रुकुम पश्चिमः जहाँ भग्नावशेषमा 'घरको अवशेष नै चिनिँदैन'

जाजरकोट भूकम्पले सबैभन्दा धेरै प्रभावित पारेको रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा नचर्किएका घर भेट्न गाह्रो छ। त्यहाँ धेरैतिर शोक र त्रास मात्र देखिन्छ।
नगरपालिकाका १४ वटा वडामध्ये वडा नम्बर १,२ र ३ बाहेक ११ वटा सबैभन्दा धेरै प्रभावित छन्। रुकुम पश्चिममा ज्यान गुमाएका ५२ जनामध्ये ४२ जना सोही नगरपालिकाका मात्र छन्।
प्रभावित क्षेत्रहरूमा पुगेका सोही नगरपालिकाका बासिन्दा तथा पत्रकार अर्जुन विष्टले भूकम्प गएपछिको अवस्थाबारे बताएका छन्।
बीबीसी न्यूज नेपालीसँग उनले भनेः
निजी न सार्वजनिक भवन कतै ढुक्कले बस्न सक्ने अवस्था छैन। भूकम्प गएपछि आएका परकम्पले चर्किएका थप घरहरू ढलेपछि अहिले कोही पनि घर फर्कने कुरा सोचिरहेका छैनन्।
धेरैका ओड्ने, ओछ्याउने कपडा भत्किएका घरमै पुरिएका छन्। तर चिसो बढिरहेको रातमा यहाँ पालको सबैभन्दा ठूलो अभाव छ।
बालबालिका र वृद्धवृद्धाका लागि बितेका दुई रात सबैभन्दा कष्टकर रहे। सबै मानिस खुला ठाउँमा समय काटेका छन्।
झन्डै साढे आठ हजार घरधुरी भएको यो नगरपालिकाका कम्तीमा पाँच हजार घर चर्किएका वा भत्किएका अनुमान गरिएको छ।
सबैभन्दा बढी प्रभावित बनेको १४ नम्बर वडामा पुग्दा मानिसहरू 'आफ्नो घर यहाँ थियो र' भनेर ठम्याउन गाह्रो हुने अवस्थामा छन्।

घरहरू यति नराम्ररी भत्किएका छन् कि भग्नावशेष बीचमा आफ्नो ठाउँ चिन्न सकिने अवस्था छैन।
लहरै घरहरू पूर्ण रूपमा ढलेका छन्। त्यहाँ पिउने पानीदेखि, खाद्यान्न र रात काट्ने व्यवस्था सबैको कमी छ।
प्रकोप फैलिएका कि भन्ने डर छ। स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्य सामग्री छैन।
यहीँ वडामा मात्र २८ जनाको मृत्यु भएको थियो। चारजना जाजरकोटबाट पाहुना हुन आएका व्यक्ति थिए।

यहाँ कतै बालबालिका गुमाएको पीडा त कतै अभिभावक गुमाउँदाको पीडा देखिन्छ। अरूमा निर्भर बिरामी वृद्धहरूको अवस्था बिजोग छ।
यस नगरपालिकामा मृत्यु हुनेमा एकजना त २० दिनको शिशुसहित २३ जना बालबालिका छन्। १५ वर्षमुनिका १८ जना छन्।
मैले शनिवार राति आठबीसकोट-९ मा पर्ने राडीबजारमा बिताएँ। बालबालिका र वृद्धवृद्धाको बिजोगबीच चिसो भयो भनेर गुनासो गर्ने अवस्था थिएन।

धेरैजना भूकम्प जाँदा आफूले लगाएकै लुगाकै भरमा थिए। स्कुलहरू भत्किएका कारण त्यहाँ ओत लगाउने अवस्था पनि छैन।
भर्खरै गहुँ लगाएको जमिनमा बस्ने अवस्था छ। भिरालो जमिनतिर आड लगाएर बस्दा भूकम्प आउँदा माथिबाट ढुङ्गा खस्ला कि भन्ने अर्को त्रास छ।
यहाँ मानिसहरू परिवारजन, आफन्त र साथीसङ्गी गुमाउँदाको शोकमा हुँदा हुँदै पनि अर्को छाक कसरी टार्ने, रातमा कहाँ ओत लाग्ने र अझ भनौँ आफ्नै ज्यान कसरी जोगाउने, रात कसरी काट्ने भन्ने चिन्तामा छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








