ग्रीनल्यान्डबारे युरोपेली देशलाई ट्रम्पको ताजा चेतावनी

    • Author, टोमस म्याकिन्टोस

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनल्यान्डमाथि नियन्त्रण कायम गर्ने आफ्नो मागको विरोध गर्ने युरोपेली देशहरूमाथि ट्यारिफ लगाउने धम्की "शतप्रतिशत" पूरा गर्ने बताएका छन्।

ग्रीनल्यान्डको सार्वभौमिकताप्रति युरोपेली साझेदार देशहरू एकजुट भएका छन्।

डेनमार्कका विदेशमन्त्रीले डेनिश अर्धस्वायत्त भूभागको स्वामित्व लिनका लागि ट्रम्पले धम्कीको सहारा लिन नहुने प्रतिक्रिया दिएका छन्।

यूकेका विदेशमन्त्रीले "ग्रीनल्यान्डका बासिन्दा र डेनमार्कका नागरिकले मात्र" ग्रीनल्यान्डको भविष्य निर्धारण गर्न पाउने धारणा दोहोर्‍याएका छन्।

बल प्रयोग गर्ने सम्भावना नरहेको कुरा अस्वीकार गर्दै सोमवार ट्रम्पले यूके र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका अरू सात सदस्य राष्ट्रहरूबाट अमेरिका आयात हुने सामानमा ट्यारिफ लगाउने योजना अगाडि बढाइने बताए।

युरोपलाई ट्रम्पको सुझाव

ग्रीनल्यान्डमाथि कब्जा गर्न के तपाईँ बल प्रयोग गर्नुहुन्छ भनी एनबीसी न्यूजको जिज्ञासामा उनले भनेः "यसबारे कुनै प्रतिक्रिया छैन।"

अमेरिकी राष्ट्रपतिले डेनमार्कसँग ग्रीनल्यान्ड खरिद गर्ने विषयमा सहमति नभएसम्म फेब्रुअरी १ तारिखदेखि ब्रिटेनबाट आउने "जुनसुकै र सबै सामानमा" १० प्रतिशत र जुन १ तारिखदेखि त्यसमा २५ प्रतिशत ट्यारिफ बढाउने बताएका छन्।

डेनमार्क, नर्वे, स्वीडन, फ्रान्स, जर्मनी, द नेदरल्यान्ड्स र फिनल्यान्डको हकमा पनि त्यही लागु हुने ट्रम्पले बताए। तिनीहरू सबै सन् १९४९ मा स्थापित नेटोका सदस्य हुन्।

के ट्यारिफसम्बन्धी तपाईँ आफ्नो धम्की पूरा गर्नुहुन्छ भनी जिज्ञासामा एनबीसी न्यूजसँग ट्रम्पले भनेः "शतप्रतिशत मैले गर्ने छु।"

"युरोपले रुस-युक्रेन युद्धमा ध्यान केन्द्रित गर्नुपर्छ। स्पष्ट रूपमा भन्नुपर्दा तपाईँले हेर्न सक्नुहुन्छ कि यसबाट उनीहरूले के पाएका छन्… युरोपले त्यसैमा ध्यान केन्द्रित गर्नुपर्छ- ग्रीनल्यान्डमाथि होइन," उनले अगाडि थपे।

ग्रीनल्यान्डमाथि अमेरिकी सैन्य कारबाही नेटोको अन्त्यको कारण बन्न सक्ने डेनमार्कले चेतावनी दिएको छ।

पछिल्ला दिनमा ग्रीनल्याडले युरोपली देशहरूको समर्थन प्राप्त गरिरहेको छ- गत साता कतिपय देशहरूले थोरै फौजहरू पनि पठाएका छन्, जसलाई साङ्केतिक कदमको रूपमा हेरिँदै छ।

त्यसपछि ट्रम्पले नेटोका आठवटा साझेदार मुलुकहरूमाथि ट्यारिफ लगाउने घोषणा गरे।

युरोपले 'देखाउनुपर्ने'

ट्यारिफको धम्की दिने कुरा "अगाडि बढ्नका लागि सही बाटो नभएको" भनी ट्रम्पलाई युरोपले देखाउनुपर्ने डेनिश विदेशमन्त्रीले बताएका छन्।

"हाम्रो लक्ष्मणरेखा छ, जसलाई नाघ्न सकिँदैन," स्काई न्यूजसँग उनले भने। "ग्रीनल्यान्डको स्वामित्वका निम्ति तपाईँ धम्की दिन सक्नुहुन्न। यो अवस्थालाई थप बिगार्ने मेरो कुनै मनशाय छैन।"

नेटोका महासचिव मार्क रुटले आर्कटिकको सुरक्षाबारे नेटोले डेनमार्क र ग्रीनल्यान्डसँग मिलेर काम गर्ने बताए।

ग्रीनल्यान्ड कब्जा गर्ने ट्रम्पको ताजा धम्कीप्रति कसरी प्रतिक्रिया जनाउने भन्ने विषयमा बिहीवार ब्रसल्समा युरोपेली सङ्घको एउटा आकस्मिक बैठक बस्न लागेको छ।

युरोपेली सङ्घकी विदेश नीति प्रमुख काया कालसले "लडाइँमा ईयूको कुनै रुचि नभएको" बताउँदै "आफूहरूको अडानमा कायम रहने" उल्लेख गरिन्।

"तर व्यापार धम्कीहरूले समस्याको समाधान निकाल्न सकिन्न," उनले अगाडि थपिन्। "सार्वभौमसत्ता व्यापारका लागि हुँदैन।"

यसैबीच, नर्थ अमेरिकन एरोस्पेस डिफेन्स कमान्ड (नोराड) ले ग्रीनल्यान्डस्थित बिटूफिक स्पेस बेसमा कैयौँ एअरक्राफ्टहरू पुग्न लागेको सोमवार घोषणा गरेको थियो।

संयुक्त अमेरिका-क्यानडा सैनिक प्रतिरक्षा सङ्गठनले नियमित अभ्यास भएको भन्दै त्यसबारे डेनमार्कसँग समन्वय गरिएको र ग्रीनल्यान्ड सरकारलाई समेत जानकारी गराइसकिएको जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।