तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाललाई जारी टी२० विश्वकपमा प्रतिष्ठा जोगाउन अन्तिम अवसर, स्कटल्यान्डसँगको खेलमा को बलियो?
- Author, निरञ्जन राजवंशी
- Role, मुम्बई, भारत
- पढ्ने समय: ४ मिनेट
नेपालले मङ्गलवार साँझ स्कटल्यान्डसँग समूह चरणमा आफ्नो अन्तिम खेल खेलेर जारी टी२० विश्वकप २०२६ को यात्रा टुङ्ग्याउने छ।
यसअघि भएका तीनवटै खेलमा पराजित भएकाले नेपाल विश्वकपबाट स्वतः बाहिर भइसकेको छ।
इङ्ग्ल्यान्डसँग पहिलो खेलमा रोमाञ्चक खेल देखाएर खेल नजिते पनि 'मन जितेको' नेपाल त्यसपछि इटली र वेस्ट इन्डिजसँग पनि पराजित भयो। त्यसैले स्कटल्यान्डसँग खेल्दा नेपाल जित हात पारेर प्रतिष्ठा जोगाउने प्रयासमा हुने छ।
तर अर्को चरणमा पुग्ने सम्भावना शून्य भएकाले नेपालले यो खेलबाट केही गुमाउने छैन। त्यसैले खेलाडीहरूले "बिनादबाव" खेल्न पाउने छन्।
टी२० विश्वकपमा सहभागी भएको १२ वर्षमा एक खेल जित्न नसकेको अवस्थामा यदि स्कटल्यान्डलाई पराजित गर्न सके त्यो नेपालका लागि एउटा उपलब्धि हुने छ।
'गल्ती बारम्बार दोहोर्याउनु हुँदैन'
खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सल्टेन्ट प्रशिक्षक निक पोथसले विगतको खेलमा भएको गल्तीहरू मङ्गलवारको खेलमा दोहोर्याउनु नहुने बताए।
"स्कटल्यान्डसँग प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्नुपर्छ। एउटै गल्ती बारम्बार दोहोर्याउनु हुँदैन," उनले भने।
इङ्ल्यान्डसँगको प्रतिस्पर्धात्मक हारपछि विश्वभरिका क्रिकेटप्रेमी र विश्लेषकहरूले नेपाली टोलीको खुलेर प्रशंसा गरेका थिए। तर इटलीसँग १० विकेटको पराजय र वेस्ट इन्डिजसँगको आत्मसमर्पणपछि टोलीको आलोचना बढ्यो।
नेपालका अस्ट्रेलियाली प्रशिक्षक स्टुअर्ट लले टोलीलाई खेलमा केन्द्रित हुनुपर्ने सङ्केत गर्दै सामाजिक सञ्जालमा भुल्न नहुने सुझाएका थिए।
कन्सल्टेन्ट प्रशिक्षक निकले पनि केही असन्तुष्टि व्यक्त गर्दै भने, "प्रशिक्षकको योजना जस्ताको तस्तै पालना गरेको खेलको उदाहरण हेर्ने हो भने इङ् ल्यान्डविरुद्धको खेल हेर्नुपर्छ। योजना ठ्याक्कै कार्यान्वयन गरेको खेलको लागि इटलीविरुद्धको खेल हेर्नुपर्छ।"
प्रतिस्पर्धा
बाङ्ग्लादेशले भारतमा आयोजित खेलमा सहभागी हुने निर्णय नगरेपछि आईसीसीले बाङ्ग्लादेशको ठाउँमा स्कटल्यान्डलाई खेल्ने अवसर दिएको थियो।
समूह सीको अङ्कतालिकामा नेपाल बिनाअङ्क पुछारमा र स्कटल्यान्ड दुई अङ्कसहित चौथो स्थानमा छन्। स्कटल्यान्डले इटलीलाई हराएको थियो।
नेपाल र स्कटल्यान्ड दुवै टोली एक खेलअगावै समूह चरणबाट बाहिरिइसकेका छन्।
यी दुवै असोसिएट राष्ट्र हुन्। विश्वकप लीग डिभिजन-२ मा भेट भइरहने हुनाले दुवै टोली एकअर्कासँग राम्ररी परिचित छन्।
