फागुन २१ को चुनावका लागि आज प्रत्यक्षतर्फ मनोनयन, पार्टीहरूलाई यस्तो चटारो

    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

फागुन २१ आउन ४४ दिन बाँकी हुँदा मङ्गलवार प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवारहरू छान्नका निम्ति दलहरूको अन्तिम कसरतसँगै आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्दै छन्।

ठूला दलदेखि साना दलसम्म सबैलाई केही दिन यता उम्मेदवार टुङ्ग्याउन र मनोनयनपत्र अर्थात् 'टिकट' दिन भ्याइनभ्याइ भयो।

मङ्गलवार बिहानैसम्म पनि कतिपय दलहरूले अन्तिम टुङ्गो लगाउने बताइरहे।

टिकट टुङ्ग्याउने होड

सोमवार सबैजसो दलहरूमा उम्मेदवारको टुङ्गो लगाउने तारन्तार बैठकहरू भए।

कुनै दलहरूले अलि फटाफट उम्मेदवारका सूची टुङ्ग्याएको पाइयो भने कुनै दलहरू अझै आन्तरिक विमतिमा अल्झिरहेको पाइयो।

ठूला दलमध्ये नेकपा एमालेले लगभग सबै उम्मेदवार टुङ्ग्याइसकेको बताएको छ।

पार्टीका उम्मेदवारहरूको मनोनयन टुङ्ग्याएर आफ्नै उम्मेदवारी मनोनयनका निम्ति आफू लड्ने लमजुङ जिल्लामा पुगिसकेको एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले बीबीसीलाई बताए।

"हामीले यो अभियानमा सबैलाई उछिनेका छौँ। महाधिवेशन पनि सक्यौँ र गाउँगाउँमा प्रतिगमन भयो भनेर जुलुस पनि निकाल्यौँ। अहिले मनोनयन पनि सोमवारसम्म लगभग सक्यौँ," उनले भने।

अर्को ठूलो दल नेपाली कांग्रेस यतिखेर विभाजनको मार खेपिरहेको छ। गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले मान्यता दिएपछि अहिले पार्टीका अन्य पक्षहरूसँग कुराकानी गरेर उम्मेदवारी टुङ्ग्याउनुपर्ने बाध्यता उसलाई आइपरेको छ।

त्यसैकारण अन्य दलहरूका उम्मेदवारका सूची सोमवारै सार्वजनिक हुँदै गर्दा कांग्रेसका उम्मेदवारबारे अबेरसम्म अन्योल कायम रह्यो। उक्त पार्टीको एक पक्ष अदालतमा पुगेकाले पनि स्पष्टता आउन नसकेको देखियो।

तर आधिकारिकताप्राप्त कांग्रेस केन्द्रीय कार्यसमितिका प्रवक्ता देवराज चालिसेले पार्टीका सबै पक्षबीच कुरा मिल्दै गएको प्रतिक्रिया दिए।

"लगभग प्रारम्भिक चरणका छनोटहरू हामीले सकेका छौँ। अब संसदीय बोर्डबाट त्यसको औपचारिक निर्णय हुन बाँकी छ," सोमवार साँझ बोल्दै चालिसेले बताए। उनका अनुसार कतिपय महत्त्वपूर्ण भनिएका सीटका निम्ति उम्मेदवारहरूको टुङ्गो अन्तिम समयमा लाग्ने 'परम्परा' यसअघि पनि थियो।

आफ्ना सभापति रवि लामिछाने जेलमुक्त भएपछि हौसिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाण्डूका मेअर बालेन शाहलाई भित्र्याएर चुनावी अभियान सोमवारबाटै औपचारिक रूपमा थाल्यो।

उक्त पार्टीमा पनि उम्मेदवार छान्ने चटारो स्पष्टै देखिन्थ्यो।

"हामीले (मनोनयनका लागि) टाढा जानुपर्ने हिमाली भेगका उम्मेदवारलाई प्राथमिकता दिएर टुङ्ग्याउँदै छौँ। काठमाण्डूमा बरु मङ्गलवार बिहानसम्म टुङ्गिए पनि फरक पर्दैन भन्ने छ," रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले बताइन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना उम्मेदवारहरू लगभग टुङ्ग्याइसकेको बताएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि कैयन् ठाउँमा टुङ्ग्याएका विवरण आएका छन्।

यसैपालि खुलेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को अध्यक्षमण्डलका एक सदस्य सन्तोष परियार आफ्नो दलले लगभग सबै टुङ्ग्याइसकेको बताउँछन्।

"धेरै ठाउँमा टिकट प्रदेशहरूमा पठाइसकेका छौँ। केही बाँकी मङ्गलवार बिहानसम्ममा सक्छौँ," परियारले भने।

मनोनयनको प्रक्रिया कस्तो?

