तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फ्रान्सद्वारा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा, कसको प्रतिक्रिया कस्तो
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेका छन्।
उनले आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा यसको औपचारिक घोषणा गरिने सामाजिक सञ्जाल 'एक्स'मा उल्लेख गरेका छन्।
प्यालेस्टिनी अधिकारीहरूले माक्रोँको घोषणाको स्वागत गरेका छन् भने संयुक्त राज्य अमेरिका र इजरेलले माक्रोँको आलोचना गरेका छन्। यूकेका प्रधानमन्त्री किअर स्टार्मरले फ्रान्स र जर्मनीका नेतासँग छलफल गर्ने भएका छन्।
संयुक्त राष्ट्रसङ्घको सदस्य बनेका १९३ राष्ट्रमध्ये अहिलेसम्म १४० वटाभन्दा बढीले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिएका छन्। तीमध्ये स्पेन र आयरल्यान्डसहितका केही ईयू सदस्यराष्ट्र छन्।
तर इजरेलको मुख्य सहयोगी र उसका साझेदारमध्येको यूकेले प्यालेस्टाइनलाई मान्यता दिएका छैनन्।
माक्रोँले 'एक्स'को पोस्टमा लेखेका छन्, "मध्यपूर्वमा न्यायसङ्गत र दिगो शान्तिका लागि उसको ऐतिहासिक प्रतिबद्धताबमोजिम फ्रान्सले प्यालेस्टाइनलाई राज्यको मान्यता दिने मैले निर्णय लिएको छु।"
"सर्वसाधारण मानिसहरूको उद्धारका लागि अहिलेको जरुरी काम गाजामा जारी युद्ध अन्त्य गर्नु हो। शान्ति सम्भव छ। हामीले तत्कालै युद्धविराम गर्नुपर्छ, सबै बन्धकहरू मुक्त गर्नुपर्छ र गाजाका मानिसहरूका लागि व्यापक मानवीय सहायता पठाइनुपर्छ," उनले लेखेका छन्।
फ्रान्सले उक्त निर्णय लिए प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने यो पहिलो जी-सेभन राष्ट्र हुने छ। जी-सेभन प्रमुख औद्योगिक राष्ट्रहरूको समूह हो।
उक्त समूहमा फ्रान्स, अमेरिका, यूके, इटली, जर्मनी, क्यानडा र जापान छन्।
प्रतिक्रिया कस्तो
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले फ्रान्सको कदमले "आतङ्कवादलाई पुरस्कृत गर्ने" प्रतिक्रिया व्यक्त गरेका छन्।
"अक्टोबर ७ को नरसंहार भएपछिको अवस्थामा तेल अभिभसँग जोडिएको प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति माक्रोँको निर्णयको हामी कडा भर्त्सना गर्छौँ," नेतन्याहूले 'एक्स'मा लेखेका छन्।
उनले अहिलेको परिस्थितिमा प्यालेस्टिनी राष्ट्र इजरेलसँगै "शान्तिपूर्वक बस्न नभई" इजरेललाई मास्ने मञ्च बन्ने तर्क गरे। "हामी यो कुरामा स्पष्ट हुनुपर्छ - प्यालेस्टिनीहरू इजरेलसँगै राष्ट्र खोज्दैनन्, उनीहरू त इजरेलको साटो राष्ट्र खोज्छन्," उनले भने।
अमेरिकाका विदेशमन्त्री मार्को रुबिओले फ्रान्सको निर्णयलाई "लापरवाही"को सङ्ज्ञा दिँदै माक्रोँको घोषणा अस्वीकार्य भएको टिप्पणी गरे।
समाचारसंस्था एएफपीका अनुसार माक्रोँको घोषणापछि अब्बासका सहयोगी हुसेन अल-शेखले भने यो धारणाले फ्रान्स "अन्तर्राष्ट्रिय कानुन पालना गर्न प्रतिबद्ध" भएको अनि "आत्मनिर्णय गर्न पाउने प्यालेस्टिनी जनताको अधिकार तथा हाम्रो स्वतन्त्र राष्ट्र स्थापनाका लागि" उसको समर्थन रहेको देखिएको बताए।
हमासले पनि फ्रान्सको घोषणाको स्वागत गर्दै सबै देशहरूलाई फ्रान्सको बाटो अनुसरण गर्न आग्रह गरेको छ।
यूकेका प्रधानमन्त्री स्टार्मरलाई सांसदहरूले प्यालेस्टाइनलाई मान्यता दिनुपर्छ भन्ने दबाव दिँदै आएका छन्। लेबर पार्टीका धेरै सांसदहरू प्यालेस्टाइनको पक्षमा खुलेका छन्।
तर अहिले डाउनिङ स्ट्रीट गाजामा पहिला युद्धविराम हुनुपर्छ भन्ने मान्यतामा छ। बिहीवार स्टार्मरले एउटा विज्ञप्ति जारी गर्दै गाजामा मानिसहरू मारिने क्रम कसरी रोक्न सकिन्छ भनेर फ्रान्स र जर्मनीका नेताहरूसँग फोनवार्ता गर्ने जनाएका थिए।