यसैले अन्तिम खेलमा दुवै टोली खुलेर खेल्ने हुनाले स्तरीय प्रतिस्पर्धा हुने ठानिएको छ।
टी२० को इतिहास हेर्ने हो भने चाहिँ दुई टोली तीन पटक आमनेसामने हुँदा स्कटल्यान्डले दुई पटक र नेपालले एक पटक जितेका छन्।
गत जुन महिनामा नेपाली टोली स्कटल्यान्ड गएर विश्वकप लीग २ का लागि त्रिकोणात्मक टी२० शृङ्खला खेलेको थियो। त्यसमा नेपाल र स्कटल्यान्ड दुवैले १-१ खेल जितेका थिए।
ग्लास्गोमा भएको पहिलो खेलमा नेपालले दुई विकेटले जित्यो। तीन दिनपछि भएको अर्को खेलमा स्कटल्यान्डले ३४ रनले बाजी मार्यो।
त्यसअघि यी दुई टोली सन् २०१३ मा भिडेका थिए। तर त्यो टी२०आई खेल थिएन।
आईसीसी वर्ल्ड टी२० छनोट प्रतियोगिताको उक्त प्रतिस्पर्धामा पारस खड्काको टोलीलाई स्कटल्यान्डले चार बल बाँकी छँदा आठ विकेटले हराएको थियो।
नेपाली दर्शकसँग लोभिएको स्कटल्यान्ड
खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा स्कटल्यान्डका खेलाडी टम ब्रूस आएका थिए। उनले नेपालसँग खेल्दा लोभलाग्दो सङ्ख्यामा आउने दर्शकहरूको प्रसङ्ग उठाए।
"हामीलाई थाहा छ नेपालको खेलमा थुप्रै दर्शक हुने छन्। त्यो वातावरणमा खेल्न रमाइलो हुने छ," उनले भने।
तर त्यसबाट आफ्नो टोली कुनै दबावमा नपर्ने उनको भनाइ थियो।
"हाम्रो टोलीले भर्खरै ईडन गार्डनमा ५०,००० दर्शकका अगाडि इङ्ग्ल्यान्डसँग खेलेर आएको छ।"
गत जुनमा ग्लास्गोमा पनि नेपाली समर्थकहरूको भिड देखिएको सम्झिँदै उनले नेपालसँग खेल्न उत्साहित भएको प्रतिक्रिया दिए।
ब्रूस पहिलो पटक नेपालविरुद्ध खेल्न लागेका हुन्। उनी यसअघि न्यूजील्यान्डबाट क्रिकेट खेल्थे। ओपनरको भूमिकामा विस्फोटक मानिने उनी भर्खरै मात्र स्कटल्यान्डको जर्सी लगाएर खेल्न थालेका हुन्।
मनोबल बढाउने अवसर
नेपाल यसअघिको विश्वकपमा पनि सहभागी भएको थियो। अहिलेसम्म विश्वकपमा कुनै नजितेकाले नेपालका लागि यो खेलको महत्त्व बढी नै छ।
निराश दर्शकहरूलाई जितको स्वाद चखाउन मात्र होइन, आगामी खेलका लागि ऊर्जा थप्न पनि नेपाललाई जित आवश्यक देखिएको छ।
नेपाली टोली नेपाल फर्किनेबित्तिकै अर्को महिनामा नै विश्वकप लीग २ शृङ्खलाको लागि ओमान र यूएईलाई नेपालमा निम्त्याउँदै छ।
लीग २ मा पनि नेपालको अवस्था राम्रो छैन। आठ टोली सम्मिलित शृङ्खलामा नेपाल सातौँ स्थानमा रहेर सङ्घर्ष गरिरहेको छ।
पचास ओभर शैलीको उक्त शृङ्खला खेल्नका लागि स्कटल्यान्डसँगको जितले खेलाडीहरूमा मनोबल थप्न सघाउन सक्छ। त्यसले कीर्तिपुर रङ्गशालामा उपस्थित हुने घरेलु दर्शकहरूमा पनि उत्साह थपिने छ।
टमले अर्को २ अङ्क पाउन वानखेडे रङ्गशालामा खेल्ने बताइरहँदा नेपाली कप्तान रोहित पौडेलको दाउ पनि त्यही नै हुने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।