भूकम्प पीडित भन्छन्, 'कठ्याङ्ग्रिएरै मर्ने अवस्था नआओस्'

रुकुम पश्चिमका भूकम्प पीडित

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

    • Author, प्रकाश पन्त
    • Role, जाजरकोट

भूकम्प प्रभावित कर्णाली प्रदेशका कतिपय ठाउँमा शनिवार बिहानको हल्का वर्षासँगै पीडितहरूले कठ्याङ्ग्रिँदो चिसोले आफूहरूको अस्थायी बसोबासलाई थप कष्टकर बनाउनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

पाल लगायतका राहत सामाग्री उपलब्ध गराउने काम थप तीव्रता दिएर सरकारले सम्पन्न गर्नुपर्ने उनीहरूको माग छ।

एक जना स्थानीय अधिकारीले रुकुम पश्चिममा भूकम्पबाट भवन भत्किएका आधाभन्दा धेरैलाई अस्थायी बासका त्रिपालसहितका सामान उपलब्ध गराइएको बीबीसीलाई बताए।

तर भूकम्प पीडितहरूले चिसोले आफू र आफूले पालेका पशु चौपाया दुवैलाई जोखिम बढाउनसक्ने भन्दै थप सहयोग माग गरेका छन्।

के भन्छन् भूकम्प पीडितहरू

भूकम्प पीडित

नौ दिनअघि जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण १५३ जनाको ज्यान गएको छ भने दशौँ हजारको सङ्ख्यामा घरहरू भत्किएका छन्।

मुख्य गरी जाजरकोट र रुकुम पश्चिमका सयौँ परिवार उक्त भूकम्पपछि त्रिपालमुनि बास बसिरहेका छन्।

तिहारको मुखमा गएरातिबाट सुदूरपश्चिम र कर्णाली प्रदेशमा देखा परेको आंशिक र सामान्य बदलीबाट भूकम्प पीडितहरू थप मर्कामा परेका विवरण आएका छन्।

उनीहरूले चिसो बढेको र त्यसले आफ्नो त्रिपालभित्रको बसाइलाई असहज बनाएको बताएका छन्।

जाजरकोटको नलगाडका भूकम्प पीडित गोविन्द ओली भन्छन्, “पालबाट रातभर शीत चुहिन्छ। जाडोले गर्दा रातभर सुत्न सकिएको छैन। आगो तापेर बस्नुपर्ने अवस्था छ।”

“कहिलेसम्म पालमा बस्ने? घर जाऊँ जुनसुकै बेला ढल्नसक्ने अवस्था छ। धेरै जनाको घर पनि छैन। पानी पर्न थाल्यो भने चिसोले कठ्याङ्ग्रिएरै मर्ने अवस्था आउने हो की?”

उनले जाडोमा पशु चौपायाहरूलाई जोगाउन धेरै मुस्किल पर्ने भन्दै त्यसका लागि पनि सरकारले सहयोग गर्नुपर्ने धारणा राखे।

नलगाडकै ओइला घर्तीले पनि त्यस्तै चिन्ता सुनाइन्।

उनी भन्छिन्, “मेरो एउटा घर थियो त्यो पनि भत्किएपछि अब बस्ने जमिन पनि छैन। बसपार्कको खाली ठाउँमा बस्दै आएका थियौँ तर गाडीको आवतजावतले त्यहाँ पनि राम्रोसँग बस्न सकिएन। अहिले अर्काको जग्गामा कोचिएर बसिरहेका छौँ।”

उनले थपिन्, “एउटा पालमुनी ४/५ जनाको परिवार बसिरहेका छौँ। पानी पर्‍यो भने बिजोग हुने अवस्था छ यो बाट हामीले कहिले मुक्ति पाउँछौँ होला?”

