तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जब चिडियाखानामा भालुको भेषमा मान्छे बसेको हल्ला फैलियो
पूर्वी चीनस्थित एउटा चिडियाखानाले जनावरको भेषमा मान्छे नराखिएको र आफूकहाँ सक्कली भालुहरू नै भएको बताएको छ। खाङ्जो चिडियाखानामा मान्छेले जसरी दुई खुट्टा टेकेर उभिएको देखिने एउटा जीवको भिडिओ भाइरल भएपछि उसले त्यस्तो स्पष्टीकरण दिएको हो।
उक्त चिडियाखानाले 'सन बेअर' जातको भालुबारे मानिसहरूलाई "पर्याप्त जानकारी नभएको" जनाएको छ।
त्यसअघि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले चिडियाखानामा भालुको भेषमा मान्छे राखिएको हुनसक्ने आशङ्का व्यक्त गरेका थिए।
'सन बेअर' संसारकै सबैभन्दा साना प्रजातिको भालु हो। खाङ्जो चिडियाखानाका अनुसार उक्त जातको भालु ठूलो कुकुरजत्रो मात्र हुन्छ।
यो प्रजातिका भालुहरू सङ्कटापन्न छन्। ती मूलतः दक्षिणपूर्वी एशियाका वर्षावनमा बस्छन्।
आशङ्का किन?
सामाजिक सञ्जालमा प्रेषित भिडिओमा सन बेअर आफ्नो खोरको एउटा कुनामा सीधा उभिएको र उसले हत्केला खोलेर आगन्तुकहरूतिर हेरिरहेको देखिन्छ।
सामाजिक सञ्जालमा मानिसहरूले पातलो खुट्टा हुने त्यो भालुले कसरी त्यति सीधा उभिन सक्यो भनेर प्रश्न गरेका छन्। उनीहरूले त्यसको पुट्ठामा देखिएको छालाको थैलोजस्तो आकृतिबारे पनि प्रश्न गरेका थिए। कतै त्यो भालुजस्तो देखिन बनाइएको भद्दा आवरण पो हो कि भन्ने उनीहरूको शङ्का थियो।
एन्जेला नामक उक्त पोथी भालुको दृष्टिकोणबाट लेखिएको खाङ्जो चिडियाखानाको पोस्टमा भनिएको छ: "केही मानिसहरूलाई म मान्छे जसरी उभिन्छु भन्ने लाग्छ...। तपाईँहरूले मलाई राम्रोसँग बुझ्नुभएको छैन जस्तो छ।"
"भालुको सन्दर्भमा मस्तिष्कमा आउने पहिलो कुरा ठूलो शरीर र अद्भुत शक्ति हो ... तर सबै भालुहरू भीमकाय र खतरनाक हुँदैनन्।"
उक्त चिडियाखानाले सन बेअर "सानो शरीर भएको, संसारको सबैभन्दा सानो भालु" रहेकोमा जोड दिएको छ।
खाङ्जो जूको पोस्टमा लेखिएअनुसार ती भालुहरू आफ्नो पछाडिको खुट्टाका भरमा उभिँदा सरदर १.३ मिटर अग्ला हुन्छन्।
अर्थात् ती जीव उत्तर अमेरिकाका रैथाने खैरो भालुभन्दा आधाजति होचा हुन्छन्।
उक्त चिडियाखानाका एक कर्मचारीले एपी समाचारसंस्थालाई टेलिफोनमा बताएअनुसार सोमवार पत्रकारहरूलाई उक्त भालु हेर्ने व्यवस्था मिलाइएको थियो।
चेस्टर चिडियाखानाका एक विज्ञ डा एश्ले मार्शल उक्त भिडिओमा देखिएको जनावर "निश्चित रूपमा एउटा वास्तविक भालु" भएको बताउँछिन्।
उनी सन बेअर प्राय: "लुगा लगाएका मानिसहरूजस्तो" देखिने कुरा स्वीकार गर्छिन्।
बीबीसीको पीएम कार्यक्रममा उक्त भालुको पुट्ठाको छालाको स्वरूपबारे सोधिँदा उनले त्यो उसको शारीरिक संरचनाको सामान्य तर निकै महत्त्वपूर्ण पक्ष रहेको बताइन्।
उनका अनुसार छालाका त्यस्ता लर्कनले ती भालुलाई सिकारीहरूबाट जोगिन सघाउँछ।
"बाघजस्ता ठूला जनावरले समाते भने ती भालुले फुर्तिलो भएर पछाडि फर्किन र प्रतिकार गर्न सक्छन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।