तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उपत्यका र सहरभन्दा नगरोन्मुख क्षेत्रमा घरजग्गा कारोबार 'बढ्दै'
घरजग्गा कारोबारले “विस्तारै गति लिन थालेको” त्यस सम्बन्धमा देशभरि भएका सरकारी काम र त्यसबापत उठेको राजस्वको विवरणले देखाएको अधिकारीहरूले बताएका छन्।
यद्यपि “बढेको कारोबार” मुख्य सहरी क्षेत्रभन्दा सहर आसपास वा नगरोन्मुख क्षेत्रमा केन्द्रित रहेको उनीहरू बताउँछन्।
केही वर्षदेखि नेपालमा घरजग्गाको कारोबार सुस्त भइरहेकोमा पछिल्लो अवस्थाले सुधारको सङ्केत गरेको कतिपयको भनाइ छ।
काठमाण्डू उपत्यकासहित मुख्य सहरी क्षेत्रमा कारोबार उल्लेख्य वृद्धि नहुनुमा त्यस्ता क्षेत्रका घरजग्गा महँगो हुनुका साथै कतिपय नीतिगत कुराले पनि भूमिका खेलेको हुनसक्ने जानकारहरू बताउँछन्।
कारोबार कति बढ्यो?
भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक एवं प्रवक्ता वेदप्रसाद अर्यालका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको विवरण हेर्दा देशैभरि कारोबार केही बढेको देखिन्छ।
उनका अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यसपालि भएका घरजग्गासम्बन्धी कामहरू हेर्दा त्यस्तो वृद्धिबारे थाहा पाउन सकिन्छ।
घरजग्गासम्बन्धी त्यस्ता काममा लिखत पारित, रोक्का वा फुकुवा, हालसाविक, नामसारी, मोही कायमलगायतका कुराहरू पर्छन्।
उनले भने, “गत साउनदेखि पुस मसान्तसम्म देशभरि कुल दुई लाख ३२ हजार दुई सय ४५ वटा घरजग्गासम्बन्धी कामहरू भएका छन्। गत वर्ष सोही अवधिमा एक लाख ८५ हजार ९ सय ९२ वटा त्यस्ता काम भएका थिए।”
उनका अनुसार यसपालि ६ महिनाको अवधिमा ४६ हजार दुई सय ५३ वटा घरजग्गासम्बन्धी काम वृद्धि भएका छन्।
“त्यो भनेको गत वर्षको तुलनामा २५ प्रतिशतको वृद्धि हो,” उनले भने।
कारोबार बढेसँगै राजस्व पनि गत वर्षको तुलनामा बढेको उनले जानकारी दिए।
उनका अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनामा १६ अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन भएकोमा यसपालि सोही अवधिमा २० अर्ब १३ करोड रुपैयाँ राजस्व उठेको छ।
त्यो भनेको गत वर्षको तुलनामा २२ प्रतिशतले बढी हो।
उपत्यकामा कम, बाहिर बढी
अहिले विशेषगरी पूर्वी नेपालका विभिन्न क्षेत्रमा घरजग्गाको कारोबार उल्लेख्य वृद्धि भएको अर्यालले बताए।
उनले भने, “चालू आर्थिक वर्षको प्रथम ६ महिना (साउनदेखि पुससम्म)को विवरण हेर्दा मुख्यत: सहर आसपासका क्षेत्रहरूमा त्यो पनि पूर्वी नेपालमा कारोबार उल्लेख्य बढेको देखिन्छ।”
“काठमाण्डू उपत्यकाभित्र भने कारोबार सोचेजस्तो बढ्न सकेको छैन।”
उनका अनुसार पछिल्लो विवरणमा सुनसरीको इनरुवा मालपोतमा सबैभन्दा धेरै घरजग्गाको काम भएको देखिएको छ भने दोस्रोमा झापाको भद्रपुर मालपोत देखिएको छ।
“त्यस क्षेत्रमा जग्गा पनि सस्तो रहेको र सडक लगायतका नयाँ पूर्वाधारको विकासले बस्ती विस्तार हुँदा घरजग्गाको कारोबार बढेको हुनसक्छ,” अर्यालले भने।
काठमाण्डूका मुख्य मालपोतहरूको विवरणले ती क्षेत्रमा घरजग्गाको कारोबारमा व्यापक वृद्धि नभएको देखाउने अधिकारीहरूले बताएका छन्।
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छविलाल नेपालीले दिएको जानकारी अनुसार उक्त कार्यालयमा घरजग्गा पास गर्न आउनेको सङ्ख्या खासै बढ्न सकेको छैन।
उनले भने, “अहिले जेजति काम भएका छन् त्यसमध्ये सबैभन्दा धेरै मोहीहरूको जग्गा बाँडफाँटको काम मात्र भइरहेको छ।”
“कित्ताकाट भएर प्लटिङको जग्गा कारोबार खासै भइरहेको छैन, हाम्रो क्षेत्रमा घरसहित जग्गाको कारोबार धेरै हुने गरेकोमा त्यो पनि खासै बढेको छैन।”
प्रवक्ता अर्याल पनि काठमाण्डूसहित प्राय: मुख्य सहरी क्षेत्रको अवस्था खासै फरक नरहेको बताउँछन्।
सहर आसपासमा मात्र कारोबार बढ्नुको कारण के?
