त्रिविको 'आनाकानी'ले कीर्तिपुर रङ्गशालाको सम्झौता अन्योलमा, क्यानले माग्यो तल्लो मुलपानी

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट सङ्घ (क्यान) बीचको कीर्तिपुर क्रिकेट मैदान उपभोग गर्ने २५ वर्षको सम्झौता आगामी वैशाख १ गतेबाट टुङ्गिँदै छ।
यहिबेला त्रिभुवन विश्वविद्यालयले सम्झौता नवीकरण गर्न नचाहेको चर्चा चुलिएको छ। विशेषतः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालय मूलतः पढाइको लागि हुने र क्रिकेटले गर्दा त्यसमा असर परेको भन्दै विकल्प खोज्न भनेपछि उक्त चर्चा चुलिएको देखिन्छ।
क्यानले डेढ वर्ष अगाडि नै प्रक्रिया सुरु भए पनि अहिलेसम्म नवीकरण हुन नसकेको जनाएको छ।
सरकारले भर्खरैमात्र झन्डै एक अर्ब रुपैयाँ खर्च गरेर १० हजार क्षमताको सिट र फ्लडलाइट जडान गर्दै रङ्शालाको स्तरोन्नति गरेका बेला चलेको यो चर्चाले क्रिकेट समर्थकहरूमा संशय थपिदिएको छ।
क्यानका अधिकारीहरू भने त्रिविका तर्फबाट आउने "अनावश्यक माग"का कारण दिक्क भएको बताउँछन्। त्यसैले क्यानले त्रिविको विकल्पमा स्थायी मैदान खोज्न थालेको छ।
क्यानका सचिव पारस खड्काले भने, "सरकारले क्यानलाई तल्लो मुलपानी प्रदान गरोस् भन्ने हाम्रो माग हो। त्यसो भयो भने स्थायी समाधान हुनेछ।"
किन नवीकरण चाहँदैन त्रिवि
पच्चिस वर्षअघि खाली रहेको कीर्तिपुर मैदानमा क्रिकेट खेल सञ्चालन हुँदा त्रिविलाई केही अप्ठेरो परेको थिएन। बरु क्रिकेट खेल हुँदा विश्वविद्यालयलाई फाइदा नै पुग्न गएको थियो।
तर क्रिकेटको राष्ट्रिय अन्तर्राष्ट्रिय सफलता र त्यहाँ खेलका बेला दर्शकहरूको घुइँचो लाग्न थालेपछि त्रिविको पठनपाठनमा बाधा पुगेको त्रिवि अधिकारीहरूले महसुस गरेको देखिन्छ।
त्रिविको विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीले बीबीसीसँग भने, "खेल भएका बेला विद्यार्थी र शिक्षकहरू नै विश्वविद्यालय प्रवेश गर्न नपाएको गुनासाहरू छन्। सम्झौताका बुँदाहरूको पालना नभएका विषयहरू छन्। विश्वविद्यालयले के विषयमा 'फोकस' गर्ने भन्ने कुरा पनि छ।"
त्यसबाहेक खेलका बेला हुने हल्लाले पढाइमा असर पर्न गएको, क्यानले त्रिविलाई अटेर गरेको र विद्यार्थीहरूलाई क्रिकेट हेर्ने बेला दिने छुटका विषयहरूमा पनि त्रिवि पदाधिकारीहरू सन्तुष्ट हुन नसकेका विषयहरू समेत चर्चामा छन्।
कसरी हुन सक्छ नवीकरण

