तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सर्वोच्चमा निवेदन दर्ता गरेको देउवा समूहले गर्यो निर्वाचन कार्यतालिका स्थगनको माग
नेपाली कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालत पुगेपछि शेरबहादुर देउवा पक्षले अदालतको फैसला नआउन्जेलसम्मका लागि चुनावी कार्यपालिका स्थगन गर्न माग गरेको छ।
गएको शुक्रवार निर्वाचन आयोगले विशेष महाधिवेशनको आयोजना गरेको गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई आधिकारिकता दिएका थियो।
नेता मीनबहादुर विश्वकर्माले भने, "सर्वोच्च अदालतमा निर्वाचन आयोगको निर्णय उपर मुद्दा परेकाले त्यसउपर निर्णय नआउन्जेल विद्यमान कार्यतालिका स्थगन गर्न माग गर्दै हामीले निर्वाचन आयोगमा निवेदन दिँदै छौँ।"
निर्वाचन आयोगको कार्यातालिका अनुसार कतिपय प्रमुख दलहरू उम्मेदवार चयन गर्न व्यस्त भइरहेका देउवा पक्षले यस्तो माग आयोग समक्ष राखेको हो।
मङ्गलवारका लागि तोकियो पेशी
सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने जिम्मा यसअघि उक्त पक्षले आफ्नोतर्फका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको थियो।
पूर्व महान्यायाधीवक्ता खम्मबहादुर खातीसहितको टोलीले तयार पारेको रिट निवेदन दर्ता गर्न काँग्रेसको विवादमा देउवा पक्षमा खुलेका कतिपय बरिष्ठ नेताहरू अदालत पुगेका थिए।
सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले बीबीसी न्यूज नेपालीसँग भने, "निवेदन दर्ता भएको छ। पेशी पर्सी मङ्गलवारका लागि तोकिएको छ।"
देउवा पक्षधर नेताहरू अदालतमा पुग्दा त्यसमा शेखर कोइराला वा उनी पक्षधर नेताहरू सहभागी थिएनन्। आइतवार उक्त पक्षले अलग्गै भेला राखेका विवरणहरू आएका छन्।
निर्वाचन आयोगले माघ ६ गते मङ्गलवारका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकेको छ। उक्त निवेदनबारे आयोगका तर्फबाट प्रतिक्रिया आइसकेको छैन।
अदालतमा दर्ता गरिएको निवेदनको प्रमाणित प्रतिलिपि लिएर आफूहरू आयोग गएको देउवा समूहका नेताहरूले बताएका छन्।
निर्वाचन आयोगले गतसाता नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई विधानअनुरूप भएको ठहर्याउँदै त्यसबाट निर्वाचित गगन थापाको नेतृत्वको कार्यसमितिलाई मान्यता प्रदान गरेको थियो।
त्यसलाई अस्वीकार गर्दै आएको शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले सर्वोच्च अदालतमा रिट दायरसँगै निर्वाचन आयोगमा पनि चुनावी कार्यक्रम स्थगन गर्न माग गर्न लागेको हो।
"अदालतलको फैसला नआउनजेल अहिलेको परिस्थितिमा हामीले निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन नसक्ने परिस्थिति भयो। त्यही भएर हामीले अदालतमा दर्ता गराएको निवेदनको प्रमाणित प्रतिलिपिसँगै कार्यतालिका स्थगन गर्न माग गरेका हौँ," विश्वकर्माले भने।
देउवा निवेदक रहेको रिटमा के छ
निर्वाचन आयोग, विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा सहित उक्त महाधिवेशनबाट निर्वाचन केन्द्रिय कार्यसमितिलाई विपक्षी बनाएर दर्ता गरिएको रिटमा देउवा सहित दुई जना निवेदक छन्।
नेता विश्वकर्माका अनुसार देउवा पक्षले निर्वाचन आयोगको निर्णयका कारण आफूहरूको संवैधानिक हक हनन भएको जिकिर रिट निवेदनमा गरिएको छ।
"पार्टीको विधान बमोजिम नियमित महाधिवेशनको कार्यतालिका देश तथा विदेशमा पनि चलिरहेको बेला विधानमै नभएको अधिकार प्रयोग गरेर केही नेताहरूले विशेष महाधिवेशनका नाममा निर्वाचन आयोगमा विवरण अद्यावधिक गराएको नै गैरकानुनी छ," विश्वकर्माले भने।
"तपाईँहरूको नाममा यस्तो आएको छ के हो जबाफ देऊ भनेर पठाउनु पर्नेमा हामीलाई केही पनि सूचना नै नदिई बिना सूचना एकलौटी निर्णय गरेको हुनाले हाम्रो दलको संवैधानिक कानुनी हक हनन भयो त्यसैले हाम्रो हक सुनिश्चित गरिपाऊँ भनेर निवेदन दिएका छौँ।"
फाल्गुन २१ गतेका लागि तोकिएको निर्वाचनका लागि ४६ दिन बाँकी हुँदा कांग्रेसभित्रको विवाद अदालतसम्म पुगेको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।