'जेलभित्रै डिस्को, चिडियाखाना र हतियारको भण्डार'

    • Author, रोना रिस्केज
    • Role, बीबीसी विश्व सेवाका लागि विशेष रिपोर्ट

भेनेजुएलामा निकोलस मडुरो सरकारको आदेशमा भएको सुरक्षा कारबाहीपछि त्यहाँको एउटा चर्चित जेलमा भेनेजुएला र ल्याटिन अमेरिकामै सबैभन्दा डरलाग्दो पकड रहेको ट्रेन दे आरागुआ आपराधिक समूहको आधार भत्किन पुगेको छ।

यसको प्रभाव अझै पनि जेल वरपरको स्थानमा अनुभव गर्न सकिन्छ। त्यहाँ अहिले जेलमा रहेका आफन्तका निम्ति खानेकुरा र लत्ताकपडाका प्याकेटहरू बोकेर जाँदै गरेका दर्जनौँ महिला देखिन छोडेका छन् न त त्यहाँको पौडी पोखरीमा पहिले पुग्न आफ्ना आमाहरूलाई हतार गर्न भन्दै गरेका केटाकेटीहरू देखिन्छन्।

आरागुआ राज्यको टोकोरोनमा बिअर बेच्नेदेखि अन्य अधिकांश व्यवसायहरू बन्द भएका छन्।

जेलको अगाडि इँटाले बनेका सानासाना छाप्राहरू पनि अहिले अलपत्र छन्। जेलमा आफन्तहरू भेट्न आउनेहरूले त्यस्ता छाप्रामा मोबाइल सुरक्षित छाडेर जान एक डलर शुल्क तिर्नु पर्थ्यो।

जेलभित्र रहेका भवनहरू भत्काउने काम अहिले पनि जारी छ।

भेनेजुएलाको सरकारले उक्त जेलमाथिको नियन्त्रण आफूले पुनःस्थापित गरेको घोषणा गर्दासम्म पनि मलाई विश्वास लागेको थिएन।

एक वर्ष जति अघि मात्र म त्यहाँ पुगेको थिएँ। किनभने मैले लेख्दै गरेको सङ्गठित अपराध बारेको पुस्तकका लागि यो समूहको प्रभाव क्षेत्रमा रहेको जेल कस्तो छ भन्ने मलाई जान्नु थियो। यो समूहको शक्ति समग्र महादेशभरि नै फैलिसकेको छ।

अहिले ल्याटिन अमेरिकामा सर्वाधिक खोजी भइरहेका व्यक्तिका सूचीमा रहेका यो समूहका नाइके एल निन्यो गेरेरोको आधार क्षेत्रमा पुग्दा मैले देखेका कुरा यस्ता थिए।

‘म तिमीलाई घुमाइदिऊँ?’

“तपाईँ यहाँ आएको यो पहिलो पटक हो?” त्यो आइतवारका दिन मसँग त्यहाँ जेलमा भेटेका एकजना कैदी हुलिओले मलाई सोधे। उनले मलाई कैदीहरूले 'ठूलो घर' भन्ने गरेको टोकोरोन जेलमा भएका सुविधाहरू देखाए।

यो जेल भेनेजुएलाको राजधानी काराकास भन्दा १४० किलोमिटर दक्षिणपश्चिमा रहेको टोकोरोन सहरमा सन् १९८२ मा बनेको थियो।

खासमा २.२५ वर्ग किलोमिटरमा फैलिएको यो कारागारको क्षमता ७५० जना कैदीहरूलाई मात्रै राख्ने हो। तर यसमा कैदीहरू थपिँदै जाँदा ७,००० जनासम्म पुगेपछि ट्रेन दे आरागुआ आपराधिक सङ्गठनले यहाँ सन् २०१५ देखि २०१८ को बीचमा आफूलाई विस्तार गर्ने र थप बलियो हुने मौका पायो।

“म तपाईँलाई यहाँ भित्र घुमाइदिऊँ?” हुलिओले यो जेलभित्र घुम्नु छुटाउनै नहुने आकर्षणको विषय भए जसरी थप कर गरे। मैले त्यहाँभित्र के के देख्न पाउँछु भन्नेबारे मलाई कुनै भेउ थिएन।

त्यहाँ वरपर हिँड्दै गर्दा मैले जे देखिरहेको थिएँ मलाई त्यो पत्यार लाग्न कठिन भइरहेको थियो।

टोकोरोन कुनै जेल मात्र थिएन। त्यो त एउटा 'मनोरञ्जन पार्क' नै थियो।

एक किसिमले भन्ने हो भने यो एचबीओ टेलिभिजन सिरिजहरूमा देखाइएको काल्पनिक ‘वाइल्ड वेष्ट इन् वेष्टवर्ल्ड’ जस्तै थियो।

यहाँ भित्र के थिएन। पौडी पोखरीहरू, चिडियाखाना, खेल मैदानहरू, जस्ताको छाना भएका ससाना घरहरू, रेस्टुराँहरू, बेसबल रङ्गशाला, भाले जुधाउन बनाइएको खाडल, लागुऔषधका पसलहरू, मोटरसाइकल र बन्दुकहरू।

