तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भेनेजुएला निर्वाचन: विपक्षीले बहिष्कार गरेको चुनावबारे थाहा पाउनु पर्ने पाँच कुरा
अधिकांश विपक्षी दलहरूले धाँधली भएको भन्दै बहिष्कार गरेको आइतवारको मतदानबाट भेनेजुएलाले राष्ट्रिय सभाका २७७ जना सदस्य चयन गर्दैछ।
राष्ट्रपति निकोलास मदुरो र विपक्षी नेता हुवान गुआइदोबीच चलेको दुई वर्ष लामो शक्ति सङ्घर्षपछि चुनाव भएको हो।
स्वतन्त्र र निष्पक्ष नभएको भन्दै राष्ट्रपतिमा मदुरो पुन:निर्वाचित भएको सन् २०१८ को चुनावलाई व्यापक रूपमा अस्वीकार गरिएको थियो।
गुआइदोलाई ‘अन्तरिम राष्ट्रपति’को रूपमा त्यहाँको राष्ट्रिय सभाका साथै अमेरिकासहित ५० भन्दा धेरै देशहरूले मान्यता दिएका थिए।
मदुरोको दलको वर्चस्व नरहेको एकमात्र संस्था राष्ट्रिय सभामा गुआइदोको नियन्त्रण छ। यो चुनावबाट त्यसमा परिवर्तन आउने ठानिएको छ।
आइतवार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चुनावलाई धाँधली र नक्कलीको संज्ञा दिए।
आइतवारको मतदानबारे जान्नुपर्ने पाँच कुरा यी हुन्।
१. एकपक्षीय चुनाव
सन् २०१५ मा भएको मतदानबाट विपक्षीको नियन्त्रणमा रहेको राष्ट्रिय सभालाई आफ्नो पक्षमा पार्ने वाचासहित सक्रिय चुनावी अभियान चलाएको मदुरोको गठबन्धनलाई राष्ट्रिय स्रोतहरू र सरकारी सञ्चारमाध्यमको साथ छ।
गुआइदो पक्षीय मुख्य विपक्षीहरूले बहिष्कार गरेकाले मदुरो गठबन्धनले राष्ट्रिय सभामा बहुमत प्राप्त गर्ने ठानिएको छ।
गुआइदो पक्षले भेनेजुलएलाको सर्वोच्च अदालत र निर्वाचन निकायमा मदुरोका समर्थकहरू रहेकाले बहिष्कारको निर्णय गरेको हो। आफूहरूले भाग लिएर चुनावालाई बैधानिकता दिन नचाहेको उसको तर्क छ।
कतिपय विपक्षी भने चुनाव लडिरहेका छन्।
बहिष्कारलाई साथ दिएकोमा सर्वोच्च अदालतबाट पार्टी नेतृत्व हटाइएका ती दलले विपक्षी गठबन्धन त्यागेका छन्।
सरकारी गठबन्धन छाडेको एउटा दल पपुलर रिभ्युलुसनरी अल्टरनेटिभ एपीआरले मदुरोलाई चुनावमा चुनौती दिएको छ।
नतिजा जेसुकै आए पनि गुआइदोले जनमत सङ्ग्रह खालको ‘लोकप्रिय परामर्श’ गर्ने घोषणा गरेका छन्। जसमा राष्ट्रिय सभाको चनावको परिणामलाई भेनेजुलएलाका जनताले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने सोधिने छ।
चुनावमा मानिसहरूको रूचि कम रहेको सङ्केत देखिएको र न्यून मतदानबाट त्यो कुरा प्रतिविम्बित हुने ठानिएको समाचारहरूमा जनाइएको छ।
हालैको सर्वेक्षणले ६२.२ प्रतिशत नागरिकले मदुरो वा गुआइदो दुवैलाई समर्थन नगर्ने पक्षमा रहेको देखाएको थियो।
२. वैधानिकतामाथि प्रश्नहरू
युरोपेली सङ्घ, अमेरिका र अमेरिकी देशहरूको सङ्गठनओएएसले चुनावले प्रजातान्त्रिक पारदर्शिताको अपेक्षित मापदण्ड पूरा नगर्ने भन्दै त्यसको परिणालाई वैधानिक मान्न नसक्ने बताएका छन्।
अमेरिकाका सहयोगी ब्रजिल र कोलम्बियासहित ल्याटीन अमेरिकी र क्यारिबियन देशहरूको महत्त्वपूर्ण समूहले पनि चुनावी परिणामलाई मान्यता नदिने बताएका छन्।
