तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तिरुपति मन्दिरको लड्डुमा ‘बोसो मिसाइएको’ दाबीपछि भारतमा राजनीतिक आरोपप्रत्यारोप
- Author, बल्ला सतीश
- Role, बीबीसी संवाददाता
भारतको आन्ध्रप्रदेशस्थित हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल तिरुपति मन्दिरको प्रसादका रूपमा दिइने लड्डुमा बोसो मिसाइएको भन्ने दाबी सार्वजनिक भएपछि त्यसले धेरैलाई स्तब्ध बनाएको छ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले यसअघिको सरकारका पालामा लड्डु बनाउन शुद्ध घिउको सट्टा जनावरको बोसो मिसिएको घिउ प्रयोग गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको थियो।
सत्तारुढ तेलुगु देशम पार्टी (टीडीपी)ले लगाएको आरोपको पूर्व मुख्यमन्त्री जगन मोहन रेड्डीको पार्टीले खण्डन गरेको छ।
त्यस विषयमा भारतको केन्द्रीय सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी ‘भाजपा’लगायत कैयौँ राजनीतिक दलहरूले प्रतिक्रिया जनाएका छन्।
मन्दिर प्रशासनले के भन्यो?
तिरुमला तिरुपति देवस्थानम ‘टीटीडी’का कार्यकारी अधिकृत श्यामला रावले मिसावटको पुष्टि गरेका छन्। तिरुमलामा प्रसादको लागि धेरैजसो घिउको प्रयोग गर्ने गरिएको छ।
यसअघि वनस्पति घिउ मात्रै मिसाइने पाइएको दाबी गरेका रावले पछिल्लो पत्रकार सम्मेलनमा बोसोको मात्रा पनि पाइएको बताएका हुन्।
आन्ध्र प्रदेशमा नयाँ सरकार गठनसँगै उनलाई मन्दिर व्यवस्थापन गर्ने कार्यालयको कार्यकारी अधिकृत बनाइएको थियो।
मन्दिर व्यवस्थापनको कार्यभार सम्हालेपछि मुख्यमन्त्रीसँगको भेटमा प्रसादको गुणस्तरबारे ध्यान दिन भनिएपछि आफूले त्यसबारे चासो राखेको उनले बताएका छन्।
मन्दिरमा घिउको आपूर्ति गर्दै आएका पाँच कम्पनीमध्ये एउटाको गुणस्तरबारे प्रश्न उठेपछि उक्त कम्पनीलाई कालोसूचीमा राखिएको रावले जानकारी दिएका छन्।
उनले उक्त कम्पनीलाई कानुनी कारबाही गर्नेबारे पनि परामर्श भइरहेको बताएका छन्।
तमिलनाडुको एआर डेरी फुड्स कम्पनीबाट मगाइएको १० ट्याङ्कर घिउमध्ये छ ट्याङ्कर घिउ प्रयोग भइसकेपछि चार ट्याङ्करको नमुना परीक्षणको प्रतिवेदनमा मिसावट देखिएपछि फिर्ता पठाइएको ती अधिकारीले बताएका छन्।
तर एआर डेयरी फुड्सले एक विज्ञप्ति जारी गर्दै शुद्ध घिउ दिइएको दाबी गरेको छ।
बोसो मिसाइएको भन्ने आधार के हो?
मन्दिर व्यवस्थापन गर्ने कार्यालय ‘टीटीडी’ले केही घिउको नमुना परीक्षणका लागि गुजरातको राष्ट्रिय दुग्ध विकास बोर्डको प्रयोगशालामा पठाएको थियो।
उक्त प्रयोगशालाको प्रतिवेदनमा घिउमा ‘एस भ्यालु’ कहिले बढी र कहिले कम देखिएको थियो। त्यसको विश्लेषणबाट बोसो मिसाइएको निष्कर्ष अधिकारीहरूले निकालेका थिए।
पाँच वटा मापदण्डका आधारमा गरिएका परीक्षणमध्ये सबै मापदण्डमा घिउको नमुनामा मिसावट रहेको देखिएको थियो। प्रयोगशालाले वनस्पतिको तेल र जनावरको बोसो दुवै मिसावट भएको प्रतिवेदन दिएको बताइएको छ।
बीबीसीले प्रयोगशाला प्रतिवेदन हेरेका दुई जना विश्लेषकहरूसँग कुरा गरेको छ। त्यसमध्ये एक जनाले नाम उल्लेख नगर्ने सर्तमा प्रतिवेदनका आधारमा घिउमा पाम आयल वा गाईको बोसोमध्ये के मिसाइएको हो भन्ने प्रस्ट नभएको बताए।
