लेसोथो : विश्‍वकै उच्च आत्महत्या दर भएको सानो अफ्रिकी देश

मेटलोहाङ मोलोईको घर
तस्बिरको क्याप्शन, मेटलोहाङ मोलोईका छोराले आत्महत्या गरेका थिए
    • Author, एन्ड्री लोम्बार्ड, लेसोथो
    • Role, बीबीसी फोकस अन अफ्रिका

मुख्य सडकबाट ठाडो उकालो चढेर गएपछि ७९ वर्षीया माटलोहाङ मोलोईको घर पुगिन्छ। यिनै डाँडाहरूले लेसोथोलाई उचाइमा अवस्थितमध्येको एउटा देश बनाएका हुन्।

यी दश सन्तानकी आमाले मलाई उनको सुग्घर घरमा स्वागत गरिन् र उनको विशाल परिवारको फोटो देखाइन्। म यहाँ विशेष गरी उनको पहिलो सन्तान त्लोहाङ बारे कुरा गर्न आएको हुँ।

अड्तीस वर्षको उमेरमा त्लोहाङ एउटा गम्भीर तथ्याङ्कको हिस्सा बने। आकाशमा अवस्थित मुलुक भनेर चिनिने लेसोथो विश्‍वकै उच्च आत्महत्या दर भएको देश हो।

"ऊ असल छोरा थियो। उसले मलाई उसको मानसिक संघर्षको बारेमा बताएको थियो", मोलोईले भनिन्।

"उसले आफ्नो ज्यान लिएको दिन पनि म भएको ठाउँमा आएर उसले 'आमा, एकदिन तपाईँले मैले आफ्नो ज्यान लिएको सुन्नुपर्नेछ' भनेको थियो।"

"उसको मृत्युले मलाई गहिरो चोट पुर्‍यायो। मनमा खेलिरहेका कुरा उसले अझ विस्तृतमा मलाई बताएको भए हुन्थ्यो भन्ने कामना गर्छु। अरुलाई भनेको खण्डमा मानिसहरूले उस्लाई आफ्नै समस्या हल गर्न नसक्ने कमजोर मान्छेका रूपमा बुझिदिने हो कि भनेर चिन्तित रहन्थ्यो।"

लोहाङको परिचयपत्र
तस्बिरको क्याप्शन, मेटलोहाङ मोलोईका छोरा लोहाङ जसले आफ्नो ज्यान लिए

विश्‍व स्वास्थ्य सङ्गठनका अनुसार लेसोथोको प्रत्येक एक लाख जनसङ्ख्यामध्ये वर्षेनि ८७.५ जनाले आत्महत्या गर्छन्।

आत्महत्याको दोस्रो उच्च दर रहेको गाइएनाको तुलनामा लेसोथोको दर दुईगुनाभन्दा पनि धेरै हो। गाइएनामा त्यही सङ्ख्या ४० भन्दा केही बढी छ।

लेसोथोको आत्महत्या दर विश्‍वको औसत दरभन्दा झण्डै १० गुनाले बढी हो। विश्वको औसत आत्महत्या दर प्रत्येक एक लाखमा नौ जनाको छ।

'हेल्प लेसोथो' जस्ता गैरसरकारी संस्थाहरू यहाँका युवाहरूलाई मानसिक स्वास्थ्य व्यवस्थापन गर्ने कौशल सिकाएर उक्त आँकडामा परिवर्तन ल्याउन प्रतिबद्ध छन्।

राजधानी मसेरुबाट दुई घण्टा गाडीमा यात्रा गरेपछि लोत्से बजार पुगिन्छ। म त्यहाँ सामाजिक कार्यकर्ता लिनेओ राफोकाले युवा उमेरका महिलाहरूका निम्ति नियमित रूपमा सञ्चालन गर्ने सामूहिक थेरापीमा सहभागी भएँ।

राजधानी मसेरुबाट दुई घण्टा गाडीमा यात्रा गरेपछि लोत्से बजार पुगिन्छ। म त्यहाँ सामाजिक कार्यकर्ता लिनेओ राफोकाले युवा उमेरका महिलाहरूका निम्ति नियमित रूपमा सञ्चालन गर्ने सामूहिक 'थेरापी' मा सहभागी भएँ।

"मानिसहरू यो हाम्रो अफ्रिकी सिद्धान्त, सांस्कृतिक अनुभव, आध्यात्मकिता र सामुदायीक मूल्यविरुद्ध भएको ठान्दछन्," चौबीस वर्षीया पेसेन्सले समूहमा कुरा राख्दै भनिन्।

