तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फुटबल टोलीको जितमा खुसी मनाउँदा ११ वर्षदेखि फरार 'खतरनाक अपराधी' पक्राउ
आफूले समर्थन गरेको फुटबल टोलीलाई ग्रीसमा समर्थन गरिरहेको तस्बिर सार्वजनिक भएपछि इटलीका सर्वाधिक खतरनाक मध्येका एक जना फरार अभियुक्त पक्राउ परेका छन्।
साठी वर्षका भिन्चेन्ट्सो ला पोर्टाको नेपल्सको सङ्गठित आपराधिक समूह क्यामोरासँग नजिकको सम्बन्ध रहेको ठानिएको छ।
उनी ११ वर्षदेखि फरार थिए तर यसै वर्षको सुरुमा ग्रीसमा खुसी मनाइरहेका फुटबल समर्थकमाझ देखिएका थिए।
नेपल्स क्याराबिनिअरी प्रहरीले भनेको छ, “उनलाई फुटबल त्यसमा पनि नापोलीप्रतिको लगावले धोका दियो।”
ती अपराधी को हुन् ?
तीन दशकभन्दा बढीको अन्तरालमा नापोलीले यो वर्ष पहिलो पल्ट इटालिअन च्याम्पिअनसीप जित्दा ती तस्बिरहरू लिइएको अधिकारीहरूले जनाएका छन्।
“च्याम्पिअनसीपमा विजयी भएपछि, ला पोर्टाले खुसीयाली मनाउनबाट आफूलाई रोक्न सकेनन्,”प्रहरीले भनेको छ।
इटलीमा फौजदारी अभियोग, कर छली र ठगी जस्ता मुद्दामा उनी फरार रहेकै अवस्थामा दोषी ठहर भइसकेका छन्।
प्रहरीले उनलाई ग्रीसको कोर्फु टापुमा आफ्नो मोपेड चलाइरहेको समयमा पक्राउ गरेको थियो।
उनी हाल थुनामा छन् र उनलाई इटलीमा सुपुर्दगी गरेर पठाउने तयारी छ।
यदि सुपुर्दगी गरिएको खण्डमा उनले इटलीको जेलमा १४ वर्ष चार महिना बिताउनुपर्ने हुन्छ।
ला पोर्टाका वकिलले एपी समाचार संस्थालाई भनेका छन्, “उनले ग्रीसमा नयाँ परिवार सुरु गरेका छन्।"
"उनका नौ वर्षका छोरा छन्। उनी कूकका रूपमा काम गर्छन्। उनलाई मुटुसम्बन्धी समस्याहरू छन्। यदि सुपुर्दगी गरियो भने उनको र उनको परिवारको भविष्य अस्तव्यस्त हुनेछ।”
अधिकारीहरूले ला पोर्टासम्म पुग्न निरन्तर प्रयास गरेका र नजिकबाट उनका आर्थिक र अनलाइन गतिविधिलाई नियालिरहेका थिए। उनीहरूले उनले ‘एउटा गल्ती गरुन्’ भन्ने चाहन्थे।
गएको मे महिनामा, ३३ वर्षपछि नापोलीले सिरी ए लिग जितेपछि ला पोर्टाले आफ्नो उत्साह रोक्न सकेनन्।
प्रहरीले एउटा तस्बिरमा कोर्फुको एउटा रेस्टुराँबाहिर नापोलीका समर्थकमाझ उनलाई बेसबल क्याप लगाएको र उक्त टोलीको आकाशे र सेतो रङ्गको झन्डा फहराइरहेको अवस्थामा देखेका थिए।
अनुसन्धानकर्ताहरूले ती व्यक्तिलाई चिने र उनलाई ग्रीससम्म पछ्याएका थिए।
आफ्ना ग्रीसका सहकर्मीहरूको मद्दतले उनलाई शुक्रवार पक्राउ गरिएको थियो।
यसै वर्षको ज्यानुअरीमा दशकौँदेखि फरार एक जना इटलीका माफिया समूहका सरदारलाई गुगल म्याप्समा देखिएपछि पक्राउ गरिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।