बीपीडी: 'म चाँडै नै एकोहोरो हुन पुग्छु', बोर्डर लाइन पर्सनालिटी डिस्अर्डर हुँदा डेटिङमा पनि समस्या

    • Author, थिया डि गलिअर
    • Role, बीबीसी थ्री

"मलाई बीपीडी भएको थाहा हुँदा मलाई अब मैले कहिल्यै पनि स्वस्थ सम्बन्ध गाँस्न सकिँदैन भन्ने लाग्यो।"

आफूलाई बोर्डरलाइन पर्सनालिटी डिस्अर्डर (बीपीडी) भन्ने मानसिक अवस्थासम्बन्धी समस्या भएको बताइएपछि २१ वर्षीया मायलाई त्यस्तो अनुभव भएको थियो।

त्यस्तै अनुभूति उक्त समस्या भएका थुप्रै अरूले पनि सामाजिक सञ्जालमा साझा गरेका छन्।

उक्त विषयमा बनाइएका कैयौँ टिकटक भिडिओमध्ये एउटामा ठ्याक्कै त्यस्तै भाव प्रतिबिम्बित गर्ने क्याप्शन थियो। मानिसहरूले आआफ्ना अनुभव थोरै ठट्यौलो शैलीमा प्रस्तुत गरेका छन्। तीमध्ये धेरै जनाले सम्बन्ध टुटेको अनि खराब सम्बन्ध भएको विषय बारम्बार उठाएका छन्।

अचेल सामाजिक सञ्जालमा बीपीडी निकै चर्चामा देखिन्छ। एडिन्बरा यूनिभर्सिटीकी लेक्चरर एवं बाल तथा किशोरकिशोरीका मनोचिकित्सक डा लियाना रोमान्युकको विचारमा यसको आंशिक कारण अहिलेका नयाँ पुस्ताका युवायुवतीमाझ व्याप्त पुराना पुस्ताभन्दा फरक धारणा हो।

"मसँग काम गर्ने कैयौँ युवायुवतीले मलाई सोध्ने गर्छन्, 'के मलाई बीपीडी हुनसक्छ?' मलाई लाग्छ यस विषयमा चेतना बढिरहेको छ," डा रोमान्युकले भनिन्।

के हो बीपीडी?

यो यस्तो मानसिक स्वास्थ्यको अवस्था हो जसमा भावनात्मक अस्थिरता उत्पन्न हुन्छ। कतिपय मानिसलाई त्यसले 'मुड' व्यवस्थापनमा प्रभाव पार्छ अनि अरू मानिससँगको सम्बन्धमा असर पार्छ।

प्रत्येक १०० मानिसमध्ये १ जनालाई उक्त अवस्था रहेको ठानिन्छ।

बीपीडी भएका कतिपय मानिसहरूमा बाल्यकालमा बेवास्ता वा अन्य आघात परेको पाइयो जसले गर्दा वयस्क हुँदा उनीहरूको सम्बन्ध जटिल बनाइदिन सक्छ।

डा. रोमान्युकका अनुसार त्यस्तो आघात कुनै डरलाग्दो दुर्व्यवहार नभईकन बुवाआमा छुट्टिएको वा भावनात्मक रूपमा टाढा रहेको वा सानैमा आमाबुवा गुमाएको जस्ता घटना पनि हुनसक्छन्।

दुर्भाग्यवश बीपीडीको अवस्थाप्रति समाजमा रहेको नकारात्मक भावना पनि जोडिन्छ। त्यसलाई व्याख्या गर्दै डा. रोमान्युक भन्छिन्: "बीपीडी भनेको उपचार नहुने बिमारी हो भन्ने खालका पुराना मान्यता पनि थिए। तर अहिले भने मैले भेटेका कसैमा त्यस्तो भावना पाइँदैन।"

साथै विशेषज्ञहरूको समूहमा एउटा बहस जारी नै छ। खासमा बीपीडी व्यक्तित्वसम्बन्धी कुनै मानसिक अवस्था हो वा विगतमा भएका आघातको त्यो केवल एउटा प्रतिक्रिया हो भन्नेबारे बहस रहेको उनले बताइन्।

"व्यक्तित्वमा पर्सनालिटी डिस्अर्डर भन्ने वाक्य प्रयोग गर्न मलाई निकै अप्ठ्यारो लाग्छ। त्यो भनेको त कसैलाई मुटुमा छुरा रोपेको जस्तो सुनिन्छ," उनले भनिन्। "त्यसो भन्दा उक्त व्यक्तिमा आधारभूत रूपमै केही खराबी छ भन्ने जनाउँछ।"

सम्बन्धमा 'एकोहोरोपना'

मायलाई आफू एकदम एकोहोरो हुन थालेको अनि सम्बन्धहरूबारे धेरै सुर्ता लिन थालेको अनुभव भएपछि उनले बीपीडीबारे अनुसन्धान थालिन्।

"जब म सम्बन्धमा थिएँ तब मेरा ती लक्षण पनि अलि कडा भएको मैले अनुभव गरेँ," उनले भनिन्। मार्च २०२१ मा उनमा बीपीडीको अवस्था भएको पत्ता लागेको थियो।

