तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत घुम्न आउँदा होटलबाट खसेर मृत्यु भएका यी रुसी धनाढ्य को हुन्
- Author, पाउल कर्बी
- Role, बीबीसी न्यूज
रुसका ससेज व्यापारी पाभेल आन्तोभलाई उनीसँगै भारत भ्रमणमा रहेका साथीको निधन भएको दुई दिनपश्चात् एउटा होटलमा मृतावस्थामा भेटिएको छ।
उनीहरू भारतको पूर्वी राज्य ओडिशाको भ्रमणमा थिए।
उक्त होटलमा केही दिनअघि आन्तोभले आफ्नो जन्मदिन मनाएका थिए।
मस्कोको पूर्वमा रहेको भ्लादिमिर नामक सहरमा आन्तोभ परिचित व्यक्तित्व हुन्।
उनी त्यहाँको स्थानीय राजनीतिमा पनि संलग्न थिए।
कसरी भयो घटना
उनको ह्वाट्स्यापमा युक्रेन युद्धको सन्दर्भमा रुसको आलोचना गरिएको टिप्पणी गत गर्मीयाममा उनले अस्वीकार गरेका थिए।
रुसी सञ्चारमाध्यममा आएका समाचारअनुसार ६५ वर्षीय आन्तोभको मृत्यु रायगाडा सहरस्थित एक होटलको झ्यालबाट खसेर भएको हो।
सोही होटलमा उनीसँगै आएका भ्लादिमिर बुदानोभको शुक्रवार निधन भएको थियो।
ओडिशा प्रहरीका एसपी विवेकानन्द शर्माले बुदानोभलाई मस्तिष्काघात भएको अनि त्यसपछि उनको मित्रलाई "डिप्रेशन भएर उनको पनि मृत्यु"’ भएको बताए।
कोलकातास्थित रुसी महावाणिज्यदूत आलेक्सी इदाम्कीनले तास समाचार संस्थासँग कुरा गर्दै प्रहरीले "यी दुःखद घटनामा कुनै आपराधिक तत्त्व(को संलग्नता)" नदेखेको बताए।
पर्यटक गाइड जितेन्द्र सिंहले पत्रकारहरूसँग कुरा गर्दै बुदानोभले ‘धेरै मदिरापान गरेको’ हुनसक्ने बताए।
पाभेल आन्तोभले भ्लादिमिर स्ट्यान्डर्ड नामक मासु प्रशोधन कम्पनी स्थापना गरेका थिए।
सन् २०१९ मा उनको सम्पत्ति करिब १४ करोड डलर बराबर रहेको फोर्ब्सले जनाएको थियो।
राजनीतिमा कस्तो भूमिका
भ्लादिमिर सहरको विधायिकी सभामा उनको महत्त्वपूर्ण भूमिका थियो। सभाका उपाध्यक्ष भ्याचेस्लाभ कार्तुखिनले उनको "दुःखद परिस्थितिमा" निधन भएको टिप्पणी गरेका छन्।
गत जुन महिना उनले रुसी क्षेप्यास्त्र हमलाले कियभको शेभ्चेन्किभ्स्की क्षेत्रमा रहेको आवासीय भवनमा क्षति पुग्दा एक पुरुषको मृत्यु अनि तिनका सातवर्षे छोरी र आमा घाइते भएको घटनालाई लिएर टिप्पणी गरेका थिए।
ह्वाट्स्यापको सन्देशमा आन्तोभले “यो घटनालाई आतङ्कबाहेक अरू भन्न कठिन रहेको” जनाएका थिए।
पछि त्यो टिप्पणी मेटिएको थियो। लगत्तै आन्तोभले राष्ट्रपति भ्लादिमिर पुटिनको आफूसमर्थक भएको जनाउ दिँदै आफू देशभक्त भएको र युद्धको पनि समर्थन गरेको बताएका थिए।
ह्वाट्स्यापमा राखिएको उक्त सन्देश अरू नै कसैको भएको र त्यो दुर्घटनावश आफ्नो ह्वाट्स्यापमा आएको उनले बताएका थिए।
शृङ्खलाबद्ध मृत्यु
आन्तोभको मृत्यु रुसले युक्रेनमा अतिक्रमण गरेयता उक्त कदमबारे आलोचना गर्दै आएका रुसी धनाढ्यहरूको शृङ्खलाबद्ध मृत्युको पछिल्लो घटना हो।
पछिल्ला महिनाहरूमा रुसका कैयौँ अग्रणी व्यापारीहरूको अस्वाभाविक परिस्थितिमा ज्यान गएको छ:
- सेप्टेम्बरमा रुसको विशाल तेल कम्पनी लूकओइलका प्रमुख राभिल म्यागानोभको मस्कोस्थित अस्पतालको झ्यालबाट खसेर मृत्यु भएको थियो
- नोभाटेकका पूर्वव्यवस्थापक सेर्गेइ प्रोटो सेन्या, उनकी पत्नी र छोरीको शव एप्रिल महिनामा एउटा स्पेनी भिलामा फेला परेको थियो
- ग्याजप्रोम ब्याङ्कका पूर्वउपाध्यक्ष भ्लादिस्लाभ अभायभको शव पनि उनकी पत्नी र छोरीसँगै एप्रिलमै मस्कोस्थित उनीहरूको घरमा फेला परेको थियो
- मे महिनामा लूकओइलका पूर्वप्रमुख अलेक्सान्डर सुबोटिनको हृदयाघातका कारण ज्यान गएको थियो।