तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के बच्चाले गर्भमा नै संस्कार सिक्न सक्छन्?
- Author, सुशीला सिंह
- Role, बीबीसी संवाददाता
भारतमा राष्ट्र सेविका समितिसँग सम्बन्ध राख्ने संस्था संवर्धिनी न्यासले गर्भवती महिलाका लागि 'गर्भ संस्कार' अभियान सुरु गरेका छन्।
राष्ट्र सेविका समिति, राष्ट्रिय स्वंयसेवक सङ्घ (आरएसएस) मा आबद्ध महिलासँग जोडिएको संस्था हो।
समाचार एजेन्सी पीटीआईका अनुसार संवर्धिनी न्यासकी राष्ट्रिय आयोजक सचिव माधुरी मराठेले भनिन्, ''गर्भवती महिलाका लागि गर्भ संस्कार नामको अभियान सुरु गरिएको छ। त्यसले गर्दा गर्भमा नै बच्चालाई संस्कार र मूल्यमान्यता सिकाउन सकियोस्।''
उनले भनिन्, ''स्त्रीरोग विशेषज्ञ, आयुर्वेदका डाक्टरहरू र योग प्रशिक्षकलाई मिलाएर एउटा कार्यक्रमको योजना बनाइएको छ। त्यसमा गीता र रामायणका पाठ पढ्ने र गर्भावस्थाका बेलामा योग गर्ने जस्ता क्रियाकलाप सामेल गरिएको छ। त्यसले गर्भमा बढ्दै गरेको बच्चालाई संस्कार सिकाउन मद्दत गरोस् भन्ने उद्देश्य हो।''
कार्यशाला
उनका अनुसार राजधानी दिल्लीस्थित जवाहरलाल विश्वविद्यालयमा राष्ट्र सेविका समितिको तर्फबाट एउटा कार्यशाला आयोजना गरिएको थियो जसमा १२ राज्यका ८० स्त्रीरोग विशेषज्ञ सहभागी थिए।
पीटीआईलाई माधुरी मराठेले भनिन्, ''यो कार्यक्रम गर्भवती महिला र बच्चा दुई वर्षको नहुन्जेल चलिरहन्छ। त्यसमा गीताका श्लोक र रामायणको पाठ हुनेछ। गर्भमा हुर्किरहेको बच्चाले ५०० शब्दसम्म सिक्न सक्छ।''
तर के गर्भमा हुर्किरहेको बच्चाले शब्द अथवा कुनै भाषा बुझ्न सक्छ?
विज्ञान यस विषयमा फरक धारमा बाँडिएको छ।
विज्ञान के भन्छ?
मुम्बईस्थित महिला अधिकारकर्मी तथा स्त्रीरोग विशेषज्ञ डा. सुचित्रा देलवी भन्छिन्, “गर्भमा हुर्किरहेको बच्चाले आवाज सुन्न त सुन्छ तर उसले कुनै भाषा बुझ्दैन।”
उनी भन्छिन्, “जबजब गर्भमा हुर्किरहेको बच्चाको शरीरको विकास हुँदै जाँदा उसको कान पनि उम्रिन थाल्छ। यस्तोमा ध्वनि तरङ्ग पनि बच्चाकहाँ पुग्छ। तर त्यो ध्वनिको अर्थ के हो त्यो बच्चाले बुझ्न सक्दैन। यस्तोमा यदि आमाले संस्कृत वा अन्य कुनै श्लोक पढे पनि बच्चाले कसरी बुझ्न सक्छ र?”