"म चाँडै नै एकोहोरो हुन पुग्छु। निरन्तर कल गर्न वा टेक्स्ट गरिरहन मन लाग्छ। अरू साथीबाट अलग्गिन्छु - अरू सबै बानी छाडेर त्यही एक व्यक्तिप्रति सबै समय समर्पित पार्न चाहन्छु।"

बीपीडी नभएका अरूलाई सामान्य लाग्ने विषय उनीहरूलाई अति गम्भीर लाग्छ।

"एकचोटि म साथीको कोठामा हुँदा मेरो केटासाथीले टेक्स्ट गर्‍यो। मलाई उक्त टेक्स्टको टोनले एकदम चिन्तित बनायो - सबैथोक छाडेर 'मलाई जानुपर्ने भयो' भन्दै दौडिएर म १५ मिनेट पर रहेको उसको कोठामा गएँ।"

"म एकदम विचलित थिएँ। तर केही भएको रहेनछ अनि म फेरि साथीकहाँ फर्किएँ। मेरो साथीलाई अचम्म लाग्यो होला तर मैले त्यसो नगरेको भए म शान्त भएर बसिरहन सक्दिनथेँ।"

कसैले त्याग्ने डर एक किसिमको शत्रुताको रूपमा समेत प्रकट हुन सक्छ। "मेरो पछिल्लो सम्बन्ध अन्त्य हुने समयमा मभित्र निकै द्वेषपूर्ण भावना आयो," मायले भनिन्।

"सम्बन्ध साँच्चिकै अन्त्य हुने बेला मैले निकै रोइकराइ गरेँ र मनाउन खोजेँ। त्यो मेरो बीपीडीको सोझो असर थियो।"

त्यसयता उनले 'डायलेक्टिकल बिहेभिअर थेरपी' (डीबीटी) उपचार थालिन्। यो कुराकानीमार्फत् भावहरूलाई नियन्त्रित गर्न सिकाउने उपचारविधि हो। उनले एन्टिडिप्रेसन्ट औ‍षधि पनि लिन थालेकी छन्।

"अहिले म धेरै सकारात्मक अनुभव गर्न थालेकी छु," उनले भनिन्। "सुरुमा मलाई बीपीडी छ भन्दा त मलाई मृत्युको सजाय सुनाएको जस्तो भएको थियो। जीवनभरि यस्तै हुने होला भन्ठानेको थिएँ। तर डीबीटीले निकास देखाएको छ।"

बीपीडी प्रभावित सबैको व्यवहार एकैनासको नहुने डा. रोमान्युकले बताइन्।

बीपीडीका लक्षण कि दुर्व्यवहारपूर्ण आचरण?

बीपीडी भएका मानिसका पार्टनरलाई पनि कठिनाइ हुने गर्छ तर कतिपयले भने स्वस्थ्य सम्बन्ध विकास गर्न सक्छन्।

बत्तीस वर्षीया एलेनकी पूर्व पार्टनरलाई बीपीडी थियो।*

"मलाई लाग्छ मैले उसका थुप्रै दुर्व्यवहारलाई उक्त अवस्थाको आडमा माफ गरिदिएँ।"

उसलाई एक्लै छाडेकोमा एलेनलाई दोषी अनुभूति हुन थालेपछि उनी कामबाट चाँडै घर फर्किन थालिन्। "हामीबीच कुनै किसिमको मतभिन्नता हुँदा ऊ नबोली बस्थ्यो," उनले भनिन्। "मैले धेरै छुट दिएँ बीपीडीको निहुँमा। उसले प्रत्येक तेस्रो दिन मलाई छाडेर जान थाल्यो - आधा रातमा ऊ हिँड्थ्यो अनि फर्केर आएर म नै उसको प्रेम हो भन्थ्यो।"

उसका कतिपय आचरण दुर्व्यवहारपूर्ण भएको उनले बताइन्। तर के त्यस्तो अवस्था भएका मानिसलाई उक्त विशेषण उपयुक्त हुन्छ?

"त्यो एकदमै महत्त्वपूर्ण प्रश्न हो जसले मानवजातिको रूपमा हाम्रो आत्मालाई छुन्छ," डा रोमान्युकले भनिन्। "बीपीडी भएपनि तपाईँको मनमस्तिष्क तपाईँकै हो। त्यसले तपाईँलाई कुनै प्रकारको प्रतिक्रिया जनाउन बाध्य त पार्ला तर पनि कुनै समयमा तपाईँले लिने कदमको एक हदको जिम्मा तपाईँकै हो।"

दुई जनामध्ये एक जनालाई बीपीडी भएको खण्डमा पार्टनरहरूका बीच "इमान्दार कुराकानी" लाई उनले प्रोत्साहन गरिन्। तर बीपीडी नभएका अर्का पार्टनरलाई तिनको स्वास्थ्यबारे ध्यान दिन पनि उनले सुझाइन्।

साथै बीपीडी भएका प्रत्येक व्यक्ति भिन्न भएकाले सबैलाई एकैनासले व्यवहार गर्न जरुरी नभएको उनले बताइन्। "मैले चिनेका सबभन्दा मायालु, सबभन्दा गतिशील, अनि रोचक व्यक्तिहरूलाई बीपीडी छ।"

*केही नाम परिवर्तन गरिएको छ