तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टी२० विश्वकपमा पाकिस्तानी बलर उस्मान तारिकको शैलीले निम्त्याएको विवाद र बहस
बलिङ गर्ने भिन्न शैलीका कारण पाकिस्तानी क्रिकेटर उस्मान तारिक जारी टी२० विश्वकप क्रिकेटमा चर्चाको केन्द्रमा छन्।
उस्मान तारिकले चार ओभर बलिङ गर्दा २७ रन खर्चेर तीन विकेट लिएको खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गर्यो।
आइतवार हुने भारत र पाकिस्तानबीचको खेलअघि भारतमा पनि उनको बलिङबारे चर्चा र बहस भइरहेको छ।
अमेरिका र पाकिस्तानबीचको खेलका केही क्लिप सामाजिक सञ्जालमा तीव्र फैलिएका छन्। खास गरी भारतमा केही प्रयोगकर्ताले उस्मान तारिकको बलिङबारे प्रश्न उठाएका छन्।
बलिङ गर्दा हातबाट बल निस्किनुअघि केही बेर अडिए जस्तो देखिन्छ। उनको यो शैली नियमविपरीत भएको दाबी धेरैले गरेका छन्। तर भारतका पूर्व स्पिनर रविचन्द्र अश्विनले चाहिँ उस्मान तारिकको शैलीको प्रतिरक्षा गरेका छन्।
कसरी सुरु भयो बहस
श्रीवत्स गोस्वामी नामक सामाजिक सञ्जाल प्रयोगकर्ताले एक्समा उस्मानको बलमा अमेरिकी ब्याटर आउट भएको क्षण देखिने भिडिओ शेअर गरेका थिए।
भिडिओमा उस्मान बल प्रहार गर्नुअघि केही समय अडिएको देखिन्छ।
त्यो भिडिओसँगै गोस्वामीले लेखेका छन्, "फुटबलमा पनि खेलाडीहरूलाई पेनाल्टी रनअपको समयमा रोकिन अनुमति छैन। यो कसरी ठिक? एक्शन ठिक होला तर अडिने काम? त्यो पनि बललाई डेलिभर गर्ने बेलामा। यसले निरन्तरता पाउन सक्दैन।"
तर रविचन्द्र अश्विनले गोस्वामीको यो पोस्टलाई उद्धृत गर्दै ब्याटरले अम्पायरलाई जानकारी नदिई 'स्विच हिट' वा 'रिभर्स' गर्न पाउने उदाहरण दिँदै "बलरका लागि मात्रै प्रतिबन्ध किन" भन्ने प्रश्न गरेका छन्।
अम्पायरलाई जानकारी नदिई बलरले चाहिँ बलिङ गर्ने हात फेर्न पनि नपाउने उनको भनाइ छ।
"उनीहरूले पहिले नियम परिवर्तन गर्नुपर्छ," उनले भनेका छन्।
भूतपूर्व भारतीय क्रिकेटर तथा कमेन्टेटर आकाश चोपडाले पनि एउटा भिडिओमा पाकिस्तानी स्पिन बलिङ र उस्मान तारिकको शैलीको तारिफ गरेका छन्।
उनले एक छिन अडिएर बलिङ गर्दा कुनै समस्या हुने आफूलाई नलागेको उल्लेख गरेका छन्। तर उनले हात घुमाएको विषयमा भने प्रश्न गरेका छन्।
अश्विनले बलिङको एक्शन सही भए वा नभएको विषयमा आईसीसीको 'बलिङ एक्शन टेस्टिङ सेन्टर'मा हेर्न सकिने र रोकिएर बलिङ गर्न रोक लगाउने कुनै नियम नभएको बताएका छन्।
उनले आईसीसीको १५ डिग्रीको नियमको चर्चा गर्दै यसबारे अम्पायरलाई मैदानमा निर्णय गर्न असम्भव रहेको बताएका छन्।
आईसीसीका अनुसार बलरको हातबाट बल छुट्ने बेलामा कुइनो १५ डिग्रीभन्दा धेरै खुम्चिएको हुनु हुँदैन।
"यसको एक मात्र समाधान भनेको रिअल टाइम कम्पिटिशन टेस्टिङ टूल ल्याउनु हो," अश्विनले भनेका छन्।
उस्मान तारिक के भन्छन्
करिब एक वर्षअघि उस्मान तारिकले एउटा अन्तर्वार्तामा आफ्नो बलिङ शैलीबारे स्पष्टीकरण दिएका थिए।
आफ्नो बलिङ एक्शनबारे प्रश्न उठेपछि चिकित्सककहाँ गएको र दुवै हात जाँच गराएको उनको भनाइ छ।
उनले आफ्नो कुहिनामा "दुईवटा हड्डी" भएका कारण त्यस्तो देखिने बताएका थिए।
तारिकका अनुसार उनको शरीरको बनावट सामान्य व्यक्तिभन्दा फरक छ।
"जन्मजात दुइटा कुहिना (कुहिनोमा दुइटा हड्डी) भएका कारण मेरो हात सीधा हुन सक्दैन," उनले भने।
पाकिस्तान क्रिकेट बोर्डले गत वर्ष मे ७ मा एक विज्ञप्ति जारी गर्दै 'क्वेटा ग्ल्याडिएटर्स' क्लबका स्पिनर उस्मान तारिकले लाहोरको बायोमेकानिक्स ल्याबमा परीक्षण गराएको र उनको बलिङ एक्शन त्यहाँ स्वीकृत भएको बताएको थियो।
