भूकम्प प्रभावित क्षेत्रका दुई दर्दनाक दृश्यः कतै चिता जल्दै, कतै अस्पतालको शय्यामा छटपटाउँदै बुवा

भूकम्प
    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली, जाजरकोट

जाजरकोट नलगाड नगरपालिकाको वडा नं १ चिउरी गाउँको फेदमा सधैँजसो ठूली भेरी नदी बगिरहेको छ। नदीको सुसाइसँगै नदी किनारमा चलिरहेको रुवाबासी।

तर नदी किनारमा महिला र बालबालिकासहित १३ जनाको शव लस्करै राखिएको थियो। डाँको छाडेर रोइरहेका केही महिला अचेत हुँदा एम्बुलेन्सले अस्पताल पुर्‍याउनु परेको थियो।

एउटा चितामा छजना र अरूलाई अलगअलग चिता बनाएर अन्तिम बिदाइ गरियो। ती सबै शुक्रवार मध्यरातमा आएको भूकम्पमा परेर ज्यान गुमाउने चिउरी गाउँका थिए।

जो बोल्दाबोल्दै बिते

चिउरीमा १८६ वटा घर छन्। त्यो दलित बस्ती हो। हिरे कामी उनकी श्रीमती र दुईजना सन्तानको मृत्यु भयो।

समयमै उद्धार गर्न सकेको भए हिरे कामीलाई जोगाउन सकिन्थ्यो भन्ने लागेको छ उनका छिमेकी र आफन्तहरूलाई।

“मध्यरातमा गाउँभरि कोलाहल र रुवाबासी मच्चियो, हामी कसैको दिमागले काम गरिरहेको थिएन,” हरिबहादुर चुनारा कहालीलाग्दो रात सम्झिन्छन्, “जब हामी अरूलाई सहयोग गर्न सक्ने भयौँ, हिरे कामी बोल्दै हुनुहुन्थ्यो।”

उनलाई जोगाउने प्रयासमा एक युवक हात्तिराम महर पनि लागेका थिए। उनका अनुसार घरको भग्नावशेषमा थिचिएका हिरे कामीलाई निकाल्न कचौरा, थाल र घरेलु सामानले उनीहरूले खोतल्दै थिए।

“म यता छु भन्नुभयो, हामी गयौँ, मेरो शरीरयता च्यापिएको छ, त्यहाँ नकुल्चनू है भन्दै हुनुन्थ्यो” हात्तिराम महरले आफ्ना नातेदारलाई जोगाउन नसकेको अवस्थाको बयान गरे, “तर उहाँलाई यसरी बिदा गर्नुपर्‍यो।”

आफूजस्तै हिरे कामी पनि भारतमा काम गर्थे। हात्तिराम महरका अनुसार हिरे कामी २-३ दिनअघि मात्रै भारतबाट नेपाल आएका थिए, तिहार मानेर फर्किने योजना थियो।

भूकम्प

तस्बिर स्रोत, RSS

बाँचेकालाई बचाउने चिन्ता

भूकम्प

तस्बिर स्रोत, NARENDRA SHRESTHA/EPA-EFE/REX/Shutterstock

उनकी एक छोरी भने बाँच्न सफल भएकी छन्। बिहे भइसकेकी जेठी छोरी भने सानी बहिनीबाहेक सिङ्गो माइती परिवार गुमाउनुको पीडा सहन नसकी अचेत हुँदा नदी किनारबाट एम्बुलेन्सले उपचारका निम्ति लग्नु परेको थियो। साँझ ढल्किनै लाग्दा चिता निभ्दै गयो। केहीबेरमा शोकमग्न गाउँका बासिन्दा सडक पार गर्दै भग्नावशेष बनेको गाउँतर्फ उकालो लागे।

राहत पाउने आशामा रहेका हरिबहादुर चुनारा भन्छन्, “ओत लाग्ने ठाउँ छैन, राहत सामग्री आउँछ होला।”

भूकम्पबाट जाजरकोटको नलगाड नगरपालिका अति प्रभावितमध्ये पर्छ। त्यहाँ ५२ जनाको मृत्यु भएको नगरपालिकाकी सूचना अधिकारी जुना शाहीले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

जसअनुसार चिउरीका १३ जनासहित उक्त वडा नं १ मा २५ जनाको मृत्यु भएको छ।

तर चिन्ता अब बाँचेकालाई कसरी जोगाउने भन्ने छ। “साना बालबालिकालाई चिसोमा कसरी जोगाउने भन्ने पीर छ,” हात्तिराम महरको चिन्ता छ, “बाहिरै रात काट्नु परेको छ। टेन्ट भइदिए हुन्थ्यो।”

