तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वकप क्रिकेट पछ्याउँदै मुम्बईको माहौलमा रातो-नीलो जर्सी
- Author, निरञ्जन राजवंशी
- Role, मुम्बई, भारत
- पढ्ने समय: ४ मिनेट
मुम्बईको गल्ली, चोक र सहरमा यसै पनि क्रिकेटको 'भाइब्स' भेटिन्छ।
भनिन्छ, मुम्बईमा क्रिकेट खेलिने मात्र होइन, यहाँ क्रिकेट बाँच्छ। लोभलाग्दो क्रिकेट इतिहास, सुसज्जित पूर्वाधार, रणजी ट्रफी जस्तो बलियो घरेलु संरचना र युवाहरूलाई आकर्षित गर्ने स्रोत साधनका कारण मुम्बईले क्रिकेटलाई विशेष बनाइरहेको देखिन्छ।
सचिन तेन्दुलकर, सुनिल गावस्कर, रोहित शर्मा, अजित अगारकर र सूर्यकुमार यादव जस्ता खेलाडी जन्माएको मुम्बई अहिले टी-२० विश्वकपको माहौलमा रङ्गिएको छ।
कलाकारहरू ऋषभ शर्मा र शिवमणि अनि बादशाहको स्वर र नोरा फतेहीको नृत्यका माझ आज साँझ आयोजक भारत र अमेरिकाको खेलबाट मुम्बईमा टी-२० विश्वकप प्रारम्भ हुनेछ। विश्वकपको पहिलो खेल चाहिँ पाकिस्तान र द नेदरल्यान्ड्सबीच श्रीलङ्काको कोलोम्बोमा सुरु भइसकेको छ।
कुल २० राष्ट्र सहभागी १० औँ संस्करणको छोटो फर्म्याटको विश्वकपको लागि मुम्बईको वाङ्खेडे रङ्गशाला सजिएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष जय शाह र गत संस्करणको विश्वकपका विजेता भारतीय टोलीका पूर्वकप्तान रोहित शर्माले विश्वकप ट्रफी वाङ्खेडेमा भित्राउने आइसीसीले जनाएको छ।
समुद्रको छेउमै अवस्थित वाङ्खेडे रङ्गशाला नेपाली क्रिकेट समर्थकका लागि किन विशेष छ भने यही मैदानमा नेपाली क्रिकेट टोलीले लीग चरणका सबै चार खेल खेल्नेछ।
शनीवार हुने पहिलो खेलमा वाङ्खेडे रङ्गशाला नीलो जर्सी लगाएका भारतीय समर्थकहरूले छपक्कै ढाकिँदा त्यहाँ रातो-नीलो जर्सी लगाएका नेपाली समर्थकहरू पनि हुनेछन्।
मुम्बईमा नेपाली समर्थकको उत्साह
विश्वकप हेर्न थुप्रै नेपालीहरू मुम्बई आइसकेका छन्।
मुम्बई विमानस्थलमा भेटिएका समर्थक आशीष श्रेष्ठ भन्छन्, "यसपालि विश्वकपमा नेपाली खेलाडीहरूले केही न केही गजब गर्छन्।"
अर्की समर्थक नेहा महर्जनले भनिन्, "त्यही हेर्न हामी यहाँ आएका हौँ।"
असोसिएट राष्ट्रबाट विश्वकपमा पुगेको नेपालको प्रदर्शनप्रति आइसीसीको पनि उत्तिकै चासो छ।
नेपाललाई आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड र एशियाली डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड दिलाएका नेपाली फ्यान देखेर आइसीसी पनि दङ्ग देखिन्छ।
नेपाली क्रिकेटलाई लामो समय देखि पछ्याउँदै आएका एक समर्थक सन्तोष ढुङ्गेल पनि यस पालि नेपालले विश्व क्रिकेटको मन जित्नेमा ढुक्क छन्।
नेपाल प्रिमिअर लीग (एनपीएल) को एक खेलमा 'फ्यान अफ द म्याच' पाएका उनी भन्छन्, "हेर्नुस्, इङ्ल्यान्डविरुद्धकै खेलबाट नेपाली खेलाडीहरूले तहल्का मच्चाउँछन्। म नेपाल सुपर-८ मा पुगेको हेर्न चाहन्छु।"
दर्शकहरूको उर्लिँदो माया अनि नेपाली खेलाडीहरूको जोसिलो प्रदर्शन नेपालको आकर्षणको केन्द्र बन्ने गरेको छ।
श्रीलङ्का र भारतमा अभ्यास खेल खेलेर तयार भएको नेपाली टोलीले यूएई र क्यानडासँग खेलेका दुई वटा 'वार्मअप म्याच' जितेर सकारात्मक मनोबल बटुलेको छ।
वाङ्खेडे रङ्गशालामा नेपालको परीक्षा
भारत आउँदा अन्य देशको तुलनामा नेपाली टोलीको भव्य स्वागत गरिएका तस्बिर र दृश्यहरू सार्वजनिक भएका थिए।
नेपाल र इङ्ल्यान्डबीच आइतवार अपराह्न हुने पहिलो खेलका अधिकांश टिकट बिक्री भइसकेको बताइएको छ।
विश्वकपमा चर्चाका थुप्रै विषयहरू छन्।
बाङ्ग्लादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गर्दै विश्वकप नै त्यागेको घटनाबाट सुरु भएको विवाद अहिले पाकिस्तानले भारतसँग नखेल्ने निर्णय गरेको घटनामा पुगेर उत्कर्षमा पुगिरहेको छ।
विश्व क्रिकेटको चासो पाकिस्तानले अब के गर्ला भन्नेमा केन्द्रित देखिन्छ।
अस्ट्रेलिया, इङ्ल्यान्ड, वेस्ट इन्डिज जस्ता महारथीहरूको प्रदर्शन के होला वा अघिल्लो संस्करणमा उपाधि जितेको भारतले आफ्नो साख कसरी जोगाउला भन्ने चर्चा आफ्नै ठाउँमा छ।
तर तेस्रो पटक विश्वकप खेलिरहेको नेपालले यसपालि के गर्ला त्यो उत्सुकता नेपाली समर्थकहरूमा बढी देखिन्छ।
वाङ्खेडे रङ्गशालामा त्यसको जबाफ अबको दुई हप्तामा भेटिनेछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।