उनले राष्ट्र प्यालेस्टिनी जनताको "अभिन्न अधिकार" भएको भन्दै युद्धविरामले "हामीलाई प्यालेस्टिनी राष्ट्रलाई मान्यता दिन र दुई राष्ट्रको समाधान खोज्ने बाटोमा पुर्याउन सक्छ" भने।
साउदी अरबले पनि फ्रान्सको निर्णयको स्वागत गरेको छ।
युद्धविराम वार्ताबाट अमेरिका र इजरेल बाहिरिए
यसैबीच गाजामा युद्धविराम गर्ने विषयमा कतारमा जारी वार्ताबाट इजरेल र अमेरिकी मध्यस्थकर्ताहरू बाहिरिने भएका छन्। उनीहरूले हमासमाथि "ठिक नियतले" काम नगरेको आरोप लगाएका छन्।
अमेरिकी विशेषदूत स्टीभ विट्कोफले एउटा विज्ञप्ति जारी गर्दै दोहाबाट आफ्नो टोली फिर्ता गर्ने निर्णय गरिएको बताए।
"हमासको पछिल्लो जबाफपछि हामीले छलफलका लागि दोहाबाट हाम्रो टोलीलाई छलफलका लागि फिर्ता बोलाउने निर्णय गरेका छौँ। हमासको जबाफले गाजामा युद्धविराम गर्ने इच्छाशक्तिको अभाव देखाएको छ," उनले भने।
इजरेल सरकारले आफ्नो टोली फिर्ता बोलाउनुको कारण खुलाएको छैन। तर एक वरिष्ठ इजरेली अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले वार्ता "भङ्ग नभएको" उल्लेख गरेका छन्।
हमासले विट्कोफको प्रतिक्रियाले स्तब्ध भएको र वार्ता जारी राख्न आफूहरू इच्छुक रहेको बताएको छ। मध्यस्थकर्तासहित वार्तामा संलग्न सबै पक्षले मुख्य विषयमा सहमतिका लागि ठूलो अन्तर रहेको स्वीकार गरेका छन्।
गाजाको अवस्था के छ
बिहीवारको वक्तव्यमा विट्कोफले "मध्यस्थकर्ताहरूले व्यापक पहल गरे पनि हमासले ठिक नियतले समन्वय गरे जस्तो नदेखिएको" बताएका थिए।
'टाइम्स अफ इजरेल'ले उद्धृत गरेका इजरेली अधिकारीले हमासले अस्वीकारको शैली अपनाएको आरोप लगाएका छन्। उनले हमाससँगको खाडल कम गर्ने वास्तविक बाटो पहिचान भएको अवस्थामा आफूहरू वार्तामा फर्कने प्रतिक्रिया दिएका छन्।
दोहामा दुई साताभन्दा अघिबाट जारी पछिल्लो चरणको वार्तामा कतार र इजिप्टका मध्यस्थकर्ताहरूले सहजीकरण गरेका थिए।
संयुक्त राष्ट्रसङ्घको प्यालेस्टाइनका लागि शरणार्थी निकायले गाजा सहरका पाँचमध्ये एक बच्चामा कुपोषण देखिएको र त्यो क्रम बढ्दो रहेको बिहीवार बताएको थियो।
एक सयभन्दा बढी अन्तर्राष्ट्रिय सहायता सङ्गठन र मानव अधिकारवादी समूहले गाजामा व्यापक रूपमा भोकमरी फैलिएको चेतावनी दिँदै उचित कदम चाल्न सरकारहरूलाई दबाव दिएका छन्।
गाजामा जाने खाद्यसामग्रीको प्रवेशमाथि नियन्त्रण गर्दै आएको इजरेलले कुपोषणको दोष हमासमाथि लगाएको छ।
दुई महिना लामो युद्धविराम भङ्ग भएपछि इजरेलले मार्च महिनाको सुरुबाट गाजामा जाने सहायता वितरणमा पूर्ण प्रतिबन्ध लगाएको थियो। त्यसको करिब दुई महिनापछि गाजा माथिको नाकाबन्दी केही खुकुलो गरिए पनि गाजामा खाद्यान्न, इन्धन र औषधिको चरम अभाव छ।
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार पछिल्लो दुई महिनामा मात्रै खाद्य सहायता लिने लाइनमा बसेका १,००० जनाभन्दा धेरै प्यालेस्टिनीको इजरेली सेनाबाट मारिएका छन्।
त्यसमध्ये ७६६ जनाको मृत्यु इजरेली सैन्य इलाकामा अमेरिकी निजी सुरक्षा ठेकेदारहरूद्वारा सञ्चालित जीएचएफका चार सहायता केन्द्र वरपर भएको छ। अन्य २८८ जनाको मृत्यु संयुक्त राष्ट्रसङ्घ र अन्य सहायता सामग्री बोकेका सवारीसाधननजिकै भएको राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले जनाएको छ।
अक्टोबर २०२३ मा हमासको नेतृत्वमा इजरेलमा भीषण आक्रमण भएपछि इजरेलले गाजामा सैन्य कारबाही थालेको थियो। इजरलेमा भएका हमलाहरूमा केही विदेशी नागरिकसहित १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजातिर लगिएको थियो।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली कारबाहीमा परेर अहिलेसम्म ५९,००० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।