फरक धारणा
उनी गर्भको बच्चाले सबै बुझ्दछ भन्ने कुरा मिथक मात्र भएको र त्यसको कुनै वैज्ञानिक आधार नभएको बताउँछिन्।
डा. सुचित्रा भन्छिन्, “हामीले यस्ता कुरा सोच्नुको साटो ती बच्चाको बारेमा सोच्नुपर्यो जो यो संसारमा आइसकेका छन् तर भोजन, शिक्षा जस्ता मूलभूत कुराबाट वञ्चित छन्।”
“बच्चालाई एउटा असल नागरिक बनाउन र संस्कृति सिकाउनतर्फ सोच्नुपर्यो।”
तर अर्की स्त्रीरोग विशेषज्ञ डा. एसएन बसु भने विभिन्न अनुसन्धानले गर्भमा हुर्किरहेको भ्रूणले सपना देख्न सक्ने र कुनै कुरा महसुस पनि गर्न सक्ने बताउँछिन्।
उनी अमेरिकी वेबसाइट साइकोलोजी टूडेमा छापिएको फीटल साइकोलोजीको उल्लेख गर्दै भन्छिन्, ''यसमा स्पष्ट लेखिएको छ कि भ्रूण नौ हप्ताको भएपछि बाडुली लाग्ने र तेज आवाजप्रति प्रतिक्रिया पनि दिन्छ। उसले १३औँ हप्तामा सुन्न पनि सक्छ। उसले आमा र अन्य अज्ञात व्यक्तिको आवाजको फरक समेत छुट्याउन सक्छ।''
उनी भन्छिन्, ''यो अनुसन्धानमा भनिएको छ- यदि गर्भमा हुर्किरहेको भ्रूणलाई बारम्बार एउटै कथा सुनायो भने त्यसमाथि उसले प्रतिक्रिया पनि जनाउँछ।''
उनी भन्छिन्, “यो अनुसन्धानमा भ्रूणमा महसुस गर्ने, देख्ने र सुन्ने क्षमताको साथमा कुनै कुरा सिक्ने र कुनै कुरा याद राख्ने क्षमता पनि विकसित हुन्छ। यस्ता गतिविधि मौलिक, स्वचालित र जीव रसायनशास्त्रसँग सम्बन्धित हुन सक्छ। जस्तो कि चर्को आवाजका कारण पहिले त आश्चर्यचकित हुन्छ तर फेरि समय सँगसँगै प्रतिक्रिया दिन बन्द गर्छ।”
उनी भन्छिन्, “गर्भमा बच्चा हुर्किरहेको बेला यदि आमाले सकारात्मक कामकाज गर्दा त्यसको असर बच्चामा पनि पर्छ।”
हर्मोन र बच्चामा असर
डा. सुचित्रा देलवी भन्छिन्, ''यदि गर्भवती महिला तनावमा रहन्छिन् भने उनलाई रामायण, गीताको श्लोक पढेर शान्ति मिल्छ वा कुनै गीत सुनेर खुसी प्राप्त हुन्छ भने त्यस्तो बेला शरीरमा बन्ने हर्मोनको असर भ्रूणमा पर्छ।''
''त्यसबेला उत्पन्न हुने हर्मोन वा रासायनिक सन्तुलनको असर आमा हुँदै बच्चासम्म पुग्छ। अर्थात् तनावको हर्मोन वा खुसीको हर्मोनको असर बच्चामा पनि पर्छ। यसको वैज्ञानिक आधार छ।''
अन्धश्रद्धा निर्मूलन समितिकी अभियानकर्ता मुक्ता दाभोलकर गर्भवती महिलालाई पोषणयुक्त आहार, असल विचार, मन शान्त राख्ने कुराहरू गर्भ संस्कारसँग जोड्नुलाई ठिक मान्दिनन्।
उनी भन्छिन्, ''जब गर्भमा हुर्किरहेको बच्चाले भाषा नै बुझ्न सक्दैन भने त्यस्तो बेला आमाले गरेको मन्त्र उच्चारण कसरी बुझ्छ र?''
उनी यस प्रकारको गर्भ संस्कारको कुरा गर्नु छद्म विज्ञान मान्छिन्।
उनका अनुसार “आमा खुसी रहनु महत्त्वपूर्ण हुन्छ। परिवारले उनलाई खुसी राख्नु र आहारमा ध्यान दिन आवश्यक छ।''
विचारधारा बढाउने कोसिस
उत्तर प्रदेशको बनारस हिन्दू विश्वविद्यालयमा एउटा अनुसन्धान सुरु भएको छ।
त्यसमा गर्भमा हुर्किरहेको भ्रूणमा आवाज र सङ्गीतको के असर पर्छ भन्नेबारे हेरिनेछ।
बीएचयूमा प्रसूति तन्त्र एवं स्त्रीरोग विभाग आयुर्वेद सङ्कायमा कार्यरत डा. सुनीता सुमन भन्छिन्, ''गर्भ संस्कार थेरापी नाममा यो अनुसन्धान सुरु मात्र भएको छ। यसमा थप जानकारी आउन समय लाग्नेछ।”
केही राजनीतिक विश्लेषकले यसलाई एकखाले विचारधाराको प्रचारप्रसारको कोसिसका रूपमा हेरेका छन्।
विश्लेषक राजेश सिन्हा हिन्दू भावना अगाडि सार्न यस्तो कुरा गर्ने गरिएको र त्यसको कुनै तार्किक आधार नभएको बताउँछन्।
उनका भनाइमा भारतमा मानिसहरूमा अन्धविश्वास भरिएको छ।
त्यसले गर्दा मानिसहरू पञ्चाङ्ग र वास्तुमा निकै विश्वास राख्छन्। यस्ता कुराले उनीहरूको राजनीतिक र सांस्कृतिक आधार बढ्छ।
यसअघी पनि आरएसएसको स्वास्थ्य शाखा आरोग्य भारतीको तर्फबाट गर्भ विज्ञान संस्कार सुरु गर्ने खबर आएको थियो।
त्यो गुजरातबाट सुरु गरिएको थियो र त्यसलाई सन् २०१५ मा नै राष्ट्रियस्तरमा लगिएको थियो।
अब आरएसएसको विद्या भारती शाखासँग मिलेर यसलाई अन्य राज्यमा पनि पुर्याइँदै छ।