हमासको आक्रमणमा मारिएका नेपालीको शव ‘इजरेलले नेपालसम्म ल्याइदिने’

तस्बिर स्रोत, Bikram Niraula
इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणमा परेर ज्यान गएका १० जनामध्ये पाँचजना नेपाली विद्यार्थीको शव “यसै साताभित्र नेपाल आइपुग्ने” अधिकारीहरूले बताएका छन्।
इजरेलमा मारिएका विद्यार्थीका आफन्तले चाहिँ शव ल्याउन ढिलाइ गरिँदा आफूहरूलाई "थप पीडा भएको" बताएका छन्।
परराष्ट्रमन्त्रीका अनुसार इजरेल सरकारले नै नेपालीहरूको शव काठमाण्डू ल्याइदिने भएको छ, त्यस सम्बन्धी इजरेली नियम अनुसार प्रक्रिया चलिरहेको छ।
बीबीसी नेपालीसँगको कुराकानीमा परराष्ट्रमन्त्री एनपी साउदले बुधवार भने, “मृतक १० जनामध्ये पहिचान भएका पाँच जनाको शव प्राप्त भएको छ। अब चाँडै ती शव नेपाल ल्याइँदै छन्।”
“इजरेल सरकारसँगको सम्झौता अनुसार लर्न एन्ड अर्न कार्यक्रममा गएका ती विद्यार्थीको शव इजरेल सरकारले नै नेपालसम्म ल्याइदिने भएको छ।”
यसअघि मङ्गलवार इजरेलस्थित नेपाली राजदूतावासले एउटा वक्तव्य निकाल्दै पहिचान भएका शवहरूको प्रक्रिया पूरा गरेर दुई-तीन दिनभित्रै नेपाल पठाइने जनाएको थियो।

तस्बिर स्रोत, Ambassador of Nepal to India
लास कुर्दै मृतकका आफन्त

इजरेलमा हमासको आक्रमणमा परेर सल्यानका प्रवेश भण्डारीले पनि ज्यान गुमाएका थिए।
उनकी आमा चण्डिकाले सुर्खेतस्थित हाम्रा संवाददाता प्रकाश पन्तसँग भनिन्, “लास सकेसम्म छिटो ल्याइदिएको भए हुन्थ्यो। दु:ख पनि बिर्सँदै गइन्थ्यो होला। हामीले दाहसंस्कार पनि गर्न पाउथ्यौँ।”
“सबैले प्रयास गरिरहेका छौँ मात्र भन्छन् तर कहिलेसम्म छोराको लास आउँछ भन्ने जानकारी दिन कोही पनि सरकारका मान्छे आएका छैनन्।”
“सरकारले जतिसक्दो चाँडो लास ल्याइदिए हुन्थ्यो। सास नभए लासै भए पनि हेर्न पाए हुन्थ्यो।”
विपीन जोशीको खोजीका लागि पहल
बीबीसीसँगको कुराकानीमा मन्त्री साउदले उक्त हमलामा बेपत्ता भएका विद्यार्थी विपीन जोशीको खोजीका लागि पनि सबैखाले कूटनीतिक पहल भइरहेको बताएका छन्।
उनले भने, “हामीले बेपत्ता नेपाली विद्यार्थीको खोजीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छौँ। आवश्यक सबैखाले पहल पनि गरिसकेका छौँ। हामीलाई आशा छ चाँडै उहाँको अवस्था पत्ता लाग्नेछ।”
यसअघि गत सोमवार साउदले जोशीको खोजीका लागि पहल गरिदिन कतारका विदेश राज्यमन्त्रीलाई आग्रह गरेको जनाइएको थियो।
उनले उनको खोजीका लागि पहल गरिदिन अन्य अरब देशका निकायहरूसँग पनि नेपालले कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिएका छन्।
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत विद्यार्थीहरू इजरेल र नेपाल सरकारबीचको सम्झौता अनुसार विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गाजाको सीमा नजिकै कार्यरत थिए।
त्यहाँ एउटा कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा मारिएका थिए भने चार जना घाइते र जोशी बेपत्ता भएका थिए। अन्य दुईजना भने सकुशल रहेका थिए।
जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए।
पछि उनलाई हमासका लडाकुहरूले लिएर गएको भन्ने विवरण पनि आएका भए पनि त्यसलाई पुष्टि गर्ने आधार फेला नपारिएको इजरेलस्थित नेपाली दूतावासले जनाएको छ।
थप नेपालीहरू स्वदेश फर्किए

