क्षुद्रग्रहले पृथ्वीमा पानी र कार्बनयुक्त यौगिक ल्याइदिँदा जीवन उत्पत्ति भएको हुनसक्ने 'प्रमाण'

बेनु क्षुद्रग्रहको तस्बिर

तस्बिर स्रोत, NASA/Goddard/University of Arizona

तस्बिरको क्याप्शन, झन्डै ५०० मिटर चौडा बेनुक्षुद्र ग्रह चट्टानहरूले बनेको छ
    • Author, रेबेका मोरेल, विज्ञान सम्पादक र एलिसन फ्रान्सिस, वरिष्ठ विज्ञान पत्रकार
    • Role, बीबीसी न्यूज

बेनु नामक क्षुद्रग्रहबाट सङ्कलित नमुनामा जीवनका लागि अत्यावश्यक रासायनिक पदार्थ फेला परेको एउटा वैज्ञानिक विश्लेषणले देखाएको छ।

अन्तरिक्षमा विचरण गरिरहेको उक्त चट्टानबाट अमेरिकी अन्तरिक्ष निकाय नासाको एउटा यानले नमुना सङ्कलन गरेर ‍पृथ्वीमा ल्याएको थियो। उक्त नमुनामा विभिन्न खालका खनिज पदार्थ र कार्बनयुक्त हजारौँ यौगिकहरू फेला परेका छन्।

त्यस्ता यौगिकमा 'अमीनो एसिड' भनिने प्रोटीनका आधारभूत अणुहरू र 'न्यूक्लिओबेस' भनिने आनुवंशिक सूचना सङ्ग्रह गर्ने डीएनएका विभिन्न आधारभूत तत्त्वहरू छन्।

यद्यपि यसको अर्थ बेनु क्षुद्रग्रहमा कुनै कालखण्डमा जीव थियो भन्ने हैन। बरु अहिलेको परिणामले क्षुद्रग्रहहरूले अर्बौँ वर्षअघि पृथ्वीमा 'जीवन उत्पत्तिका लागि आवश्यक महत्त्वपूर्ण तत्त्व आपूर्ति गरेका थिए' भन्ने सिद्धान्तलाई बल प्रदान गरेको छ।

वैज्ञानिकहरू हाम्रो सौर्यमण्डलमा अन्यत्र पनि ती यौगिकहरू पुगेको हुन सक्ने ठान्छन्।

"हामीले यसबाट जे जान्न पायौँ त्यो अद्भुत छ," लन्डनस्थित न्याचरल हिस्ट्री म्यूजीअममा कार्यरत ब्रह्माण्डीय खनिजविद् प्राध्यापक सारा रसेलले भनिन्।

नासाले बेनु क्षुद्रग्रहबाट नमुना सङ्कलन गर्न पठाएको क्याप्स्यूलको तस्बिर

तस्बिर स्रोत, NASA/Erika Blumenfeld/Joseph Aebersold

तस्बिरको क्याप्शन, बेनु क्षुद्रग्रहबाट सङ्कलित धुलोको नमुनामा प्रचुर मात्रामा कार्बनिक यौगिकहरू भेटिएको छ

"यसले हाम्रो सृष्टिबारे बताउँदै छ। अनि यसले हामीलाई जीवन कहाँ उत्पन्न भयो भन्ने निकै ठूलो प्रश्नको उत्तर दिन सहयोग गरेको छ। जीवन कसरी आरम्भ भन्ने विषय जान्न कसलाई मन लाग्दैन र?"

'नेचर' जर्नलले बेनु क्षुद्रग्रहबाट सङ्कलित नमुनाको अध्ययनबारे दुइटा शोधपत्र प्रकाशित गरेको छ।

बेनु क्षुद्रग्रहबाट नमुना सङ्कलन गर्ने कामलाई नासाले गरेका निकै साहसपूर्ण अभियानमध्ये एक मानिन्छ।

पाँच सय मिटर चौडा उक्त क्षुद्रग्रहबाट नमुना सङ्कलन गर्न 'ओसाइरिस-रेक्स' नामक अन्तरिक्षयानमा एउटा यान्त्रिक हात जडान गरिएको थियो। झन्डै १२० ग्रामजति सङ्कलित नमुना एउटा क्याप्स्यूलमा बन्द गरेर उक्त अन्तरिक्षयान सन् २०२३ मा पृथ्वी फर्किएको थियो।

ओसाइरिस-रेक्सले ल्याएको "कालो धुलो" विश्वभरिका वैज्ञानिकहरूलाई वितरण गरिएको थियो। त्यति परिमाणको नमुना कसैलाई थोरै लाग्न सक्छ तर त्यो अहिले "खजाना" प्रमाणित भएको छ।