“आपूर्ति गर्ने कम्पनीसँग यति ठूलो मात्रामा गाईको दूध सङ्कलन गर्ने व्यवस्था छैन। यसबाहेक यसको मूल्य निकै कम छ। त्यसैले मिसावट भएको हुनुपर्छ। तर मिसावट के हो भन्न सकिन्न,” उनले भनेका छन्।
उनले सरकारी डेरी उत्पादकले त्यति सस्तो मूल्यमा घिउ उपलब्ध गराउन नसकिने जानकारी मन्दिर व्यवस्थापनलाई गराए पनि टीटीडीका तत्कालीन अध्यक्षले त्यसलाई बेवास्ता गरेको दाबी गरे।
अर्का विज्ञले उक्त प्रतिवेदनका आधारमा जनावरको बोसो मिसावट भएको हो वा होइन भन्न नसकिने बताए।
“भारतमा सामान्यत: घिउमा पाम आयल मिसाइन्छ। तर टीटीडीको हकमा के भयो म ठ्याक्कै भन्न सक्दिनँ,” उनले बीबीसीसँग भनेका छन्।
उनका अनुसार दुध दुहुने गाईलाई पाम आयल, कपासको तेल, रेपसीड आयल मिसाइएको आहारा दिइएको अवस्थामा त्यसको दूधबाट बनेको घिउमा यस्तो नतिजा देखिन सक्छ।
“यदि कुनै गाईलाई बढी पौष्टिक आहारा दिइन्छ वा कुपोषित छ भने त्यसको दूधमा पनि यी तत्त्वहरू पाइन्छन्,” उनले भनेका छन्।
गाइको दूधबाट कुनै विशेष तरिकाले कोलेस्ट्रोललाई हटाइयो भने पनि घिउको परीक्षण नतिजा यस्तो आउन सक्ने ती विज्ञको दाबी छ।
प्रतिवेदनमा परीक्षण नतिजा गलत पनि हुन सक्ने भनिएको छ।
यसअघि पनि मन्दिर व्यवस्थापनले गुणस्तर नपुगेको भन्दै कैयौँ ट्याङ्कर घिउ फिर्ता गरेको विवरण सार्वजनिक भएका छन्।
तर वर्तमान कार्यकारी अधिकृत श्यामला रावले यसअघि के आधारमा फिर्ता पठाइयो भन्ने आफूलाई थाहा नभएको बताए।
के कम मूल्य मूल कारण हो?
अघिल्लो सरकारले घिउ खरिदका लागि बोलपत्र आह्वान गर्दा प्रतिकिलो ३१९ भारतीय रुपैयाँका दरले गाईको घिउ उपलब्ध गराउने सहमति भएको थियो।
तर धेरै विज्ञहरूले यो मूल्यमा गाईको घिउ उपलब्ध गराउन नसकिने बताएका छन्।
अहिले टीटीडीले पनि यो कुरा स्वीकार गरेको छ। अहिले नन्दिनी कम्पनीले प्रतिकिलो ४७५ भारतीय रुपैयाँमा घिउ आपूर्ति गरिरहेको छ ।
यसबाहेक अन्य कम्पनीबाट पनि घिउ खरिद भइरहेको छ। सेप्टेम्बर ४ देखि टीटीडीले कर्नाटक दूध महासङ्घबाट घिउ खरिद गर्न सुरु गरेको छ।
श्यामला रावले थप सर्तहरू राखेर घिउ खरिद गर्नका लागि बोलपत्र आह्वान भइरहेको बताए।
प्रसादमा राजनीति
प्रसादको गुणस्तरलाई लिएर एकातिर भक्तजनको भावनामा ठेस पुगेको छ भने अर्कोतिर यस विषयमा राजनीति पनि सुरु भएको छ।
तिरुमला ट्रेड युनियनका नेता सैद मुरलीले यदि घिउको गुणस्तर राम्रो नहुँदा विगतमा पनि फिर्ता गरिएको भन्दै यो विषयलाई विपक्षीमाथि लाञ्छना लगाउन प्रयोग गर्न नहुने बताए
तेलुगु देशम पार्टीका नेता ओभी रमनले कर्नाटकबाहेक अन्य राज्यमा घिउ उपलब्ध गराउन पर्याप्त सङ्ख्यामा गाई नभएको बताए।
“दूरीका कारण पञ्जाबबाट पनि घिउ ल्याउन मुस्किल छ। कर्नाटक डेरी (नन्दिनी)बाट घिउ बन्द गरेर निजी कम्पनीबाट सस्तो मूल्यमा खरिद गर्दा समस्या सुरु भएको हो,” उनले भने।
मन्दिरमा घिउ आपूर्तिको ठेक्का पाउन डेरीसँग दुई लाख ५० हजार लिटर दूध प्रशोधन गर्ने क्षमता हुनुपर्छ।
अब टीटीडीले आफ्नै प्रयोगशाला बनाएर घिउको परीक्षण गर्ने बताएको छ।
पूर्व मुख्यमन्त्री जगनमोहन रेड्डीले अहिलेका मुख्यमन्त्री चन्द्रबाबु नायडूको १०० दिनको शासन राम्रो नभएका कारण ध्यान मोड्नका लागि उनले यो मुद्दा उठाएको आरोप गाएका छन्।
