तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'बाँझो जग्गा उपयोग गरे कृषि वस्तुको आयात एक तिहाइले घट्छ'
देशभर बाँझै रहेको जग्गाको वैज्ञानिक ढङ्गले उपयोग गर्नसके हाल भइरहेको कृषि वस्तुको आयात करिब एक तिहाइले कम गर्न सकिने अधिकारीहरुले बताएका छन्।
देशभर अहिले ३० लाख ९१ हजार हेक्टरमा खेती भए पनि १० लाख ३० हजार हेक्टर जग्गा भने बाँझै रहेको छ।
जसमध्ये करिब ८ लाख हेक्टर जग्गा खेतीयोग्य रहेको कृषि मन्त्रालयले जनाएको छ।
हाल नेपालले बर्सेनि करिब ४० अर्ब रुपैयाँ बराबरको खाद्यवस्तु आयात गर्ने गरेको छ।
आंकडा
करिब ६५ प्रतिशत मानिस कृषिमा निर्भर रहेको देशमा झण्डै ३३ प्रतिशत बाँझो जमिन रहेको सरकारी आंकडा छ।
यसरी कृषि उपयोगमा नआएको जग्गा प्रयोगमा ल्याउन सके खाद्य वस्तुको आयात गर्नुपर्ने भार धेरै कम हुने किसान आयोगका सदस्य सचिव तेजबहादुर सुवेदी बताउँछन्।
उनले भने, "बाँझो जग्गामा खेती गर्दा उत्पादन बढी भइहाल्छ। त्यसैले बाँझो जग्गामा खेती गर्ने र सिँचाइ नभएको ठाउँमा सिँचाइ दिने, सहुलियत ऋण, कृषि औजारमा पनि सहयोग गर्न सके अहिलेको भन्दा एक तिहाइ उत्पादन बढ्छ।"
यसरी प्रयोगमा नआएका जग्गा सबैभन्दा धेरै पहाडी र उच्च पहाडी भेगमा रहेको बताइएको छ।
केही सिमसार क्षेत्र वरिपरिका जमिन पनि रहेका छन्।
कारण
यी जमिनमा लगाउने सकिने बालीबारे कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले भने, "कति ठाउँमा धान खेती सम्भव होला र? जहाँ सकिन्न त्यहाँ अन्न बालीभन्दा अरु बाली जस्तै तरकारी फलफूल लगायत अन्य खेती गर्न सक्छौं। "
सरकारले बनाउने भनिरहेको करार ऐन कार्यान्वयमा आएपछि पनि खेतीयोग्य जमिन बाँझो रहने समस्या केहि हदसम्म समाधान हुने सुवेदीले बताए।
त्यस्तै जग्गा प्लटिङ् व्यवसाय फस्टाएकोले पनि धेरै परिमाणमा कृषियोग्य जग्गा बाँझै छाडिएको कतिपय विज्ञले बताएका छन्।
केही समय यता ठूलो संख्यामा युवाहरु रोजगारीका लागि जाने गरेकोले पनि धेरै कृषियोग्य जमिन बाँझो रहने गरेको विज्ञहरु बताउँछन्।