'संस्कृत व्याकरण लेखिएको' अर्घाखाँचीको पाणिनि 'उपेक्षामा'

    • Author, माधव नेपाल
    • Role, बुटवल

अर्घाखाँचीको एउटा डाँडामा बसेर ऋषि पाणिनिले संस्कृत भाषाको व्याकरण लेखेको विश्वास रहिआएको छ।

सोही कारणले महत्त्वपूर्ण मानिए पनि लुम्बिनी प्रदेशको पाणिनि तपोभूमि सरकारी उपेक्षामा परेको स्थानीयवासीको गुनासो रहँदै आएको छ।

शास्त्रीय भाषा संस्कृतका पिता पाणिनिको नाममा उक्त डाँडा र त्यहाँको गाउँपालिकाको नामकरण गरिए पनि अन्य महत्त्वपूर्ण काम ओझेलमा परेको उक्त गाउँपालिका पूर्वअध्यक्ष अच्युत गौतम बताउँछन्।

पाणिनि तपोभूमिलाई उनीहरू बुद्धले ज्ञान प्राप्त गरेको ठाउँसँग तुलना गर्छन्।

भारत बिहारस्थित बुद्धले ज्ञान प्राप्त गरेको ठाउँ मानिने बोधगयाको प्रसिद्धि, रौनक र व्यवस्थापन निकै लोभलाग्दो मानिन्छ, तर पाणिनिमा आधारभूत पूर्वाधार र अभिलेखकै महत्त्वपूर्ण काम हुन सकेको छैन।

इसापूर्व ५०० मा जन्मिएका विश्वास गरिने ऋषि पाणिनिले यस ठाउँको तत्कालीन घना जङ्गलमा गरेको साधनासँगै त्यस ठाउँको नाम उति बेलादेखि नै पणेना रहँदै आएको जनविश्वास छ।

अवस्था के छ?

हाल उक्त डाँडामा केही मन्दिर छन्। लुम्बिनी प्रदेश सरकारले बनाउँदा बनाउँदै छाडेको एउटा अधुरो सभा हलसमेत त्यहीँ छ।

त्यसबाहेक डाँडाको बीचमा निजी क्षेत्रबाट मर्मत गरिएको एउटा पोखरी पनि छ।

"यो ठाउँलाई संस्कृत भाषाको जन्मठाउँ नै भन्दा पनि हुन्छ," पाणिनि तपोभूमि व्यवस्थापन समितिका सचिव पुष्करनाथ पोखरेल भन्छन्।

"तर यति महत्त्वपूर्ण स्थानलाई नेपाल सरकारले चिन्न नै सकेन कि भन्ने लाग्छ।"

उनी भन्छन्, "यो ठाउँको महत्त्वका बारेमा प्रचारप्रसार गर्न सक्यौँ भने भारतको बोधगयामा जस्तै स्वदेशी तथा विदेशी पर्यटक तथा अध्येयताहरू आउने निकै सम्भावना रहन्छ।"

तर त्यहाँ पुग्नु नै सबैभन्दा सकस हुन्छ।

"अर्घाखाँची जिल्लातर्फबाट त्यहाँ पुग्ने बाटो निकै अप्ठेरो छ," त्यहाँबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद रामजी घिमिरे भन्छन्।

"बाटो निर्माणको लागि प्रयास गरिरहेका छौँ, तर सरकार परिवर्तनसँगै योजना पनि परिवर्तन हुँदा बाटो पनि बन्न सकेको छैन। सभा हलको काम पनि त्यत्तिकै रोकिएको छ ।"

स्वर्गद्वारी, रेसुङ्गाजस्ता धार्मिक-पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थानहरू आसपासमा रहेकाले समेत त्यस क्षेत्रलाई एकीकृत ढङ्गले विकास गर्न सकिने बताइने गरेको छ।

प्रयास के छ?

पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले उक्त ऐतिहासिक स्थलमा संस्कृत भाषाको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने प्रयास गरिरहेको बताउँछन्।

"तर सम्मेलन गर्न पुग्ने गरी हामीसँग बजेट हुँदैन, माथिल्ला सरकारले सहयोग गर्दैनन्," उनी भन्छन्।

"यो कुनै अर्घाखाँचीको प्रवर्द्धनको विषय होइन, अन्तर्राष्ट्रिय महत्त्वको राष्ट्रिय गौरवको स्थल हो।"

पाणिनिले त्यहाँ बसेर लेखेको ठानिने कृति 'अष्टाध्यायी'मा संस्कृत व्याकरणको व्याख्याका अतिरिक्त त्यो समयको समाजको पनि चित्रण गरिएकाले समेत त्यस स्थलको बहुआयामिक महत्त्व रहेको जानकारहरू बताउँछन्।

पछिल्लो समय सरकारी तवरबाटै संस्कृत भाषा उपेक्षामा परेकाले समेत यस्ता महत्त्वपूर्ण स्थानहरूको पहिचान हराउँदै गएको यससम्बन्धी विज्ञहरू बताउँछन्।

त्यस्तै ठान्नेमध्येकी एक हुन् पुराणकी ज्ञाता प्रियम्वदा काफ्ले।

"विद्यालयको पाठ्यक्रमबाट संस्कृत भाषा नै हटाएपछि नयाँ पुस्ताले यो भाषाको महत्त्वका बारेमा केही जान्न नै पाएका छैनन्," उनी भन्छिन्।

"जब संस्कृत भाषाको बारेमा नै नयाँ पुस्तालाई केही जानकारी छैन भने यो भाषाको व्याकरण कसले कहाँ बसेर लेख्यो भनेर जान्ने उत्सुकता कहाँबाट आउँछ?"

केही वर्ष अघिसम्म विद्यालय तहमा कक्षा ४ देखि संस्कृत भाषाको पढाइ हुने गरे पनि हाल संस्कृत भाषालाई नै मूल विषय बनाएर अध्यापन गराउने विद्यालयमा बाहेक अरू विद्यालयमा यो भाषाको पढाइ हुँदैन।

पुराणाचार्य काफ्ले संस्कृत भाषालाई सरकारले कक्षा १२ सम्म अनिवार्य विषयको रूपमा पढाउनुपर्ने तर्क गर्छिन्।

संस्कृत भाषाबाट पूर्वीय दर्शनका महत्त्वपूर्ण नीति-चरित्र समेटिएको बताउँदै उनी थप्छिन्, "मान्छे कस्तो बन्छ भनेर लक्षण देखाउने उमेर नै विद्यालय पढ्ने उमेर हो, त्यसबेला अनुशासन र ज्ञानका कुरा सिकाउन सकियो भने ऊ पछिसम्म पनि नैतिक चरित्रको हुन्छ।"

को हुन् पाणिनि?

हालको पाकिस्तान-अफगानिस्तान क्षेत्रमा पर्ने प्राचीन भारतको गान्धार क्षेत्रमा इसापूर्व ५०० ताका जन्मेका मानिने पाणिनिलाई संस्कृत भाषाका व्याकरणशास्त्री मानिन्छ। 

उनी गान्धारबाट एकान्त ठाउँ खोज्दै हालको पूर्वी अर्घाखाँचीको उक्त डाँडोमा पुगेको विभिन्न हिन्दू ग्रन्थहरूमा उल्लेख गरिएको बताइन्छ। 

त्यहीँ डाँडामा साधना गर्ने क्रममा उनले संस्कृत व्याकरणको ग्रन्थ "अष्टाध्यायी" लेखेको मानिँदै आएको बताइन्छ। 

उक्त ग्रन्थमा आठ अध्याय रहेका छन्। 

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।