तस्बिर स्रोत, Ambassador of Nepal to India
इजरेल र प्यालेस्टिनी लडाकु समूह हमास बीचको तनावका कारण इजरेलमा अलपत्र परेका नेपाली विद्यार्थीलाई परराष्ट्रमन्त्री साउदको नेतृत्वमा गएको टोलीले गत साता उद्धार गरेर नेपाल ल्याएको थियो।
नेपाल वायु सेवा निगमको चार्टर गरिएको विमानमा गत शुक्रवार बिहान सबेरै २५३ नेपाली विद्यार्थीलाई नेपाल ल्याइएको थियो।
त्यस बेला स्वदेश फर्कन चाहने अन्यलाई पनि चाँडै ल्याउने पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो।
सोही प्रतिबद्धता अनुसार मङ्गलवार थप १८ जना नेपालीहरूलाई स्वदेश फर्काइएको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ।

मङ्गलवार दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, “आज १८ जना नेपालीहरू इजरेलबाट नेपालका लागि प्रस्थान गरेका छन्। फर्कनेहरूमा चार जना विद्यार्थी, १३ जना कामदार र एक जना पर्यटक भिसामा आएकाहरू छन्।“
“उनीहरूलाई तेल अभिभस्थित भारतीय दूतावाससँगको समन्वयमा भारतको राजधानी नयाँ दिल्लीसम्म र त्यहाँबाट नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहयोगमा नेपालसम्म पुर्याउने गरी व्यवस्था गरिएको छ।“
मङ्गलवार दिल्ली आइपुगेका नेपालीहरूलाई त्यहाँबाट पनि स्वदेश फर्काइएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासबाट प्राप्त जानकारी भन्दै परराष्ट्रमन्त्रीको सचिवालयले भनेको छ, “इजरेलबाट भारतीय विमान मार्फत उद्धार गरिएका १८ जना नेपाली नागरिकलाई नेपाल पठाउनका लागि बसको व्यवस्था गरिएको थियो।“
“सात जनालाई रिजर्भ गरेको बसबाट कञ्चनपुर पठायौँ। आठ जनाले काठमाण्डूका लागि आफ्नै टिकट काट्नुभयो र दुई जना आफ्नै तरिकाले जान्छु भनेर जानु भयो भने एकजना आफन्त छन् भनेर मुम्बई जानु भयो।”

तस्बिर स्रोत, Ambassador of Nepal to India
स्वदेश फर्किएका के भन्छन्?
इजरेलबाट भारतहुँदै नेपाल फर्किएकाहरूले आफ्नै देशमा आउन पाउँदा खुसी लागेको बताएको राससले उल्लेख गरेको छ।
रासससँगको कुराकानीमा काठमाण्डू टोखाकी श्रीता गुरुङले भनिन्, “अहिलेको जस्तो तहसनहस हुने घटना कहिल्यै भएको थिएन। सानोसानो भइरहेको हुन्थ्यो।”
“घटनापछि डर लाग्यो। सुरक्षित महसुस गर्न सकिएन। त्यसैले स्वदेश फर्किएँ। यहाँ आएपछि निकै खुसी लागेको छ।”
उनी १४ वर्षदेखि इजरेलमा कार्यरत रहेकी थिइन्। मङ्गलवार दिल्ली आइपुगेका उनीसहित सात जना पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै स्वदेश फर्किएका हुन्।
इजरेलमा कति नेपाली छन्

तस्बिर स्रोत, EMBASSY OF NEPAL ISRAEL
नेपालको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार अहिले इजरेलमा ४,५०० नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन्।
त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएका थिए।
त्यसमध्ये २५३ जनालाई स्वदेश फर्काइएको छ भने १० जनाको निधन भएको छ। त्यस्तै घाइते भएका दुई जना हाल इजरेलमै उपचाररत रहेको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ।
यद्यपि इजरेलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरेलमा कार्यरत नेपालीहरू पनि रहेको बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