नेपाल भूकम्प पीडित

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

भूकम्पका कारण १०१ जनाको ज्यान गएको जाजरकोटमा भुइचालोँले झन्डै ९ हजार ८०० घर पूर्ण रूपमा क्षति गराएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

त्यहाँ करिब २५ हजार घरमा आंशिक क्षति पुगेको छ।

उक्त जिल्लाका भूकम्प पीडितलाई कम्बल ब्ल्याङ्केट, कपडा र पाल वितरण गरिएको जानकारी दिँदै सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले भने, “करिब ३४ हजार घरधुरी प्रभावित भएको मध्ये २२ हजारले पहिलो चरणमा राहत पाएका छन्।”

चिसो मौसमको जोखिमलाई ध्यान दिँदै जिल्ला प्रशासनले न्यानो कपडाहरू ल्याएर वितरण गर्न दाताहरूलाई आह्वान गरेको छ।

साथै राहत सामाग्रीहरू प्राप्त गरिसकेका व्यक्तिहरूलाई पराल लगायत प्रयोग गरी न्यानो बनाएर गोठमा समेत बस्न स्थानीय प्रशासनले अनुरोध गरेको छ।

जाजरकोटमा भूकम्प प्रभावित क्षेत्रमा दुई जनाको ज्यान गएको भन्ने विवरणहरू आएका थिए। तर जिल्लास्थित स्वास्थ्य सेवा कार्यालय जाजरकोटकी प्रमुख प्रतिक्षा भारतीले भूकम्प प्रभावित क्षेत्रमा रुघाखोकी, ज्वरो, झाडा बान्ता र निमोनियाका बिरामीहरूको सङ्ख्या बढेको बताइन्।

दुई भूकम्प पीडितहरूको ज्यान चिसोका कारण गएको भन्ने विवरणबारे बीबीसीको प्रश्नमा भारतीले त्यसबारे आफूहरूलाई औपचारिक रूपमा थाहा नभएको बताइन्।

उनका अनुसार ज्यान गुमाउनेमध्ये एक जना दमको बिरामी रहेको र अर्का मुटुको भल्भ फेरेका बिरामी रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

भूकम्प

रुकुम पश्चिममा के छ अवस्था?

जाजरकोट नजिकैको जिल्ला रुकुम पश्चिममा उक्त विनाशकारी भूकम्पका कारण ५३ जनाको निधन भएको थियो भने १६ हजार ५०० भन्दा बढी घर पूर्ण रूपमा क्षति भएका थिए।

आंशिक क्षति भएका घरहरूको सङ्ख्या करिब १० हजार छ।

त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडूवालले शनिवारसम्म भूकम्प प्रभावित क्षेत्रमा एक चरणको राहत वितरण सक्ने लक्ष्य राखिएको बताए।

उनी भन्छन्, “मृतकका आफन्तहरूलाई राहत वितरणको काम रुकुममा सुरु भइसक्यो। शायद शनिवार सकिन्छ।”

उनले थपे, “रुकुम पश्चिममा २६ हजार भन्दा बढी घरधुरी बाहिर हुनुहुन्छ। उहाँहरूमध्ये १६ हजारलाई मात्रै हामीले पालको व्यवस्था गर्नसकेका छौँ। अझै १० हजार पुगेको छैन। अब दुई तीन भित्र सबैलाई पुग्ने गरी पालहरू आउँछ भन्ने हामीले ठानेका छौँ।”

भत्किएको घर अगाडी रुदैँ एक भूकम्प पीडित महिला

तस्बिर स्रोत, Reuters

रुकुम पश्चिमका एक जना भूकम्प पीडित तेजेन्द्र बटालाले सरकारले बढ्दो चिसो र सर्वसाधारणको स्वास्थ्यलाई पनि ख्याल गर्दै राहत बाँड्नुपर्ने बताए।

उनी भन्छन्, “अहिले जाडो छ। पाल होइन बरु त्यसको ठाउँमा टेन्ट भइदिएको भए हामीलाई त्यसले चिसोबाट बढी सुरक्षा दिन्थ्यो की।”

उनले पालभित्र बसेका मानिसहरू बिरामी पनि हुन थालिरहेको भन्दै पशु चौपायाहरूको व्यवस्थापनमा चुनौती देखा पर्नसक्ने बताए।

तर सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडूवालले क्षतिको विवरण सङ्कलनको काम भइरहेको र त्यसपछि पशु सेवा विभाग लगायतका निकायले उपयुक्त निष्कर्ष निकाल्ने धारणा राखेका छन्।

अधिकारीहरूले भूकम्प पीडितका भत्किएका संरचनाको निर्माणका लागि राहत र क्षतिपूर्ति दिनेबारे छलफल अघि बढाएका छन्।

भूकम्पपछि बसेको मन्त्रिपरिषद्को एउटा आकस्मिक बैठक पछि अधिकारीहरूले एक वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न हुनसक्ने अपेक्षा पनि राखेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।