भेनेजुएलाको सरकारले त्यहाँ सुरक्षा कारबाही गरेर भत्काइदिएपछि सामाजिक सञ्जालमा फैलिरहेका प्रायः सबै तस्बिरहरू वास्तविक थिए।

एल निन्यो गेरेरोको उपनामबाट चिनिने हेक्टर रश्दनफर्ड गेरेरो फ्लोरेस, टोकोरोन र ट्रेन दे आरागुआका नाइके थिए। "गेरेरो" हुलिओले उनको नाम लिँदै भनेका थिए, “यो जेललाई टोकोरोनको उन्नत बस्ती जस्तो नबनाएसम्म म विश्राम नै लिन्न भन्छन्,” टेलिभिजन, काठका कुर्सीहरू र टेबल सहितको प्रतीक्षालयमा बसेर हामी गफ गर्दै गर्दा उनले सुनाए।

वास्तवमै टोकोरोनले पनि एउटा सानो सहरकै जस्तो स्वरूप लिन लागिसकेको थियो।

यो जेलमा एउटा ठूलो बिजुली उत्पादन गर्ने प्लान्ट पनि थियो। जसले बिजुलीको नियमित प्रसारण अवरुद्ध भएका बेला बिजुली आपूर्ति गर्थ्यो।

यसमा काम गर्न कैदीहरूमध्येबाटै आफ्नै प्राविधिक टोली थिए। जिन्स लगाएका र रङ्गीन टिसर्ट लगाउने व्यक्तिहरू यहाँको बिजुली आपूर्ति मर्मत गर्ने र सुपरिवेक्षण गर्ने गर्दथे।

“यहाँका प्राविधिकहरू यति दक्ष छन् कि यहाँ आसपासका बस्तीहरूमा पनि बिजुली बिग्रियो भने उनीहरूलाई बाहिर समेत मर्मतका लागि बोलाइन्छ,” हुलिओले भने।

'पहरेदारहरू'

जेलमा रहेका भवनहरूको सङ्ख्या र मनोरञ्जनका सुविधाहरूसँगै सुरक्षाप्रतिको मोहले टोरोकोनलाई महँगो चल्तीको बजारमा रूपान्तरण गर्ने गेरेरोको आकाङ्क्षालाई झल्काउँथ्यो।

कारागारको सबै क्षेत्रमा एआर-१५ वा एके-१०३ राइफल, शटगन वा ह्याण्डगनधारी पुरुषहरू सुरक्षाका लागि तैनाथ गरिएका थियए।

यी पहरेदारहरू आफैँ पनि कैदीहरू हुन्। ठूलो डाँडालाई पृष्ठभूमि बनाएर प्रशस्त हरियाली भएको स्थानमा अवस्थित चिडियाखानामा रहेका जनावरहरूको हेरचाहका लागि दुई जना पहरेदार राखिएको थियो।

गेरेरोले निकै मन पराएको एउटा सर्प त्यहाँबाट हराएपछि त्यस्तो घटना नदोहोरियोस् भन्ने सुनिश्चित गर्न उनले भनेको बताइन्छ।

त्यहाँ रहेका चराहरू, बाँदरहरू, अस्ट्रिच, वन बिराला, घोडा अनि सुङ्गुर लगायतका घरपालुवा जनावरहरूका लागि पनि छुट्टाछुट्टै बस्ने ठाउँ बनाइएको थियो। यी जनावरहरूको विशेषता वर्णन गरिएका साना कार्डहरू पनि त्यहाँ राखिएका थिए ।

यही क्षेत्रमा भाले जुधाइ खेलाउने ठाउँ पनि थियो। कैदीहरूले भाले जुधाउने खेलमा बाजी थाप्न पाउँथे। त्यसकै अर्कोपट्टि बेसबल खेल हुने रङ्गशाला थियो। त्यहाँको कृत्रिम घाँस लगाइएको थियो।

टोरोकोन अन्त्यको आरम्भ

म यो जेलभित्र घुमिरहँदा पेस्तोल र शटगन लिएका दुईजना हतियारधारीले मेरा हरेक गतिविधिहरू तीन मिटरको दूरीबाट निगरानी गरिरहेका थिए।

हरेक १०० मिटरको दुरीमा मैले हतियार लिएका मानिस तैनाथ भएको देखेँ। त्यसका अतिरिक्त केही मानिसहरू शक्तिशाली मोटरसाइकलमा यताउता गरिरहेका थिए।

मैले घोडा दौडमा बाजी थाप्ने र लागुऔषध मात्रै बेच्ने पसलहरू पनि देखेँ। त्यहाँ गाँजा, कोकेनजस्ता लागुऔषध बेचिन्थ्यो।

हरेक पाइलाहरूमा मैले यो जेलबाट बाहिरिएका तस्बिर र भिडिओहरूमा देखिएका ठाउँहरू देखिरहेको थिएँ।

