नेपाल भूकम्प: पाँच सय वर्षमा ठूलो भूकम्प नगएको पश्चिम नेपालमा 'उच्च जोखिम कायमै'

डोटी भूकम्प

बुधवार राती मानवीय क्षतिहरू हुने गरी डोटी केन्द्रबिन्दु भएर भूकम्प गए तापनि त्यस क्षेत्रमा शताब्दियौँ देखि सञ्चित ऊर्जा निष्कासनका लागि त्यो पर्याप्त नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुखले बीबीसीलाई बताएकी छन्।

"पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि भएको छैन," खानी तथा भूगर्भ विभाग अन्तर्गतको उक्त केन्द्रकी प्रमुख मोनिका झाले भनिन्।

"सन् १५०५ मा त्यस भेगमा ठूलो भूकम्प गएपछिको पाँच शताब्दीभन्दा लामो समय अर्को मुख्य भूकम्प गएको छैन।"

एकजना भूकम्पविद् लोकविजय अधिकारीले बुधवारको कम्पनबाट ‘जमिनमुनिको शक्ति घटेको रूपमा नभई त्यस क्षेत्रमा भूकम्पको उच्च जोखिम कायमै रहेको स्मरण गराएको’ रूपमा बुझ्नुपर्ने बताउँछन्।

पाँच सय वर्षको अन्तर

पाँच सय वर्षअघिको उक्त महाभूकम्प ८.१, ८.४ र ७.८ म्याग्निट्यूडका रहेको र त्यसको असर भारत र तिब्बतसम्म परेका विवरणहरू पाइन्छन्।

६.६ म्याग्निट्यूडको बुधवारको भूकम्प लामो समय निष्कासन नभएको शक्तिका लागि निकै सानो हुने भूगर्भ अधिकारीहरू बताउँछन्।

"अझ ठूला ठूला भूकम्प जान सक्ने क्षेत्र हो त्यो," भूगर्भशास्त्री समेत रहेकी मोनिका झा भन्छिन्।

"२०७२ सालको भूकम्पको दरारहरू पोखराभन्दा पश्चिमतर्फ नदेखिएकाले त्यस भूकम्पपछि पश्चिम नेपाल सुरक्षित बनेको सोच्न मिल्दैन।"

डोटी भूकम्प

'निकै कमजोर'

गोरखा भूकम्पबारे पीएचडी समेत गरेका एकजना भुकम्पविद लोकविजय अधिकारीले ८ म्याग्निट्यूडको भूकम्प जानसक्ने भनिएको ठाउँमा गएको यस भूकम्प निकै नै कमजोर रहेको बताउँछन्।

"६ म्याग्निट्यूडबाट ८ म्याग्निट्यूडमा भूकम्प पुग्नका लागि एक हजार गुणा धेरै शक्ति आवश्यक पर्छ," भूकम्पविद् अधिकारी भन्छन्।

"त्यसैले यसरी जाने साना भूकम्पका कारण शक्ति निष्कासन हुँदै जोखिम कम भएको सोच्नु हुँदैन।"

यस्तै परिस्थितिका कारण उक्त क्षेत्रमा सबैभन्दा बढी पूर्वतयारी आवश्यक पर्ने कुरा यसअघि देखि नै सरकारी तथा गैरसरकारी निकायहरूलाई जानकारी गराइएको केन्द्रले जनाएको छ।

केन्द्रले डोटी भूकम्पलाई ‘मध्यम खालको’ बताउँदै आउँदा दिनमा त्यस्ता कम्पन थप देखिन सक्ने चेतावनी दिएको छ।

मध्य नेपालमा २०७२ सालमा गएको भूकम्पपछि हालसम्म ५६ हजारभन्दा धेरै परकम्प महसुस गरिएको सरकारी विवरण छ।

मुल्याङ्कनको काम बाँकी

यस भूकम्पको वेग कति परसम्म देखा पर्‍यो भनेर मूल्याङ्कन गर्नका लागि क्षतिको पूर्ण विवरण पर्खिरहेको केन्द्रले जनाएको छ।

जसका आधारमा केन्द्रले आफ्ना विज्ञ तथा प्राविधिकहरूलाई त्यसतर्फ पठाएर त्यसको मूल्याङ्कन गर्नेछ।

हाल नेपालभर भूकम्प थाहा पाउने विभिन्न तीन प्रकारका गरेर झण्डै एक सय मापन केन्द्रहरू छन्।

"ती पर्याप्त छैनन्। कतिपय अवस्थामा पूर्व चेतावनी दिनका लागि हामीले अझै धेरै थप्नुपर्ने हुन्छ," केन्द्र प्रमुख झा भन्छिन्।

"भूकम्पका हकमा पूर्व चेतावनी दिनका लागि प्राथमिक रूपमा उत्पन्न हुने र सतहमा देखा पर्ने वेगबिचको निकै छोटो समयमा काम गर्ने प्रणाली बनाउनुपर्छ।"

दुवै खाले वेग भूकम्प गइसकेपछि आउने भएकाले त्यसको लाभ लिनका लागि निकै धेरै मापन केन्द्र र चुस्त प्रणाली आवश्यक पर्ने विज्ञहरू बताउँछन्।

डोटी भूकम्प