“टीटीडीको घिउ सङ्कलन गर्ने आफ्नै स्थापित विधि छ। उसले बिग्रेको घिउ फिर्ता गर्छ। त्यहाँ तीन पटक परीक्षण पछि मात्रै घिउ प्रयोग गरिन्छ। विगतमा पनि चन्द्रबाबुको कार्यकालमा १४–१५ ट्याङ्कर र हाम्रो कार्यकालमा १८ ट्याङ्कर घिउ फिर्ता गरेका छौँ। यो सामान्य प्रक्रिया हो," उनले भनेका छन्।
भाजपा, जनसेना, कांग्रेस लगायत प्रमुख दलका नेताहरूले घिउमा भएको दाबी गरिएको मिसावटको विषयमा विस्तृत अनुसन्धान गर्न माग गरेका छन्।
यसअघि पनि भएको थियो लड्डुबारे विवाद
सेप्टेम्बरको सुरुबाट लाड्डु लिन कुपन देखाउने व्यवस्था गरिएको छ।
सबैलाई एउटा लड्डु सित्तैमा दिइन्छ। त्यसबाहेक थप एउटा लड्डु लिन चाहनेले ५० रुपैयाँ भारु तिर्नुपर्छ।
मन्दिरमा भक्तजनका लागि ७,५०० सय वटा ठूला लड्डु र ३,५०० सय वडा बनाउने गरिन्छ।
सन् २००८ सम्म कसैले एउटा लड्डुबाहेक प्रसाद चाहियो भने २५ भारतीय रुपैयाँमा दुई वटा लड्डु दिइन्थ्यो। यसपछि मूल्य बढाएर ५० रुपैयाँ भारु पुर्याएपछि विवाद भएको थियो।
गत वर्ष लड्डु बनाउने मानिसहरू भर्तीका लागि निकालिएको सूचनामा ब्राह्मणहरूलाई मात्र लिइने सर्त राखिएपछि पनि विवाद भएको थियो।
इतिहासकार गोपी कृष्ण रेड्डीले लड्नु बनाउन कुनै जातिलाई निषेध गर्ने विगतमा अभ्यास नभएको बीबीसीसँग बताएका छन्।
यसअघि ईसाई र मुस्लिमहरू पनि मन्दिर व्यवस्थापन कार्यालयमा भएको र अझै पनि हुन सक्ने उनी ठान्छन्।
मन्दिर र लड्डुको इतिहास
शेषाचालम पर्वतमा अवस्थित तिरुमला तिरुपति देवस्थान विश्वको सबैभन्दा धनी तीर्थस्थल मध्ये एक हो। यो तीर्थयात्रा शेषाचालम पर्वतमा छ।
भगवान् बैङ्कटेश्वरको यो मन्दिर राजा तोन्डमनले बनाएका थिए। पछि चोल, पाण्ड्य र विजयनगरका राजाहरूले पनि यस मन्दिरका लागि योगदान पुर्याए।
मन्दिरको प्राणप्रतिष्ठा ११औँ शताब्दीमा रामानुजाचार्यले गरेका थिए।
यहाँ चढाइएको सुनको विषयमा प्राय: समाचारहरू आउने गरेका छन्। मन्दिरमा हरेक दिन औसतमा एक लाखभन्दा बढी भक्तजनहरूले पूजा र दान गर्ने गरेको बताइन्छ।
मन्दिरको दानपेटीमा लाखौँ रुपैयाँसहित गहना चढाउनेको कमी छैन।
भगवान् बैङ्कटेश्वरले पद्मावतीसँग विवाह गर्ने योजना बनाउँदा पैसाको अभाव भएकोले धनका देवता कुबेरकहाँ गएर एक करोड रुपैयाँ र एक करोड सुनको सिक्का मागेको धार्मिक मान्यता छ।
भगवान् बैङ्कटेश्वरसँग त्यो ऋण अझै पनि बाँकी रहेको र भक्तजनहरूले उदारतापूर्वक दान दिएर सो ऋणको ब्याज तिर्न सहयोग गर्ने गरेको विश्वास गरिन्छ।
तिरुमला मन्दिरमा हरेक वर्ष करिब एक टन सुन चढाइन्छ। मुख्य मन्दिर परिसर बलियो पर्खालले घेरिएको छ र मन्दिर भित्र फोटो खिच्न अनुमति छैन।
अहिले चर्चामा रहेका लड्डु मन्दिरको गोप्य भान्छामा तयार पारिन्छन्। यो भान्सालाई पोट्टु भनिन्छ।
तिरुमला तिरुपति देवस्थानमका अधिकारीहरूका अनुसार भक्तजनहरूलाई लड्डु, वडा, अप्पम, मनोहरम, जेरी जस्ता प्रसाद वितरण गरिन्छ।
यीमध्ये, लड्डु सबैभन्दा पुरानो र लोकप्रिय प्रसाद हो। प्रसादका रूपमा दिने चलन ३०० वर्षदेखि चलिआएको बताइन्छ।
सन् २००९ मा तिरुपति लड्डुलाई भौगोलिक सङ्केत दिइएको थियो। यहाँको लड्डु चना, मखन, चिनी, काजु, किसमिस र अलैँचीबाट बनाइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।