यहाँ पार्टीहरू हुने टोकिओ नाइटक्लब पनि मेरै आँखाले देखेँ।

अग्रभागमा कालो पालले ढाकिएका कारण यो सहजै ठम्याउन सकिने किसिमको चाहिँ थिएन।

जेलबाट निस्केका यो सङ्गठनका एकजना पूर्वसदस्यले मलाई सुनाएअनुसार सन् २०२२ को मध्यतिर सरकारले त्यहाँको नाइटक्लब सर्वसाधारणका लागि बन्द गर्न आदेश दिएको थियो।

सरकारले चालेको यो कदम नै सम्भवतः टोरोकोन अन्त्यको सङ्केत थियो।

त्यही समय गेरेरोले आफ्ना सहयोगीहरूलाई फेसबुकको मार्केटप्लेसबाट उनीहरूले गाडीहरूको बिक्रीका नाममा गर्दै आएको ठगी बन्द गर्न आदेश थिए।

यस्तो ठगीमा सरकारी अधिकारीहरूसहित समाजको धेरै क्षेत्रका मानिसहरू फसेका थिए।

‘धनीहरूका लागि जेल’

मैले हुलिओका लागि लिएर गएको पाउरोटी खाँदै हामीले कुराकानी गरेका थियौँ। पाउरोटी र चिसो पेय पिउने अवसर उनले त्यति धेरै पाउँदैनन्। उनलाई भेट्न आउने मानिसहरू पनि निकै कम छन्। उनले बताए अनुसार टोरोकोनमा निकै खराब अवस्थाका कैदीहरू पनि थिए।

परिवारका सदस्य नभएका र त्यहाँका नेताले दिएका आदेश पालना नगर्नेहरूलाई जेलमा निम्न वर्गका कैदीहरूका रूपमा राखिएको थियो र जेलको निश्चित क्षेत्रमा सीमित गरिएको थियो। उनीहरूलाई पौडी पोखरी र रेस्टुराँ लगायतका सुविधामा पहुँच थिएन र पहिचानका लागि उनीहरूलाई छुट्टै पोसाकको व्यवस्था थियो। उनीहरूमध्ये धेरै जना भोकाएका देखिन्थे र राम्रो व्यवहार पनि पाउँदैन थिए।

“यो धनीहरूका लागि हो। यो जेल धनीहरूका लागि हो। यहाँ सबैथोकका लागि पैसा चाहिन्छ,” जुलिओले भने।

उनका अनुसार जेलमा कुटाइ नखानका लागि कैदीहरूले नेतालाई हरेक साता १५ डलर तिर्नुपर्छ।

अन्य सेवाको दर फरकफरक छ। एक्लै सुत्ने ठाउँका लागि २० डलर र सप्ताहान्तमा आफ्नो जोडी पनि ल्याउनका लागि ३० डलर तिर्नुपर्छ।

जेलभित्र महँगा ब्रान्डका विज्ञापन टाँसिएको कुराले मेरो ध्यान तान्यो। यसले यहाँभित्र कति पैसा छ भन्ने देखाउँथ्यो।

जेलभित्र मैले त्यहाँका नाइेकहरू बस्ने घर मात्रै देख्न पाइनँ। किनभने उनीहरू बस्ने ठाउँ ट्रेन डे आरागुआका अगुवाहरू निकटका व्यक्तिहरूलाई मात्रै प्रवेश दिइने छुट्टै ठाउँमा थियो।

मैले थाहा पाएअनुसार त्यहाँ भित्र पनि पौडी पोखरी र सेकुवा पोल्ने ठाउँहरू थिए।

छुट्टै संसार जस्तो लाग्ने यो ठाउँ सरकारले भत्काइदिएको छ जसका लागि ११ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो।

“यस्तो जेल सञ्चालन गर्नका लागि यहाँको ठूलो स्थान अनुपयुक्त रहेको हामीले पायौँ,” जेललाई सैनिक नियन्त्रणमा लिने कार्यको नेतृत्व गरेका भेनेजुएलाका आन्तरिक सम्बन्ध मामिलामन्त्री एडमिरल रेमिजिओ थेबायोस्‌ले भने।

अहिले हुलिओ सहित दर्जनौँ कैदीहरूको अवस्था अज्ञात छ। नेता एल निन्यो गेरेरोसहितका फरार कैदीहरूलाई सरकारले खोजी गरिरहेको छ।

सरकारले जेल नियन्त्रणमा लिएको कार्य यो आपराधिक समूह विरुद्धको ठूलो कदम थियो तर व्यापक रूपमा विस्तार भइसकेको यो समूहको अन्त्य त्यसबाट भयो वा भएको छैन भन्ने अझै प्रस्ट हुन सकेको छैन।

यो समूहले आफ्नो आपराधिक गतिविधि उक्त जेल बाहिर पनि कोलम्बिया, ब्रजिल, पेरु, एक्वडर, बोलिभिया, चिले र सम्भवतः संयुक्त राज्य अमेरिकासम्म पनि विस्तार गरिसकेको ठानिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।