तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'अवस्था गम्भीर छ' - इजरेली कारबाहीले भोकभोकै परेका गाजाका बालबालिका
- Author, फर्गल किएन
- Role, विशेष संवाददाता
छेउबाट क्यामरा डुलाउँदा पनि कुनै उत्साह देखिएन। बालबालिकाले खासै हेर्दै हेरेनन्। हुन पनि मृतकहरूका माझ, मर्न लागेकाहरू माझ अनि मर्न पर्खिरहेकाहरू माझ बाँचिरहेका यी बालबालिकालाई के ले पो आश्चर्य दिलाउला? भोकले यिनीहरू कमजोर हुँदै छन्।
थोरै खानाका लागि यी लाइन लाग्छन्। कहिले त्यो पनि पाउँदैनन्। बीबीसीका लागि भिडिओ खिच्ने मेरा क्यामराम्यान साथी र उनको क्यामरासँग यी केटाकेटी अभ्यस्त छन्। तिनको भोक अनि तिनको मृत्यु र त्यसपछि तिनलाई – वा तिनको बचेखुचेको शरीर -लाई सेतो कपडाले बेरेको जसमा थाहा भएको खण्डमा तिनको नाम पनि अङ्कित गरिन्छ – यी दृश्यको उनी निरन्तर साक्षी छन्।
युद्धको विभीषिका
१९ महिनादेखिको युद्ध र हालै इजरेलले चर्काएको सैन्य कारबाहीका माझ यी स्थानीय क्यामराम्यान – उनको सुरक्षाका निम्ति मैले नाम खुलाएको छैन – ले अस्पताल परिसरमा पीडितहरूको क्रन्दन सुनेका छन्।
पीडितहरूसँग उनले सम्मानित दूरी कायम गरेका छन्। तर उनको मनमा ती हरबखत आइरहन्छन्। उनी पनि तीमध्येकै एक हुन्, निस्सासिँदो उही नरकमा फसेका।
यो बिहान उनी सिवार अशोरको खोजीमा निस्किए। यो महिनाको सुरुमा खान युनिसस्थित नासर अस्पतालमा ती पाँच महिने शिशुको कुपोषित र थकित रुवाई सुनेका उनलाई त्यसले निकै छटपटी भयो। आफूभित्र पनि केही भाँचिएको अनुभव उनले मलाई सुनाए।
त्यतिखेर ती शिशु केवल दुई किलोग्राम तौलकी थिइन्। पाँच महिनाको शिशु सामान्यतया ६ किलो वा बढी हुनुपर्छ।
सिवारलाई घर पठाइएको मेरा सहकर्मीले सुनेका रहेछन्। ती शिशुकै खोजीमा उनी यो भग्नावशेषतुल्य गल्लीमा आइपुगे जहाँ भत्किएका घर, अनि अस्थायी टहरामात्र थिए।
कठिन परिस्थितिमा उनले खोजी जारी राखे। केही दिन अगाडि मैले उनलाई कस्तो छ भनेर सोधेको थिएँ। "म ठिकै छु," उनले जबाफ दिए। "केही समय अगाडि इजरेली सेनाले खान युनिसको अधिकांश क्षेत्र खाली गर्न आदेश दिएको छ… अब के गर्ने हामीलाई थाहा छैन … जाने सुरक्षित ठाउँ कतै छैन।"
"अल-मवासीमा विस्थापितहरूको ठूलो घुइँचो छ। हामी अलमल्ल परेका छौँ। यतिखेर कुन सही निर्णय हो भन्ने थाहा छैन।"
उनले एउटा बिस्तरा अट्ने झोपडी भेट्टाए जसको प्रवेशद्वार भनेको एउटा फूल बुट्टेदार कालो-खैरो पर्दा थियो। भित्र तीनवटा बिछ्यौना छन्, केही घर्रा अनि एउटा ऐना जसले सूर्यको किरण प्रतिबिम्बित गरिरहेको थियो। सामुन्ने थिए सिवार, उनकी आमा नज्वा र हजुरआमा रिम।
सिवार चुपचाप छिन्। शिशुहरूले पिउने सामान्य दूध उनी पिउन सक्दिनन् किनभने त्यसले उनलाई गम्भीर एलर्जिक रियाक्सन हुन्छ। तर युद्धका कारण अनि इजरेलको नाकाबन्दीका कारण उनलाई हुने खालको दूध पाइँदैन।
