वर्षाले खेल रद्द भएपछि नेपाल सोझै फाइनलमा

- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
वर्षाले पटक पटक बिथोलेको खेल अन्ततः रद्द भएपछि नेपाल एसीसी प्रिमिअर कपको फाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताको नियम अनुसार दोस्रो इनिङ्समा २० ओभर ब्याटिङ गरेमात्र डर्क वर्थ लुइस (डीएलए) प्रणालीबाट खेलको निर्णय हुन्थ्यो। २० ओभर नपुगे खेल रद्द हुन्थ्यो।
त्यो अवस्थामा सुपर ओभर खेलाएर नतिजा निकालिने नियम छ। तर सुपर ओभर पनि हुन नसक्ने अवस्था आएपछि नेपाल समूह विजेताका हैसियतमा स्वत: फाइनलमा पुगेको हो।
कीर्तिपुर क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा २८१ रन बनाएको थियो। तर कुवेतले ८.३ ओभर ब्याटिङ गर्दा तेस्रो पटक वर्षाले खेल अवरुद्ध भयो।
त्यतिबेला साँझको सवा चार बजिसकेको थियो र वर्षा रोकिने सम्भावना देखिएको थिएन।
यस्तोमा सुपर ओभरको खेल सञ्चालन हुने सम्भावना पनि नदेखिएपछि म्याच रेफ्रीले नेपाललाई विजयी घोषणा गरे। जससँगै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।



त्यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको अर्को सेमिफाइनलमा ओमानलाई डर्क वर्थ लुइस (डीएल) प्रणालीको आधारमा पराजित गर्दै यूएई फाइनलमा प्रवेश गरेको छ।
यूएईले ओमानलाई २ रनले पराजित गरेको हो। अब सोमवार नेपाल र यूएईबीच फाइनल खेल हुनेछ।
तेस्रो स्थानका लागि भने आइतवार कुवेत र ओमानबीच प्रतिस्पर्धा हुँदैछ।
इमर्जिङ टिम्स एसिया कपमा समेत छनौट
सेमिफाइनलमा पाएको जितसँगै नेपाल इमर्जिङ टिम्स एसिया कपका लागि छानिएको छ।
फाइनल जित्न सके नेपालले इतिहासमा पहिलो पटक भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप क्रिकेट प्रतियोगिता खेल्नेछ।
प्रतियोगिताको शीर्ष ३ भित्र रहने टोलीले इमर्जिङ टिम्स एसिया कप खेल्ने तथा विजेता एसिया कपमा छनोट हुने प्रावधान छ।
वर्षाले बाधा
वर्षा हुने पूर्वानुमानका बिच शनिवारको खेल प्रभावित हुने पहिल्यै अनुमान गरिएको थियो।
नेपालले ब्याटिङ गर्दै १४१ रन बनाएर खेलिरहेको अवस्थामा कीर्तिपुरमा हलुका वर्षा भयो र खेल अवरुद्ध हुन पुग्यो। त्यतिबेला नेपालले २३.२ ओभरमा ३ खेलाडी गुमाएर खेलिरहेको थियो।
दिउँसो सवा ११ मा छोटो समयको लागि परेको हलुका वर्षापछि छिट्टै नै खेल सुरु हुने अनुमान गरियो।
सोही अनुरूप आधा घण्टापछि पिचको कभर हटाइयो र ५/५ ओभरको खेल घटाएर रेफ्रीले खेल अपराह्न १२ बजे सुरु गर्ने निर्णय गरेका थिए।
तर पानी फेरी पर्न थालेपछि योजना अनुरुप खेल सञ्चालन भने हुन सकेन। र पुन: थप ३ ओभर घटाएर १ बजे मात्र ४२ ओभरका लागि खेल सुरु गरिएको थियो।


नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा ९४ रन तथा कुशल मल्लले ५७ रनको अर्ध शतकीय पारी खेलेका थिए।
जवाफी ब्याटिङमा आएको कुवेतका खेलाडीहरूले नेपालको तेज बलरको सामना गर्न सकेनन्।
नवौं ओभरको खेल चलिरहँदा पुन: वर्षा भयो। त्यतिबेलासम्म कुवेत ६ विकेटको क्षतिमा ३७ रनको कमजोर अवस्थामा थियो।
जसक्रममा करण केसीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका थिए।
तर यी उपलब्धिहरू गणना हुने छैनन्।