तर चुनावमा उदय हुने मदुरो पक्षीय संसद्ले मदुरोका समर्थक देशहरू क्युवा र निकारागुवासँगै रूस, चीन, टर्की र इरानको पनि मान्यता पाउने सम्भावना छ।
अमेरिकाको राष्ट्रपति निर्वाचित जो बाइडनले मदुरोलाई ‘तानाशाह’को रूपमा हेर्ने कुरा स्पष्ट पारेकाले उनी भेनेजुएलाको चुनावलाई ‘अप्रजातान्त्रिक’ ठान्ने ट्रम्प प्रशासनको धारणा विपरीत जाने सम्भावना देखिन्न।
उनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि मदुरो सरकारमाथि दबाव दिन व्यापक अन्तर्राष्ट्रिय सहमतिको खोजी गर्ने ठानिएको छ।
३. शक्तिको केन्द्रिकरण
देखिए जस्तै गुआइदो नेतृत्वको विपक्षीहरूबाट राष्ट्रिय सभामाथिको नियन्त्रण लिन सफल भएमा मदुरोले भेनेजुएलामाथि आफ्नो आर्थिक र राजनीतिक नियन्त्रण सुदृढ पार्न कानुन पारित गर्ने ठानिएको छ।
चुनावमा मदुरोका श्रीमती र छोरा पनि लडेका छन्। मदुरो सरकारका एकजना उच्च अधिकारी दिओस्दादो काबेल्लोले गुआइदो र अन्य विपक्षी नेताहरूतर्फ सङ्केत गर्दै धोकेबाजलाई दण्डित गर्न नयाँ संसद्ले कानुन पारित गर्ने बताइरहेका छन्।
आत्मविश्वासका साथ चुनाव जित्ने प्रक्षेपण गर्दै मदुरोले आफूभन्दा धेरै मत विपक्षीले पाएमा राष्ट्रपति पद त्याग्ने बताएका छन्।
४. विपक्षीमा विभाजन
गुआइदोले हालैका महिनाहरूमा चुनाव बहिष्कार गर्ने लगायतका आफ्ना रणनीतिलाई लिएर मदुरो विरोधी आन्दोलनभित्रैबाट प्रश्नहरूको सामना गर्नुपरेको छ।
राष्ट्रिय सभाको प्रमुखको हैसियतमा उनले ‘अन्तरिम राष्ट्रपति’ को मान्यता पाएका हुन्। उनी र उनका समर्थकहरूले राष्ट्रपति पद रिक्त हुँदा राष्ट्रिय सभाका नेताले त्यो जिम्मेवारी पाउने संविधानको व्यवस्थालाई उद्धृत गरेका थिए।
मदुरोको पुनर्निवाचित भएको सन् २०१८ को चुनाव अवैध भएकाले राष्ट्रपति पद खाली भएको तर्क गर्दै राष्ट्रिय सभाको समर्थनमा गुआइदोले सन् २०१९ को ज्यानुअरीमा अन्तरित राष्ट्रपतिको शपथ लिएका थिए।
नयाँ संसद्ले जिम्मेवारी सम्हालेपछि आउँदो ज्यानुअरी ५ तारिखमा उनको त्यो हैसियत सकिन्छ।
तर गुआइदो र उनका समर्थकहरूले डिसेम्बर ६ तारिखको चुनाव स्वतन्त्र र निष्पक्ष नभएको तर्क गर्दै जोसुकै उत्तराधिकारी आए पनि उनी वैध नहुने बताएका छन् र जिम्मेवारीलाई निरन्तरता दिने योजना बनाएका छन्।
तर उनको हैसियतलाई लिएर प्रश्न उठ्ने सम्भावना छ।
५. समाधान नहुने राजनीतिक अन्योल
मदुरो र उनका समर्थकहरू राष्ट्रिय सभामा आफ्नो नियन्त्रण पुनर्स्थापित गर्न सफल भएमा त्यो वामपन्थी सरकारको पक्ष र विपक्षमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै रूपमा कठोर अवस्था बन्ने छ।
देशका संस्थाहरूभन्दा बाहिर रहने मदुरो विरोधीहरूले पनि राष्ट्रपतिलाई हटाउने उपायको निम्ति विकल्प खोज्न बाध्य हुने छन्। त्यसले तनाव बढाउन र नयाँ सङ्घर्षतर्फ डोर्याउन सक्छ।