नासर अस्पतालमा उनको अवस्था स्थिर भएपछि एक बोतल दूधसहित डाक्टरहरूले उनलाई घर पठाइदिएको २३ वर्षीया नज्वाले बताइन्।
अहिले घर फर्किएपछि सिवारको तौल फेरि घट्न थालेको छ।
उनको मुहार वरपर झिँगा भन्किरहेका छन्। "अवस्था गम्भीर छ," नज्वाले भनिन्।
नोभेम्बरमा उनको जन्म भएदेखि नै सिवारले युद्धका आवाज सुन्दै हुर्कनु परेको छ।
गोलाबारी, रकेट अनि बम विस्फोटका आवाज। अनि टाउकोमाथि घुमिरहने इजरेली ड्रोनका आवाज।
"ट्याङ्क, लडाकूविमान र रकेटका आवाज यति ठूला हुन्छन् कि सिवार त्यो सुनेर तर्सन्छिन् र रुन थाल्छिन्। सुतेकी रहिछन् भनेपनि बिउँझन्छिन् र रुन थाल्छिन्।"
कुपोषणको प्रकोप
गाजाका डाक्टरहरूले कैयन् महिलाहरूले पोषणको अभावमा तिनको बालबच्चालाई स्तनपान गराउन नसकेको बताएका छन्।
खाना र सफा पानी सबभन्दा ठूलो समस्या बनेको छ।
सिवारको जन्म हुँदा नज्वा आफैँ कुपोषित थिइन्। अहिले पनि नज्वा र उनकी आमा रिमलाई खाना पाउन मुस्किल छ। यो प्रत्येक पलको सङ्घर्ष बनेको छ।
"दूध वा डाइपरजस्ता चीज मूल्य अनि नाकाबन्दीका कारण हामीले पाउन सक्दैनौँ।"
मे २२ मा इजरेली सेनाको निकाय कोगाटले गाजामा खाद्य अभाव नभएको बताएको थियो। शिशुका खानेकुरा तथा बेकरीहरूका लागि चाहिने पिठोको उल्लेखनीय परिमाण भित्र्याइएको उसले बताएको थियो।
उक्त निकायले हमासले सहयोग सामग्री चोर्ने गरेको बारम्बार बताएको छ।
इजरेली सरकारले चाहिँ हमास नष्ट नभएसम्म अनि गाजामा बन्धक बनाइएका इजरेलीहरू मुक्त नभएसम्म युद्ध जारी रहने भनेको छ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार सन् २०२३ को अक्टोबर ७ मा हमास हमलापश्चात् बन्धक बनाइएका मध्ये २० जना अझै जीवित रहेका र ३० जना मृत भइसकेका छन्।
तर त्यहाँ खानेकुराको अभाव छैन भन्ने कोगाटको भनाइलाई सहायता संस्थाहरू, संयुक्त राष्ट्रसङ्घ अनि ब्रिटेनसहित कतिपय विदेशी सरकारहरूले अस्वीकार गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि गाजामा मानिसहरू 'भोक'ले सताइएका टिप्पणी गरेका छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले इजरेलले गाजामा जान दिएको सहयोगको परिमाणलाई 'एक चम्चा' भनेका छन्। 'यो निर्दयी युद्धको सबभन्दा निर्दयी चरणबाट प्यालेस्टीनीहरू गुज्रिरहेको' उनले उल्लेख गरेका छन्। इन्धन, आवास, अनि सफा पानी सबैको अभाव छ।
राष्ट्रसङ्घका अनुसार गाजाको ८०% भूभाग या त इजरेली सैन्यीकृत इलाका हो वा त्यस्तो इलाका हो जहाँबाट मानिसहरूलाई अन्यत्र जान आदेश दिइसकिएको छ।
नज्वा र उनकी छोरी सिवारजस्तै गाजाका २१ लाख मानिस निरन्तर पीडित छन्।
"हामी भूतकाल वा भविष्यबारे सोच्दैनौँ," नज्वाले भनिन्।
छ त केवल वर्तमान काल, अनि यसमा कसरी बाँच्ने भन्ने चिन्ता।
(थप रिपोर्टिङ मलक हसुनेह, एलिस डोयार्ड र निक मिलार्डबाट)
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।