"तर हामी त्यसो भइरहेको तथ्यबाट हच्किइरहेका छौँ। मैले मेरै तीनजना साथीहरूलाई आत्महत्याका कारण गुमाएको परिप्रेक्ष्यमा भन्दैछु। म स्वयंले पनि त्यसको कोसिस गरेकी थिएँ।"

सामाजिक कार्यकर्ता लिनेओ राफो
तस्बिरको क्याप्शन, लिनेओ राफोका त्यहाँ समूहगत थेरापी सञ्चालन गर्छिन्

पैँतीस वर्षीया एनत्सोआकी अस्पतालमा आफू बलात्कृत भएको घटना सुनाउँदै गर्दा भावुक भइन्।

"डाक्टरले मलाई तिमी असाध्यै आकर्षक छौ भन्यो। त्यसपछि बन्दुक निकाल्यो र मसँग आनन्द लिन मन लागेको बतायो। नमानेको भए मलाई त्यसले मारिदिन्थ्यो।"

"हरेकपल्ट मलाई आत्महत्या मात्रै समाधान हो भन्ने लागिराख्यो। तर मैले गर्न सकिँन। मसँग त्यत्रो हिम्मत थिएन। मेरा दाजुभाइको अनुहारको सम्झनाले मलाई अघि बढ्न अथवा जिउँदो राख्न सघायो। उनीहरू मलाई हिम्मतिली ठान्थे, तर म कमजोर थिएँ।"

आफ्नो अनुभव सुनाएकोमा सोआकी एनत्सोआकीलाई सहभागीहरूले हिम्मतिली भएको भन्दै आश्वस्त पारे।

'थेरापी' सकिएपछि महिलाहरू गफ्फिन र हाँस्न थाले। उनीहरूले आआफ्नो कथा सुनाएर सञ्चो महसुस भएको बताए।

मानिसहरूले आत्महत्या गर्नुको कारण प्राय: जटिल हुन्छ। त्यसको एउटै कारण यही हो भन्न मुस्किल पर्छ। तैपनि राफोका लेसोथोमा उच्च आत्महत्या दर देखिनुको पछाडि आफूले एउटा प्रवृत्ति देखेको बताउँछिन्।

"उनीहरूमध्ये धेरैजसो बलात्कार, बेरोजगारी र मृत्युका कारण पुगेको क्षतिजस्ता अवस्थाबाट गुज्रिएका हुन्छन्। तिनीहरू लागुऔषध र मदिराको सिकार बनेका हुन्छन्।"

सन् २०२२ को विश्व जनसङ्ख्या समीक्षा प्रतिवेदनका अनुसार लेसोथोका ८६ प्रतिशत महिलाले लैङ्गिक हिंसा व्यहोरेका छन्।

त्यस्तै लेसोथोका प्रत्येक पाँच युवामध्ये दुई जना बेरोजगार रहेको विश्‍व ब्याङ्क बताउँछ।

"उनीहरूले परिवार, साथीभाइ र आफ्नो सम्बन्ध रहेकाहरूबाट पर्याप्त सहायता पाइरहेका छैनन्," राफोका भन्छिन्।

यो लेसोथोमा प्राय: सुनिने कुरा हो। यहाँका मानिस अरुले के भन्ठान्लान् भनेर आफ्नो मानसिक स्वास्थ्यका बारेमा चर्चा गर्न नचाहेको बारम्बार बताउने गर्छन्।

एक साँझ म लोत्सेको एउटा बारमा बसिरहेको थिएँ। त्यहाँ पुरुष ग्राहकहरू स्थानीय बियर पिउन आउँछन् र राजनीति तथा फुटबलको कुरा गर्ने गर्छन्।

मैले कुराकानीलाई मानसिक स्वास्थ्यतर्फ मोडेँ।

"हामी यसबारे कुरा गर्छौँ नै। यस विषयमा खुलेरै कुरा गरौँ," खोसी एमपीटीले मसँग भने।

खोसी र उनका साथीहरूले बीबीसीसँग कुरा गरे
तस्बिरको क्याप्शन, खोसी एमपीटी(बायाँ) ले एकअर्कालाई सघाउनमा पुरुषहरू सक्रिय हुँदै गएको बताए

केही मानिस अरुसामू आफूले खुलेर कुरा गर्दा पछि तिनीहरूले आफ्नो कुरा काट्ने हुन् कि भनेर डराउँछन्। त्यसो हुँदाहुँदै पनि स्थिति सुध्रिँदै गएको छ।

