नेपाल तेस्रो खेलमा पनि पराजित, सुपर ८ को दौडबाट बाहिरियो

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
    • Reporting from, मुम्बई, भारत
  • पढ्ने समय: ४ मिनेट

आइतवार मुम्बईको वानखेडे रङ्गशालामा भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ। योसँगै लगातार ३ खेल हारेर नेपाली टोली जारी टी-२० विश्वकपमा सुपर ८ समूहमा उक्लन असमर्थ भएको छ।

स्कटल्यान्ड तथा इङ्ग्ल्यान्डलाई पराजित गरिसकेको वेस्ट इन्डिज भने लगातार तीन खेल जित्दै समूह सी बाट सुपर ८ मा प्रवेश गरेको छ।

दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई १३३ रनमा रोकेको थियो।

सुरुवात नै कमजोर

दीपेन्द्रसिंह ऐरीको धैर्यपूर्ण अर्धशतकको मद्दत र उनलाई बलियो साथ दिएका सोमपाल कामीसँगको ५४ रनको साझेदारीपछि एक समय न्यून स्कोरमा समेटिने खतरामा परेको नेपालले मध्यम स्कोर खडा गर्न सक्यो।

जबाफमा नेपाली बलरहरूलाई वेस्ट इन्डिजले कुनै मौका दिएन। पावर प्लेभित्र उनीहरूले खेल नियन्त्रणमा लिइसकेका देखिन्थे।

ब्रान्डन किङ्गलाई २२ रनमा नन्दन यादवले आउट गर्नुबाहेक अन्य बलरहरूको विकेट नेपाली बलरहरूले लिन सकेनन्।

पावर प्ले मा ४४ रन जोडेको वेस्ट इन्डिजले ६.३ ओभरमा ५० रन पूरा गरेको थियो।

कप्तान साइ होपको ६१ र सिमरन हेटमायरको ४६ रनका कारण उक्त टोलीले १५.२ ओभरमा सहजै लक्ष्य भेट्यो।

टस हारेपछि कप्तान रोहित पौडेलले भनेका थिए, "हामी पनि पहिले बलिङ गर्न चाहन्थ्यौँ। शुरूमा ब्याटिङ चुनौतीपूर्ण छ।"

पावर प्लेमा जम्मा २२ रन बनाएर ३ विकेट गुमाएको नेपालको शुरुआत खराब बनेको थियो।

एक समय सय रन पनि बनाउन नसक्ने स्थिति बनेको बेला दीपेन्द्र सिंह ऐरीले धैर्यपूर्वक अर्धशतक बनाउँदै नेपाली इनिङ उकासेका थिए।

४८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन बनाएका उनी टी-२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बने। यसअघि *सुवास खकुरेलले सन् २०१४ मा पहिलो अर्धशतक बनाएका थिए।

समर जोशेपलाई छक्का हान्दै दीपेन्द्रसिँह ऐरीले आफ्नो अर्धशतक पूरा गरेका थिए।

दीपेन्द्र र सोमपालको कीर्तिमान

दीपेन्द्र र सोमपाल कामीले सातौं विकेटका लागि ५४ रनको साझेदारी गरे, जुन विश्वकपमा सातौँ विकेटको लागि सर्वाधिक रनको कीर्तिमान पनि बन्यो।

जारी विश्वकपमा पहिलो पटक मौका पाएका सोमपालले प्रभावकारी ब्याटिङ गर्दै १५ बलमा २६ रन बनाए।

१८ ओभरमा उनले जेसन होल्डरलाई लगातार ३ चौका प्रहार गर्नु लोभलाग्दो क्षण थियो। उक्त ओभरमा नेपालले १६ रन बटुलेको थियो।

यो खेलसँगै सोमपाल नेपालले खेलेको ३ वटै विश्वकप खेल्ने एक्लो नेपाली खेलाडी बनेका छन्।

ब्याटिङमा सङ्घर्ष

वेस्ट इन्डिजका बलरहरुले पावर प्ले मा नेपालका तीन प्रमुख खेलाडीहरु कुशल भुर्तेल, आशिफ शेख र रोहित पौडेललाई आउट गरेपछि नेपाल दबावमा परेको थियो।

वेस्ट इन्डिजले पहिलो ओभरमा नै स्पिनर अकिल हुसैनलाई ल्यायो उनले ओभरको पाँचौ बलमा नै ओपनर कुशल भुर्तेल (१ रन)लाई बोल्ड गरिदिए।

३.१ ओभरमा रोहित पौडेल (५ रन) एलबीडब्लुको शिकार भए। म्याथ्यु फोर्डले गरेको एलबिडब्लुमा रोहितले रिभ्यु मागेका थिए। तर सफल भएनन्।

अर्को ओभरको पहिलो बलमा आशिफ शेख (११ रन) आउट हुन पुगे। २ चौका प्रहार गरेका उनले जेसन होल्डरको बललाई लामो प्रहार गर्न खोज्दा बाउन्ड्री लाइनमा सिमरन हिटमायरबाट क्याच आउट हुन पुगेका थिए।

पावर प्ले पछि पनि नेपालको ब्याटिङ संघर्ष जारी रह्यो।

लगत्तैको ओभरमा आरिफ शेख (२ रन) पनि आउट भए।

८.५ ओभरमा दीपेन्द्रले चौका प्रहार गर्दा लामो समयपछि नेपाली दर्शकहरूले खुशियाली मनाउन पाएका थिए।

लोकेश बम र गुलशन झाले केहीबेर इनिङ सम्हाल्न खोजे। लोकेश १३ रन र १ छक्का हानेर अनि गुलशन ११ रनमा बोल्ड भएर फर्किए।

* यसअघि नाम गलत भएकोमा सच्च्याइएको

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।