पीसीबीका अनुसार एप्रिल १३ मा पाकिस्तान सूपर लीगमा लाहोर कलन्दर्सविरुद्धको खेलमा उस्मानको असामान्य बलिङ एक्शनविरुद्ध उजुरी परेको थियो।
उक्त विवादपछि उनको बलिङको परीक्षण गरिएको थियो।
ब्याटरका लागि कति खतरनाक
संयुक्त राज्य अमेरिकाविरुद्ध पाकिस्तानको जितपछि ईएसपीएनमा पनि तारिकको बलिङबारे बहस भयो। त्यस क्रममा वेस्ट इन्डिजका पूर्वक्रिकेटर र कमेन्टेटर इअन बिशपले उस्मान तारिकको बलिङ एक्शनबारे चर्चा गरेका थिए।
"उनी फरक कोणमा बलिङ गर्छन्। पहिले राउन्ड आर्म त्यसपछि ओभर द टप। यसले बाउन्सको अलग मात्रा दिन्छ। उनी बल फ्याँक्नुअघि एक छिन अडिन्छन् र ब्याटरको खुट्टामा हेरेर ब्याटर कता जान सक्छन् वा उनले कुन शट खेल्न सक्छन् हेरेर बल फाल्छन्। यो ब्याटरको कदम रोक्नका लागि हुन्छ," उनी भन्छन्।
"उनी ब्याटरलाई अफ सेन्टर बल प्रहार गर्न बाध्य पार्छन्। ब्याटरलाई बाउन्स वा विविधताबाट फाइदा उठाउने मौका हुँदैन। यस्तो बलिङ गरिरहँदासम्म उनी पाकिस्तानी टोलीमा रहिरहन्छन्, उनी टोलीका सम्पत्ति हुन्।"
त्यही बहसमा मिसिँदै भारतीय पूर्वक्रिकेटर सबा करिमले त्यो छोटो रोकावटले ब्याटरमाथि दबाव बढाउने बताए।
"किनभने यसले उनीहरूलाई बलिङमा विविधताको अभ्यास गर्ने स्वतन्त्रता दिन्छ। अनि हामीले पछिल्ला केही खेलहरूमा के देखेका छौँ भने उनी (उस्मान) उत्कृष्ट र शीर्ष क्रमका ब्याटरहरूलाई पनि आउट गर्न सफल भएका छन्। उनको अनौठो एक्शनले यो विश्वकपमा पाकिस्तानका लागि निकै निर्णायक साबित हुन सक्छ।"
आईसीसीको नियम के छ
बीबीसी उर्दूले लाहोर यूनिभर्सिटी अफ म्यानेज्मन्ट साइन्सेसका बायोमेकानिक्स विशेषज्ञ प्राध्यापक मोहम्मद ओवैससँग यस विषयको प्राविधिक पक्षबारे कुराकानी गरेको छ।
विगतमा पाकिस्तान क्रिकेट बोर्डले पनि बलरहरूको एक्शन परीक्षण गर्न प्रा ओवेसलाई नियुक्त गरेको थियो।
"बलिङका क्रममा रोकिँदा कुनै समस्या हुँदैन। तर कुहिनोको कोणमा १५ डिग्रीभन्दा बढी चाहिँ हुनु हुँदैन," उनी भन्छन्।
आईसीसीको नियममा 'इन्टरमिटेन्ट बलिङ' सम्बन्धी कुनै व्यवस्था नभएको र १५ डिग्रीको झुकावबारे मात्रै उल्लेख भएको उनी बताउँछन्।
"कुनैकुनै बलरको हातको आकार धेरै लचिलो हुन्छ। त्यसैले नाङ्गो आँखाले हेर्दा बलरले गलत तरिकाले बल फालिरहेको जस्तो लाग्न सक्छ। तर आईसीसीका क्यामराले नाप जाँच गर्दा यो 'चकिङ'को श्रेणीमा पर्दैन," प्राध्यापक ओवैस भन्छन्।
नियमविपरीत गरिने बलिङ अर्थात् 'चकिङ' लाई आईसीसीले निषेध गरेको छ।
उनका अनुसार आईसीसीले बलरको 'आर्म एक्शन' जाँच गर्न विभिन्न कोणमा १२ वटा 'इन्फ्रारेड आईआर' क्यामरा र दुइटा 'हाई स्पीड' क्यामरा लगाएर हेर्छ।
आईसीसीको सफ्टवेअरबाट त्यसको डेटा विश्लेषण गरेर बलिङ नियमानुसार भए वा नभएको जाँच गरिन्छ।
को हुन् उस्मान तारिक
ईएसपीएनक्रिकइन्फोका अनुसार उस्मान तारिकले सन् २०२३ को नोभेम्बरमा पाकिस्तानको राष्ट्रिय टी२० कपबाट डेब्यू अर्थात् पहिलो खेल सुरु गरेका थिए।
उनले २०२४ मा पाकिस्तान सूपर लीग पीएसएलमा पनि भाग लिए तर कुनै विशेष प्रभाव छोड्न सकेनन्।
तर २०२४-२५ को बीचमा उनले घरेलु क्रिकेटमा प्रभावशाली पुनरागमन गर्दै १५ खेलमा २२ विकेट लिए।
त्यस क्रममा दुई पटक उनको बलिङ एक्शनबारे उजुरी परेको थियो। सन् २०२४ को पीएसएलमा पहिलो पटक उनीमाथि प्रश्न उठेको थियो।
तर लाहोर राष्ट्रिय क्रिकेट अक्याडमीमा परीक्षण भएपछि उनले सफाइ पाए। उनको आफ्नो पृथक् बलिङ शैलीलाई निरन्तरता दिए।
अर्को पीएसएलमा पनि उनको बलिङबारे प्रश्न उठ्यो। त्यसपछि गरिएको जाँचमा पनि उनी पास भए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।