'होम अफ नेपाली क्रिकेट' को परिचय बनिसकेको कीर्तिपुर क्रिकेट रङ्गशालाबिना नेपाली क्रिकेट अगाडि बढ्न सक्ने अवस्था देखिँदैन। त्यतिको स्तरीय संरचना अर्को बन्न पनि लामै समय लाग्न सक्ने देखिन्छ।
त्यसो भए यसको नवीकरण कसरी सम्भव छ त ?
क्यान सचिव खड्का भन्छन्, "हामीले त डेढ वर्ष अगाडि देखि नै प्रयास गरिरहेका छौँ। अब हाम्रो हातमा केही छैन। सरकारले नै यसको लागि पहल गर्नुपर्छ।"
सम्झौता नवीकरणका लागि गत वर्ष नै प्रक्रिया अघि बढाएको युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत् त्रिवि पदाधिकारीसँग छलफल गरेको थियो।
तर त्यसको पनि ठोस परिणाम आउन सकेको छैन।
त्रिवि खेलकुद निर्देशनालयका निर्देशक पराजुली भने यसमा गहन छलफल आवश्यक भएको बताउँछन्।
उनी भन्छन्, "यदि नवीकरण गर्ने हो भने क्रिकेट मैदानले गर्दा त्रिविलाई दीर्घकालीन के कतिको असर पर्छ, विश्वविद्यालयको प्राथमिकता के हो र त्रिविको असहजता कसरी समाधान हुन्छ भन्ने विषयमा गहन छलफल जरुरी छ। मभन्दा माथि पनि 'अथरिटी' छन्। हामी यो ब्रिफिङ गर्छौँ। अनि सबैसँग बसेर निर्णय लिनु पर्छ।"
तल्लो मुलपानीको माग
क्यान सचिव खड्काले दीर्घकालीन समाधानका लागि तल्लो मुलपानी सञ्चालन गर्ने अधिकार क्यानलाई दिन सार्वजनिक आह्वान नै गरे।
क्यानको सन् २०२६ को वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने कार्यक्रममा उनले भने, "सरकारले तल्लो मुलपानीको जिम्मा हामीलाई देओस्। हामी आफै त्यसलाई सम्भार गर्नेछौँ। त्यो क्यानको स्थायी रङ्गशाला हुनेछ। त्यसमा खर्च गर्ने बजेटको जोहो पनि हामी आफै गर्नेछौँ।"
उक्त रङ्गशाला राष्ट्रिय खेलकुद परिषद्को मातहतमा छ। तर निर्माण सुरु भएको २० वर्ष भइसक्दा पनि सरकारले त्यसलाई पूरा गर्न सकेको छैन।
पच्चिस वर्षअघिको सम्झौता

तस्बिर स्रोत, CAN
जयकुमारनाथ शाह अध्यक्ष भएका बेला मैदान उपभोगका निम्ति त्रिविसँग २५ वर्षको सम्झौता भएको थियो।
त्यतिबेला क्यानले वार्षिक ३ लाख रुपैयाँ दिने सम्झौता गरेको थियो। उक्त रकमलाई बढाएर अहिले वार्षिक १२ लाख रुपैयाँ पुर्याइएको छ।
क्यानका तात्कालीक सचिव विनयराज पाण्डे भन्छन्, "त्यतिबेला त्रिविका भाइस चान्सलर नवीनजङ्ग शाह र मैले सम्झौता गरेका थियौँ। अहिलेको कुरा मलाई थाहा भएन तर क्यानले गरेको सम्झौता क्यानले नै नवीकरण गर्न सक्छ जस्तो मलाई लाग्छ।"
नवीकरण हुनेमा ढुक्क क्यान
क्यानका प्रवक्ता छुम्बी लामा भने त्रिविसँग नवीकरण हुनेमा ढुक्क छन्।
उनी भन्छन्, "कीर्तिपुर मैदान निर्माण र मर्मतका लागि सरकारले अर्बौँ रुपैयाँ खर्च गरिसकेको छ। यो क्यान मात्रको नभई समग्र नेपाली क्रिकेटसँग जोडिएको विषय हो। त्यसैले नवीकरण हुनेमा हामी ढुक्क छौँ।"
पच्चिस वर्षको अन्तरालमा सरकार र क्यानले क्रिकेट मैदान निर्माणमा थुप्रै लगानी गरिसकेको छ।
गत वर्ष सहरी विकास मन्त्रालयले ४३ करोड ७७ लाख रुपैयाँको लागतमा १० हजार सिटको प्यारापिट निर्माण गरेको थियो भने ४२ करोड १९ लाख रुपैयाँको लागतमा फ्लडलाइट जडान गरेको थियो।
सरकारले आगामी वर्ष रङ्गशालाको स्तरोन्नति गर्ने निर्णय गरिसकेको छ तर नवीकरण विषयले गर्दा काम अगाडि बढ्ने प्रक्रिया अलमलमा परेको बताइएको छ।
क्यानले यसै वर्ष कीर्तिपुर क्रिकेट मैदानमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता पनि सार्वजनिक गरिसकेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