छोरीहरू गुमाएका बुवा अस्पतालमा छटपटाउँदै

ठूली भेरी नदीको पल्लो ढिकमा छ रुकुम पश्चिमको आठविसकोट नगरपालिका।

उक्त नगरपालिकाका बासिन्दा गणेश मल्ल अहिले सुर्खेत वीरेन्द्रनगरस्थित कर्णाली प्रादेशिक अस्पतालको शय्यामा उपचार गराइरहेका छन्।

“मेरा दुईजना छोरी रहेनन्” उनले छातीभरिको उकुसमुकुस अत्यास सुनाए, “श्रीमती र छोरा पनि घाइते छन्, कहाँ उपचार भइरहेको छ त्यो पनि थाहा छैन।”

उनलाई हेलिकप्टरमा उद्धार गरेर अस्पताल पुर्‍याइएको हो।

भूकम्प गएको बिहान सबेरैदेखि उक्त अस्पताल पुर्‍याइँदा घाइतेहरूको पहिचान थिएन।

“सुरुमा त हामीले केश-१, केश-२ भन्दै क्रमसङ्ख्या लेखेर उपचार सुरु गर्‍यौँ”, अस्पतालका अर्थोपेडिक सर्जन पदम गिरीले भने, “कतिपयलाई त कपडा नै नभएकाले हामीले नै उपलब्ध गरायौँ।”

उनका अनुसार त्यहाँ करिब ३० जना घाइतेको उपचार भइरहेको छ।

उक्त अस्पतालमा विरेन्द्रनगर वडा नं ५ का सदस्य वासु आचार्य राहत र सहयोगको निम्ति तैनाथ थिए।

उनी जस्तै अन्य राजनीतिक नेता कार्यकर्ताहरू पनि राहत वितरण र सहानुभूति प्रकट गर्न पुगेका भेटिए।

भूकम्प

राजनीतिक सक्रियता र पीडितको सरोकार

जाजरकोटको छेडामा भेटिएका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्रीद्वय मातृका यादव र महेन्द्रबहादुर शाही सदरमुकाम खलङ्गा पुग्ने हतारोमा थिए।

नलगाडमा १३ जनाको सामूहिक दाहसंस्कार स्थलमै पुगेका भेटिए नेकपा एमालेका नेता निरज आचार्य।

त्यसभन्दा केही पर आँखाले देख्न सकिने नलगाड खोला र भेरी नदीको सङ्गमस्थलबाट एउटा हेलिकप्टर उड्यो।

त्यहाँ भुकम्पमा परेर ज्यान गुमाएकी नगरपालिकाकी उपप्रमुख सरिता सिंहको दाहसंस्कार गरिएको थियो।

दलित बस्तीमा ज्यान गुमाएकाहरूको सामूहिक दाहसंस्कारमा सहभागी एक जनाले भने, “ऊ उपप्रधानमन्त्रीज्यूको हेलिकप्टर।”

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आफ्नो पार्टीकी उपप्रमुख सरिता सिंहलाई अन्तिम श्रद्धाञ्जलि दिन पुगेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प आएको केही घण्टापछि नै प्रभावित क्षेत्र पुगेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पनि जाजरकोट पुगेका छन्।

रुकुम पश्चिम आठविसकोट नगरपालिका वडा नं १४ का कुलबहादुर मल्ल भन्छन्, “हामी पीडितहरूको घरबास उजाडियो, कम्तीमा अहिलेलाई रात काट्ने र खाने प्रबन्ध सरकारले मिलाइदेओस् भन्ने मेरो अनुरोध छ।”

गरिब र निमुखामाथि नै प्रकृतिको आक्रमण

भुइँचालोको केन्द्रबिन्दु बारेकोटमा भने तुलनात्मक रूपमा क्षति कम भएको बताइएको छ।

शिक्षक गणेश जिसी त्यहीँका बासिन्दा हुन्। तर उनी त्यस रात सदरमुका खलङ्गा थिए।

उनका अनुसार सबैजसो प्रभावित क्षेत्रमा कच्ची घरहरू र माटोको जडान भएका ढुङ्गाका घरहरू भत्किएका छन्।

प्रभावित गाउँ बस्तीहरूमा हेर्दा पनि त्यस्ता कैयौँ घर काँचको सिसाजस्तै गरी पूरै ध्वस्त भएका छन्।

कतिपय भित्ता भत्किएका त कतिपय नराम्ररी चर्किएका देखिन्छन्। सिमेन्टको जडान भएका पक्की घरहरूमा क्षति पुगेको देखिएको छैन।

“बाढी र पहिरो आउँदा पनि गरिबलाई सताउने”, शिक्षक गणेश जिसी भन्छन्, “भूकम्पले पनि गरिबलाई नै आक्रमण गरेको छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।