नेपाल भूकम्प: भूकम्पबाट डोटीमा मानवीय क्षति, परकम्प जारी

भूकम्प पीडित

तस्बिर स्रोत, RSS

डोटीमा भूकम्पका कारण ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निट्यूडको भूकम्प गएको हो।

भूकम्पका कारण पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भएको र ७ जना घाइते भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।

भूकम्पका कारण घर भत्किँदा घाइते भएकाहरूको उद्धार गरी अस्पताल लागिएको छ।

उनीहरूमध्ये पाँच जनाको डोटीमै उपचार भइरहेको छ भने २ जनालाई धनगढी पुर्‍याइएको छ।

पूर्वीचौकी गाउँपालिका केन्द्रबाट ती घण्टा पैदल दूरीमा रहेको गौरागाउँमा भूकम्पका कारण केही घरहरू भत्किएका छन्।

भूकम्पको क्षति, डोटी

तस्बिर स्रोत, Nepal Army

डोटीका अन्य क्षेत्रमा पनि भौतिक संरचनामा असर परेको भएपनि मानवीय क्षतिको भने विवरण प्राप्त नभएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिइन्।

परकम्प जारी

डोटीमै मङ्गलवार राति पनि ९:७ बजे ५.७ म्याग्निट्यूडको र ९:५६ बजे ४.१ म्याग्निट्यूडका भूकम्प गएका थिए।

तर सबैभन्दा ठूलो धक्का चाहिँ मध्यरातको रहेको अधिकारीहरूको भनाइ छ।

खप्तड राष्ट्रिय निकुञ्ज

डोटीको भूकम्पपछि त्यस क्षेत्रमा कैयौँ परकम्पहरू जारी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले बताइन्।

"आज (बुधवार) दिनभरि पनि त्यस क्षेत्रमा परकम्पहरू गइरहेका थिए। पाँच बजे म अफिसमा हुँदासम्म त्यस क्षेत्रमा दुई सयभन्दा बढी त्यस्ता परकम्पहरू गएको रेकर्ड गरिएको थियो," बुधवार साँझ उनले बीबीसीसँग भनिन्।

भूकम्पले क्षति पुगेको घरबाट सामान निकाल्दै सशस्त्र प्रहरी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, भूकम्पले क्षति पुगेको घरबाट सामान निकाल्दै सशस्त्र प्रहरी

झाका भनाइमा केन्द्रले ४ म्याग्निट्यूडभन्दा माथिका परकम्पहरूको मात्र रेकर्ड सार्वजनिक गर्ने गरेको छ।

"तर त्यस क्षेत्रमा ४ म्याग्निट्यूडभन्दा कमका धेरै परकम्पहरू गइरहेका छन्। पहिलेका भूकम्पका प्रवृत्ति हेर्दा अझै केही दिन त्यस्ता परकम्पहरू त्यस क्षेत्रमा जान सक्छन्," झाले भनिन्।

"त्यस क्षैत्रमा मानिसहरू धेरै डराउनु भएको छ। डराउनु चाहिँ पर्दैन किनभने अब त्यही ठाउँमा तत्कालै ठूलो भूकम्प चाहिँ जाँदैन।"

यद्यपि उनले पश्चिम नेपालमा ठूलो भूकम्प नगएको पाँच शताब्दीभन्दा बढी भएकाले भूकम्पको जोखिम कायमै रहेको बताइन्।

कहाँकहाँ महसुस गरियो भूकम्प?

भूकम्पको धक्का कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पनि महसुस गरिएको बताइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल भूकम्प २०७२: भुइँचालोले काठमाण्डू उपत्यकामा यसरी हल्लाएको थियो

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भोलाबहादुर रावलका अनुसार भूकम्पका कारण डोटीका छिमेकी जिल्लाहरू अछाम, बाजुरा र बझाङका विभिन्न ठाउँहरूमा घरहरू चर्किएका छन्।

बीबीसी नेपाली सेवाका संवाददाता प्रकाश पन्तले सुर्खेत वीरेन्द्रनगरबाट उपलब्ध गराएको विवरण अनुसार भूकम्पको धक्काका कारण सुर्खेतमा पनि मानिसहरू आक्रान्त भएका थिए।

"वीरेन्द्रनगरमा मानिसहरू धेरै नै चिन्तित देखिएका थिए। भूकम्पको धक्का महसुस भए पछि मानिसहरू रातभर घरबाहिरै बसेका थिए। कतिपय सडकमै समेत निस्किएका थिए," पन्तले जानकारी दिए।

विज्ञको सुझाव

वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले भूकम्पका परकम्पनहरू गइरहेको हुनाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

जिल्ला अस्पताल डोटीमा उपचाररत् घाइतेलई भेट्दै पूर्वमन्त्री प्रेम आले

तस्बिर स्रोत, Bimal Bista

तस्बिरको क्याप्शन, जिल्ला अस्पताल डोटीमा उपचाररत् घाइतेलई भेट्दै पूर्वमन्त्री प्रेम आले

"यो अवस्थामा मानिसहरूले विशेष ध्यान दिनुपर्छ। भूकम्पले चर्किएका र जीर्ण बनेका घरहरूमा एक दुई दिन बस्नु हुँदैन," उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, धरहरा: पुनर्निर्माण भयो कि नवनिर्माण?