निर्वाचन आयोगले निकालेको निर्वाचन कार्यक्रमअनुसार प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको काम मङ्गलवार एक दिन मात्र हुने छ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने बताइएको छ।

"उम्मेदवारी दर्ताका निम्ति सबै काम हामीले सम्पन्न गरिसकेका छौँ। सबै ठाउँमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर कार्य प्रारम्भ भइसकेको छ," आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

"मनोनयन प्रयोजनका लागि आवश्यक पर्ने मतदाता नामावली सबै ठाउँमा पुर्‍याइसकिएको छ। साथै उम्मेदवारहरूको आधिकारिक दस्तखतको नमुना प्रति पनि सबै कार्यालयमा पुगिसकेको छ।"

समय थप हुँदैन : आयोग

आन्तरिक विभाजन खेपेको कांग्रेसका कतिपयले मनोनयनका लागि थप समय दिनु उचित हुने टिप्पणी गरिरहँदा आयोगले भने यसबारे कुनै थप निर्णय नगरिएको बताएको छ। "मनोनयनको काम तोकिएको समयमा पूरा हुने छ," भट्टराईले भने।

सोमवार साँझ एक भिडिओ अkLल जारी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको कार्यतालिकामा तलमाथि नहुने बताए।

"अब कुनै पनि विषयवस्तुलाई पर सार्ने, संशोधन गर्ने, थप्ने, घटाउने विषय सकिइसकेको हुनाले तोकिएकै समयमा चुनिन चाहने दलका, स्वतन्त्र उम्मेदवारहरूले मनोनयन पत्र दाखिल गर्नुहुन्छ," भण्डारीले भने।

"मनोनयनपत्र दाखिल गर्ने प्रयोजनका लागि धेरै टाढाका जिल्लामा उम्मेदवारी दाखिल गर्नुपर्ने तर अहिले काठमाण्डूमै रहनु भएका उम्मेदवारहरूको हकमा पनि आफ्नो प्रतिनिधिमार्फत्, समर्थक र प्रस्तावकमार्फत् वा आफू स्वयं उपस्थित भएर पनि मनोनयनपत्र दाखिल गर्न सक्ने कानुनी व्यवस्था भएकाले कोही चाहिँ आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मनोनयनपत्र दाखिल गर्न सक्नु हुन्न कि भन्ने सन्दर्भलाई लिएर निर्वाचन कार्यक्रम परिवर्तन वा संशोधन हुन सक्दैन।"

निर्वाचन चिह्न ९ गते

मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची मङ्गलवार साँझ ५ बजेपछि प्रकाशन गरिने कार्यक्रम छ।

माघ ७ गते उम्मेदवारहरूको विरोधमा उजुरी दिन सकिने छ भने ती उजुरीउपर जाँचबुझ गरी ८ गतेसम्म आयोगले निर्णय दिने छ।

त्यसपछि उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने र नाम फिर्ता लिने समय दिइने छ।

माघ ९ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनका साथै उनीहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ।

आफ्नो उम्मेदवारी दर्ता गराउन चाहने व्यक्तिले प्रतिनिधिमार्फत् पनि मनोनयन गर्न सक्ने सुविधा छ। तर धेरैजसो उम्मेदवार आफैँ दर्ता गर्न जान रुचाउँछन्। कुनै दलमा नलागेका स्वतन्त्र उम्मेदवारहरूले पनि मनोनयन गर्न पाउँछन्।

त्यस्ता व्यक्तिहरूले नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, प्रस्तावक र समर्थकको मतदाता परिचयपत्र, राजनीतिक दलको हकमा दलको औपचारिक पत्र, सम्पत्ति विवरण, धरौटी राखेको रसिद, वैयक्तिक विवरण तथा स्वघोषणा बुझाउनुपर्छ।

प्रतिनिधिसभाको कुल २७५ सदस्यमध्ये प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १६५ सदस्य चुनिने छन्।

समानुपातिक प्रणालीतर्फ ११० चुनिने छन्। समानुपातिक प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगले आइतवार नै प्रकाशन गरिसकेको छ। आयोगका अनुसार ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका ३२१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।