नेपालले कतारलाई हरायो, सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन

क्रिकेट

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

सहज हुने अपेक्षा गरिएको तर निकै चुनौतीपूर्ण बनेको एउटा खेलमा नेपालले बिहीवार कतारलाई पराजित गरेको छ।

एसीसी प्रिमिअर कपअन्तर्गत लीग चरणको अन्तिम खेल जितेसँगै नेपाल समूह 'ए'को शीर्ष स्थानमा पुगेको छ। यसअघि नै नेपालले सेमिफाइनलमा प्रवेश पाइसकेको थियो।

टस हारेर सुरुमा ब्याटिङ गर्ने निम्तो पाएको नेपालले ४०.३ ओभरमा अलआउट भएर १५७ रन बनाएको थियो।

तर सन्दीप लामिछानेको उत्कृष्ट ब्याटिङ र बलिङको सहयोगमा नेपालले कतारलाई ८९ रनमै सीमित गरेर खेलको परिणाम आफ्नो पक्षमा पार्‍यो।

लामिछानेले पाँच विकेट लिए भने ४२ रन बनाए।

नेपालले सेमिफाइनलमा अब कुवेतसँग खेल्नेछ भने अर्को सेमिफाइनलमा यूएई र ओमान भिड्नेछन्।

बिहीवार नै मूलपानी रङ्गशालामा कुवेत र हङ्‌कङबीच भएको अर्को खेल कुवेतले जितेको छ।

लाइन
लाइन

चम्किए सन्दीप लामिछाने

सन्दीप लामिछाने

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, सन्दीप लामिछानेले आफ्नो खेलजीवनमै उत्कृष्ट ब्याटिङ गरेका छन्

सन्दीप लामिछाने बलिङ र ब्याटिङ दुवैमा चम्किएपछि १५८ रनको सामान्य लक्ष्य लिएर मैदानमा ओर्लिएको कतारलाई नेपालले १०० रन पनि पुर्‍याउन दिएन।

कीर्तिपुर मैदानमा भएको 'लो स्कोरिङ' खेलमा कतारलाई ८९ रनमा नै रोक्ने क्रममा लामिछाने, सोमपाल कामी र ललितनारायण राजवंशीले महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

लामिछानेले पाँच, कामीले तीन तथा राजवंशीले दुई विकेट लिए।

लेग स्पिनर लामिछानेले आफ्नो खेलजीवनकै उत्कृष्ट ब्याटिङ गरेर नेपालको इज्जत जोगाउन सफल भए।

लामिछानेको यो उच्च अन्तर्राष्ट्रिय प्रदर्शन पनि हो। यसअघि उनले सर्वाधिक ३९ रन बनाएका थिए।

लाइन
लाइन

कीर्तिपुरमा अन्तिम विकेटका लागि ललितनारायण राजवंशीसँग मिलेर गरेको ब्याटिङ सङ्घर्ष हेर्न लायकको थियो।

ब्याटिङमा यसअघि कमजोर देखिएका राजवंशीलाई सक्दो कम क्रीज दिएर यी दुईले सल्लाह गर्दै खेललाई अगाडि बढाएका थिए।

नेपाल १११-९ को अवस्थामा हुँदा ब्याटिङ गरेका यी दुई खेलाडीले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए।

राजवंशीले १७ बलको सामना गरे र १ रन जोडेका थिए।

नेपालको कमजोर ब्याटिङ

नेपाली क्रिकेट खेलाडी

तस्बिर स्रोत, CAN

बिहीवारको खेललाई लिएर धेरै समयपछि नेपालको ब्याटिङ समस्यामा परेको देखिएको टिप्पणी भइरहेको छ।

यो खेलमा नेपाली ब्याटिङ अनियन्त्रित हुने पुरानो रोग टोलीमा फर्किएको जस्तो देखिएको छ।

पछिल्लो समय ब्याटिङ पिचको रूपमा परिचित हुन थालेको कीर्तिपुर क्रिकेट मैदानमा बिहीवार भने नेपालले एकदमै सङ्घर्ष गर्नुपर्‍यो।

कीर्तिपुरको बिहानीको मौसम थोरै ओसिलो थियो। कतारी बलरहरूले त्यसको लाभ उठाए।

दोस्रो ओभरबाट विकेट खस्न थालेको थियो र त्यो क्रम अलआउट नभएसम्म जारी रह्यो।

रेड लाइन
रेड लाइन

पछिल्ला खेलहरूमा लगातार जम्न असफल हुँदै आएका ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा दुई रन बनाउँदै आउट भए।

त्यसपछि आएका भीम सार्की चौथो ओभरमा एज लागेर विकेटकिपरद्वारा समातिए। उनले छ रन बनाए।

एकपछि अर्को विकेट खस्ने क्रममा आउट हुने पालो अर्का ओपनर आसिफ शेखको थियो। उनी १३ औँ ओभरमा १९ रन बनाएर आउट भए।

सत्ताइस बल खेलेका उनले दुई चौका प्रहार गरेका थिए।

कप्तान रोहित पौडेलले त्यसपछि इनिङ्स सम्हाल्ने प्रयास गरे। तर उनी पनि २७ रनमा आउट हुन पुगे।

प्रशिक्षक मोन्टी देशाईले आसिफ शेख आउट भएपछि अचानक ब्याटिङ अर्डरमा परिवर्तन गर्दै सोमपाल कामीलाई पठाएका थिए। तर कामी पनि ११ रन बनाउँदा क्याच आउटको सिकार हुन पुगे।

ओमानविरुद्ध शतकीय इनिङ्स खेलेका कुशल मल्ल धेरै टिक्न सकेनन्। एक खेलाडी क्रीजमा जम्न निकै आवश्यक भएको बेला मल्ल पनि तीन रनमै 'कट एन्ड बोल्ड' हुन पुगेका थिए।

एक्काइस ओभर पुग्दा नेपालले छ खेलाडी गुमाइसकेको थियो भने स्कोरबोर्डमा मात्र ८४ रन बनेको थियो।

यस्तो बेला धरमराएको नेपाली ब्याटिङ सम्हाल्ने जिम्मा दीपेन्द्र सिंह ऐरी र आरिफ शेखको काँधमा आयो। यी दुईले सातौँ विकेटका लागि १८ रनको साझेदारी पनि गरे।

तर आरिफ शेख २७ औँ ओभरमा ११ रन बनाएर आउट हुन पुगे भने ऐरी पनि १२ रन बनाएर फर्किन पुगे।

यसबीचमा ऐरी र कतारी बलर आमिर फारुखबीच केही बेर मुखामुख पनि चलेको थियो।