"धुलोको प्रत्येक कणले हामीलाई बेनुबारे नयाँ कुरा बताउँदै छ," अध्ययनमा संलग्न प्राध्यापक रसेलले भनिन्।

यूकेका वैज्ञानिकहरूको भागमा एक चम्चा धुलो परेको थियो।

बेनुको धुलोमा के छ

बेनुबाट सङ्कलित धुलोको परीक्षण गर्दा स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोपबाट देखिएको दृश्य

तस्बिर स्रोत, Natural History Museum/Tobias Salge

तस्बिरको क्याप्शन, स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोपले बेनुबाट सङ्कलित धुलोमा खनिज पदार्थ भएको पुष्टि गरेको छ

नयाँ अनुसन्धानले अन्तरिक्षको उक्त चट्टानमा नाइट्रोजन र कार्बन भएका यौगिकहरू प्रचुर मात्रामा रहेको देखाएको छ।

पृथ्वीमा भएका जीवहरूका शरीरमा हुने प्रोटीन बन्न चाहिने आधारभूत २० वटा अमीनो एसिडमध्ये १४ वटा र डीएनएका चारवटै आधारभूत अणु - एडनीन, ग्वानीन, साइटोसीन र थाइमीन - बेनुको धुलोमा पाइएको छ।

विभिन्न खनिज पदार्थ र लवणहरू पनि भेटिएको छ। तिनले उक्त क्षुद्रग्रहमा कुनै बेला पानी भएको सङ्केत गर्छन्। जीवरासायनिक प्रतिक्रियाका लागि महत्त्वपूर्ण अमोनिआ पनि भएको पुष्टि भएको छ।

यीमध्ये केही यौगिकहरू अन्तरिक्षबाट पहिला पनि पृथ्वीमा खसेका चट्टानमा फेला परेका थिए।

तर केही चाहिँ पहिलो पटक भेटिएको हो।

"यो निकै सम्पन्न छ। यसमा हामीले पहिला कुनै उल्कापिण्डमा नभेटेका खनिज पदार्थहरू प्रचुर मात्रामा छन्। यो अध्ययन निकै रोचक छ," प्राध्यापक रसेलले भनिन्।

बेनु क्षुद्रग्रहको तुलना

क्षुद्रग्रहले पृथ्वीमा पानी र कार्बनिक पदार्थ भित्र्याएको मान्यतालाई बल

यो अध्ययनले क्षुद्रग्रहहरूले पृथ्वीमा पानी र कार्बनिक पदार्थ भित्र्याएको मान्यतालाई बलियो देखाउने प्रमाण थपिदिएको छ।

"प्रारम्भिक सौर्यमण्डल निकै अस्थिर थियो र त्यहाँ बेनुजस्ता लाखौँ क्षुद्रग्रहहरू थिए," न्याचरल हिस्ट्री म्यूजीअममा कार्यरत डा एश्ली किङले भनिन्।

ती क्षुद्रग्रहहरू नवजात पृथ्वीमा बज्रिँदा समुद्रको उत्पत्तिका लागि आवश्यक तत्त्वहरू आइपुगेका अनि अन्ततः पृथ्वीमा जीव र वनस्पतिको सृष्टि सम्भव भएको ठानिन्छ।

क्षुद्रग्रहको नमुनासहित नासाको एउटा क्याप्स्यूलले अमेरिकी राज्य यूटाको वेस्ट डेजर्टमा अवतरण गरेको थियो

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, क्षुद्रग्रहको नमुनासहित नासाको एउटा क्याप्स्यूलले अमेरिकी राज्य यूटाको वेस्ट डेजर्टमा अवतरण गरेको थियो

तर अन्तरिक्षबाट चट्टानहरू पृथ्वीमा मात्रै खसेका थिएनन्। क्षुद्रग्रहहरू अरू ग्रहमा पनि बज्रिएका थिए।

"अहिलेसम्म यहाँ मात्रै जैविक संसार फेला परेकाले पृथ्वी अद्वितीय छ। तर हामीलाई क्षुद्रग्रहहरूले कार्बन र पानी सौर्यमण्डलभरि प्रसार गरेको कुरा थाहा छ," डा किङले भनिन्।

"अहिले हामीले बुझ्न खोजेको एउटा कुरा के हो भने उपयुक्त अवस्था हुँदा किन पृथ्वीमा जीवन छ अनि के सौर्यमण्डलमा अन्यत्र पनि जीवन फेला पर्न सक्छ?"

यो महत्त्वपूर्ण प्रश्नको उत्तर वैज्ञानिकहरूले खोजिरहने छन्। उनीहरूले बेनुबाट ल्याइएको नमुनाको अध्ययन र अन्तरिक्षको अन्वेषण लामो समयसम्म गर्ने छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।