"समूह (साथीहरूको) एकदमै सहयोगी भएकाले केही परेको खण्डमा म बताउँछु। अनि हामी एकअर्कालाई सहायता गर्छौँ।"

सहायता खोज्ने मानिसहरूले स्वयंमा सङ्घर्षरत् सार्वजनिक स्वास्थ्य प्रणालीको सामना गर्नुपर्ने हुन्छ।

गत वर्ष जनताले सेवा पाए नपाएको अनुगमन गर्ने भूमिकामा रहेका एकजना अधिकारीले देशको एउटैमात्र मनोरोग एकाइमा सन् २०१७ देखि मनोचिकित्सक नै नभएको भन्दै आलोचना गरेकी थिइन्।

उनलाई त्यहाँ व्यापक रूपमा हुने गरेको दुर्व्यवहारमाथि प्रकाश पार्दै त्यहाँको "मानवअधिकार विपरीत हुने प्रकृतिको बसोबासको अवस्थाको" चित्रण गरेकी थिइन्।

सङ्कटसँग जुध्न यसअघि राष्ट्रिय मानसिक स्वास्थ्य नितिसम्म पनि थिएन, भलै अक्टोबर २०२२ मा निर्वाचित भएको सरकारले त्यसको मस्यौदा बनाउने काम भइरहेको बताएको छ।

"मानसिक स्वास्थ्यले महामारीको रूप लिएको छ," स्वास्थ्यसम्बन्धी मामिला हेर्दै आएको संसदीय समितिको नेतृत्व गर्दै आएका सांसद मोखोथु मखालन्याने स्वीकार्छन्।

सांसद मखालन्यानी
तस्बिरको क्याप्शन, सांसद मखालन्यानी यो कलङ्कबाट उत्रिन सके ठूलो फरक पर्ने बताउँछन्

"हामी प्राथमिक र माध्यामिक विद्यालयदेखि लिएर युवाहरू भेला हुने फुटबल प्रतियोगिता जस्ता ठाउँहरूसम्म यससम्बन्धी सघन प्रचारप्रसार भएको सुनिश्चित गर्न चाहन्छौँ," उनले बीबीसीसँग भने।

"उपचार सम्बन्ध नीति पनि विशिष्ट हुनेछ र प्रभावितहरूलाई पुनर्स्थापनाका निम्ति जान सहज हुनेछ।"

लेसोथोले एचआईभी/एड्सविरुद्धको स्वयंको लडाईँबाट पनि सिक्न सक्ने उनी बताउँछन्।

सन् २०१६ मा "परीक्षण र उपचार" रणनीति ल्याउने यो पहिलो देश बनेको थियो। उक्त रणनीतिअन्तर्गत निदान हुनेबित्तिकै प्रभावितले उपचार सुरु गर्न पाइहाल्थे। उक्त कार्यक्रमका कारण संक्रमणको दर निरन्तर घट्न पुगेको थियो।

"हाम्रो अनुभवले खुला छलफल तथा प्रभावितलाई दोषारोपण वा आलोचना नगर्ने कार्यले स्थितिलाई मूलभूत रूपमा बदल्न मद्दत गर्ने देखाएको छ।"

फेरि पहाडतर्फै फर्कौँ।

मोलोई आफ्नो छोरा लोहाङको चिहानमा पुग्न केहीबेरको पैदल यात्रा तय गर्छिन्।

उनलाई समाधिस्थ गरिएको स्थान नजिकै खोला, हरियाली र ससाना घरहरू छन् र असाध्यै सुन्दर देखिन्छ।

छोराको चिहानमा मोलोई
तस्बिरको क्याप्शन, मोलोईको छोराको चिहान घरबाट एकैछिन हिँडेर पुगिने स्थानमा छ

मोलोई आत्महत्याका कारण सिर्जित शोकसँग जुधिरहेका लेसेथोका कैयौँ बासिन्दामध्येकी एक हुन्।

हामीले उक्त सुन्दर दृष्य हेरिरहँदा मोलोईले आफ्नो छोराको जस्तै मनोदशा भएकाहरूका निम्ति आफ्नो एउटा सन्देश भएको बताइन्।

"म उनीहरूलाई आफ्नै ज्यान लिने कार्य कदापि समाधान होइन भन्न चाहन्छु। त्यसको साटो आफ्ना वरिपरीका मानिसहरूसँग कुरा गरियो भने उनीहरूले तपाईँलाई मद्दत गर्न सक्छन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।