सरकारी अधिकारीहरू र जानकारका भनाइमा देशका मुख्य सहरी क्षेत्र आसपासमा घरजग्गाको कारोबार धेरै बढेको देखिनुमा मुख्यत: तीनवटा कारण हुनसक्छन्।
उनीहरूका भनाइमा ती कारण हुन्:
पहिलो- सहरी क्षेत्रमा भन्दा आसपासमा सस्तोमा घरजग्गा पाइनु।
दोस्रो- ब्याङ्कबाट सहजै कर्जा नपाइने भएकाले थोरै बचतका आधारमा घरजग्गा किन्नेहरू बढ्नु।
तेस्रो- भू-उपयोग नियमावलीअनुसार स्थानीय तहहरूले जग्गाको वर्गीकरण नगर्नु र वर्गीकरण भएका स्थानमा पनि स्थानीय तहका पदाधिकारीबीच विवाद हुनु वा घर/बाटो सिफारिसमा पदाधिकारीबीच एक मत नहुनु।
चालू मौद्रिक नीतिले आवास कर्जाको सीमा बढाएसँगै कारोबार बढ्ने व्यवसायीहरूले बताएका थिए।
तर अझै पनि पहिले जस्तो जग्गाका लागि कर्जा खुकुलो नभएकाले कारोबारमा उल्लेख्य वृद्धि हुन नसकेको बताइन्छ।
त्यसले गर्दा सीमित बचतका आधारमा जग्गा किन्नेहरूले अहिले सहर आसपासका क्षेत्रमा जमिन खरिद गरिरहेको हुनसक्ने अनुमान गरिएको छ।
भू-उपयोग नियमावली अनुसार जमिनको वर्गीकरणको जिम्मा स्थानीय तहले पाएका छन्।
नियमावली अनुसार जग्गा वर्गीकरण गरेर स्थानीय तहले विभागलाई जानकारी दिनुपर्छ।
तर कुल ७५३ वटा स्थानीय तहमध्ये हालसम्म आधाभन्दा पनि कम अर्थात् करिब २५० जति स्थानीय तहले मात्र जग्गाको वर्गीकरण गरेको अर्यालले बताए।
“धेरैले जग्गा वर्गीकरण गर्नै बाँकी छ, गरेको ठाउँमा पनि विशेषगरी सहरी क्षेत्रमा सबैजसो जग्गालाई बसोबास क्षेत्र भन्दा विवादहरू देखिएका छन्। ती विवाद पालिका कार्यपालिकामा यथावत रहँदा पनि कतिपय सहरी क्षेत्रमा कारोबार प्रभावित भएको भन्ने बुझिन्छ,” उनले भने।
त्यस्ता विवादकै कारण कतिपय स्थानमा जग्गा किन्न चाहनेहरूले सहजै घर वा बाटोको सिफारिस नपाउने अवस्था पनि रहेको जानकारहरू बताउँछन्।
नेपालमा “आर्थिक शिथिलता”को अवस्था रहेको अर्थशास्त्रीहरूले बताइरहेका बेला जग्गा वर्गीकरणसम्बन्धी यस्ता उल्झनले पनि कारोबार सोचेजस्तो नबढेको हुनसक्ने अधिकारीहरू ठान्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।