक्षित छ। गाजाका मानिसहरूका निम्ति उक्त तरिका अधिक सम्मानजनक छ," उनले लेखेका छन्।

"खानेकुरा र औषधी पुर्‍याउने राष्ट्रसङ्घीय वाहनहरूको आवागमन सुनिश्चित गर्न निर्दिष्ट सहायता मार्गहरू स्थापित गर्ने" इजरेली घोषणाअघि लाजारिनीको टिप्पणी आएको हो। त्यसमा ती मार्गहरू कहाँ कहाँ हुनेछन् र कसरी सञ्चालन हुनेछन् भन्ने बताइएको थिएन।

इजरेलले गाजामा सहायता पुर्‍याउन रोक नलगाइएको बताएको छ। त्यसअघि इजरेल सरकारका एकजना प्रवक्ताले संयुक्त राष्ट्रसङ्घले हमाससँग मिलेर सहायता वितरणमा अवरोध पुर्‍याएको बताएका थिए।

राष्टसङ्घले त्यसको खण्डन गर्दै इजरेलले आफ्नो कर्मचारीतन्त्र सिर्जित अड्चनमार्फत् गाजामा सहायता एकत्र गर्ने आफ्नो क्षमतामा अवरोध गरेको जनाएको छ।

हमासले पनि सङ्कलन केन्द्रहरूबाट सहायता लुटेको भन्ने आरोप अस्वीकार गरेको छ।

यूएसएआईडीको एउटा पछिल्लो प्रतिवेदनले व्यवस्थित लूटको कुनै प्रमाण नभेटिएको जनाएको थियो।

एक छाककै निम्ति १६० जहाजको खाँचो

पश्चिमा र अरब मुलुकका सरकारहरूले हवाई मार्गबाट गाजामा सहायता उपलब्ध गराउन प्रयास गरेको यो पहिलो पटक होइन।

गतवर्ष पनि ब्रिटेनको 'रोयल एअर फोर्स'ले जोर्डनले नेतृत्व गरे्को अन्तर्राष्ट्रिय हवाई सहकार्यको हिस्साका रूपमा १० खेप गरेर ११० टन सहायता उपलब्ध गराएको थियो।

तथापि सहायता निकायहरूले गाजामा देखिएको ठूलो स्तरको भोकमरीको जोखिम हल गर्न उक्त परिमाण पर्याप्त नहुने बताएका छन्।

बीबीसीले गरेको विश्लेषणले गाजाका बीस लाख मानिसलाई एकछाक खाना खुवाउन १६० वटा जहाजको खाँचो पर्ने देखाएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) को पछिल्लो वर्षको आँकडाअनुसार सी–१३० कार्गो जहाजले आफ्नो प्रत्येक खेपमा करिब १२,६५० खानाका प्याकेट पुर्‍याएको थियो।

त्यसको अर्थ त्यहाँको अनुमानित २१ लाख जनसङ्ख्यालाई एकछाक खाना पुर्‍याउन १६० वटा जहाजको खाँचो पर्छ भन्ने हो।

जोर्डनसँग १० वटा र यूएईसँग ८ वटा त्यस्ता कार्गो विमान भएको ठानिएको छ।

'पानी पनि छैन'

केही सयहाता समूहहरूले गाजाका घना बस्तीहरूमा हजारौँ टन बराबरका खानेकुरा खसाल्दा हुन सक्ने खतराबारे चेतावनी दिएका छन्।

नर्वेजियन शरणार्थी परिषद्की शाइना लले भूमध्यसागरमा झारिएका सहायता सङ्कलन गर्ने क्रममा मानिसहरू "डुबिरहेका" र आकासबाट खसेका बाकसले "मानिसहरूलाई च्यापेको" बताइन्।

सफलतापूर्वक खसालिएका ठाउँमा पनि "भद्रगोल भएको" उनले बताइन्। "मानिसहरू सहायताका निम्ति लडिरहेका र घाइते भइरहेका थिए।"

उक्त खतरालाई लिएर गाजामा भय उत्पन्न भएको छ। बीबीसीले त्यहाँका केही बासिन्दासँग कुरा गरेको थियो जसलाई त्यसरी खसालिने सहायताले "गम्भीर चोट" पुर्‍याउन सक्ने चिन्ता थियो।

उत्तरी गाजाका एक व्यक्तिले बीबीसी अरेबिकको 'मिडिल इस्ट डेली'सँगको कुराकानीमा उक्त प्रक्रिया "असुरक्षित" भएको र त्यसले "कैयौँ दुर्घटना निम्त्याएको" बताए।

"आकासबाट खसाल्दा सोझै शिविरहरूमा खस्ने र गम्भीर क्षति निम्त्याउने खतरा छ। यसले मान्छेलाई घाइते बनाउन वा ज्यानै लिन पनि सक्छ," उनले भने।

यसबीचमा प्यालेस्टिनीहरू भोकमरीसँगै पानीको अभावसँग पनि जुधिरहेका छन्। बच्चाकी आमासमेत रहेकी एक महिलाले बीबीसीसँग खानाको मात्रै नभएर पानीको समेत अभावमा आफूहरू बाँचिरहेको बताइन्।

"हामी पानीका निम्तिसमेत तड्पिइरहेका छौँ," उनले भनिन्।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इरेलमा हमासको नेतृत्वमा भएको आक्रमणको प्रत्युत्तरमा इजरेलले गाजामा युद्ध सुरु गरेको थियो। उक्त हमलामा करिब १२ सय मानिसको ज्यान गएको थियो भने २५१ जनालाई हमासले बन्धक बनाएको थियो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार उक्त युद्ध सुरु भएयता गाजामा ५९,००० भन्दा धेरै मानिस मारिएका छन्।

इजरेलले मार्चको सुरुदेखि सहायता आपूर्तिमा पूरै रोक लगाउँदै त्यसको दुई सातापछि दुई महिने युद्धविराम तोड्दै हमासविरुद्ध पुन: कारबाही थालेको थियो। बाँकी इजरेली बन्धकलाई छुटाउन हमासमाथि दबाव सिर्जना गर्ने उद्देश्यले त्यसो गरिएको इजरेलको भनाई छ।

विज्ञहरूले अनिकालको चेतावनी दिएपछि दुई महिना पछाडी नाकाबन्दी केही खुकुलो पारिए पनि खानेकुरा, औषधी र इन्धनको अभाव झन् चुलिएको छ।

गाजाका मानिसहरू पटकपटक विस्थापित भएका छन् र त्यहाँका ९० प्रतिशतभन्दा धेरै घरहरू क्षतिग्रस्त वा नष्ट भएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।