'भूकम्पका घाइतेको नि:शुल्क उपचार हुने'

तस्बिर स्रोत, RSS
भूकम्पको तेस्रो दिन आइतवार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले सबै घाइतेको नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ। १५७ जनाले ज्यान गुमाएको भूकम्पमा परेर ३५० भन्दा धेरै घाइते रहेको सरकारी विवरण छ।
बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले मृतकका परिवारलाई तत्कालका लागि प्रतिपरिवार दुई लाख रुपैयाँ दिने निर्णय गरिएको बताइन्।
सुर्खेतलाई केन्द्र बनाएर खोजी तथा उद्धार र राहतमा एकद्वार प्रणाली अपनाउने निर्णय गरिएको उनले बताइन्।
उनले मित्रराष्ट्रहरूबाट प्राप्त सहयोग स्वीकार्ने निर्णय समेत गरिएको बताइन्।
"क्षतिग्रस्त क्षेत्रको एकीकृत कार्ययोजना बनाएर काम गर्ने निर्णय भएको छ," मन्त्री शर्माले पत्रकारहरूसँग भनिन्।
"सहरी विकास मन्त्रालयले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण कार्य अघि बढाउने र त्यो काम एक वर्षभित्र पूरा गर्ने निर्णय गरिएको छ।"
त्यसैगरी घाइतेको उपचारका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले पत्रकारहरूसँग भने: "हामीले सबै अस्पताललाई सूचना जारी गरिसक्यौँ… यो नि:शुल्क हुन्छ, जति महँगो परे पनि।"
बस्नेतका अनुसार अस्पतालहरूलाई उपचार बापतको प्रतिवेदन स्वास्थ्य मन्त्रालयलाई पेस गर्न भनिएको छ।
काठमाण्डूमा समेत वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल लगायतलाई तयारी अवस्थामा राखिएको उनले बताए।

तस्बिर स्रोत, RSS
उद्धार गर्नुपर्ने बिरामीहरू अब "लगभग बाँकी नरहेको" मन्त्री श्रेष्ठको भनाइ छ।
"अब तीन दिनभित्र"मा प्रभावित क्षेत्रमा तत्कालका लागि कुनै पनि कुराको कमजोरी नहुने गरी सरकारले काम गरिरहेको मन्त्री बस्नेतले जनाए।
दीर्घकालीन बसोबासका लागि सरकारले दिने आर्थिक राहतको टुङ्गो भने नभइसकेको उनले बताए।
विसं २०७२ सालको भूकम्पमा प्रभावित परिवारलाई तीन लाख रुपैयाँ दिइए तापनि " यस पटकको लागि त्यो केही बढाउनेगरी छलफल भएको" उनले बताए।
भारत, चीन, अमेरिकासहितका देशबाट सहयोगको प्रस्ताव आएको उनले बताए।
"सरकार निर्णय गरेर वहाँहरूबाट कस्तो किसिमको सहयोग लिने भन्ने कुरामा आफैँले मापदण्ड बनाउने भन्ने कुरा भएको छ।"
तर अहिले उनीहरूले गर्ने सहयोग भने स्वीकार्ने कुरा भएको मन्त्री बस्नेतले बताए।
क्रिकेट खेलअघि श्रद्धाञ्जलि
आइतवार नेपाल टी-२० विश्वकप एशिया छनोटअन्तर्गतको फाइनल खेलअघि नेपाली खेलाडीहरूले भूकम्पमा मृत्यु भएकाहरूको सम्झनामा शोक व्यक्त गरेका खेल हेरिरहेका हाम्रा संवाददाता निरञ्जन राजवंशीले बताएका छन्।
काठमाण्डूस्थित कीर्तिपुर क्रिकेट मैदानमा जारी फाइनलमा नेपाल र ओमानविरुद्ध प्रतिस्पर्धा भइरहेको छ।

नेपाली खेलाडीहरूले खेल मैदानमा मौनधारण गर्नुका साथै शोक व्यक्त गर्नका लागि हातमा कालोपट्टी बाँधेका थिए।
नेपाल क्रिकेट सङ्घ क्यानले शनिवार नै फाइनल खेलको टिकट विक्री बापतको आधा रकम भूकम्प पीडितहरूलाई दिने बताएको थियो।
अरू केके भएका छन्?

तस्बिर स्रोत, Reuters
- गण्डकी प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएको सरकारी समाचार संस्था राससले जनाएको छ। देशभरिका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरूले समेत उच्च प्रभावित स्थानीय निकायका लागि सहयोग घोषणा गरिरहेका छन्।
- पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि घर जानका लागि आइतवार बिहान र दिउँसो नि:शुल्क बसहरूको व्यवस्था गरेको जनाएको छ।
- भूकम्पका घाइतेहरू धेरै ल्याइएको मध्येको सहर नेपालगञ्जमा रक्तदान गर्न आह्वान गरिएपछि शनिबार ‘८० पिन्ट’ रगत सङ्कलन भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ। हालसम्म नेपालगञ्जमा तीन दर्जनभन्दा धेरै भूकम्प घाइतेलाई ल्याइएको जिल्ला प्रशासन कार्यालयलाई उद्धृत गर्दै राससले जनाएको छ।











