विश्वकप लीग २मा नेपाल : अमेरिकासँग दोस्रो हार

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
प्रतिस्पर्धात्मक खेलमा विपक्षीलाई रोक्न नसकेपछि नेपालले आईसीसी विश्वकप लीग २ को तेस्रो खेलमा पनि पराजय भोगेको छ।
दुबईमा सञ्चालन भइरहेको चार खेलको शृङ्खलामा नेपालले शनिवार अमेरिकासँग ४ विकेटको हार बेहोरेको हो।
यससँगै प्रतियोगितामा खेलेको तीन वटैमा नेपाल पराजित हुन पुगेको छ।
यसअघि नेपाल अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो।
पराजयसँगै लिग २ मा नेपालको सङ्कट झन् गहिरिएको छ।
टस हारेर पहिले ब्याटिङ पाएको नेपालले २७१ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो।
एक समय जित नजिक पुगिसकेको नेपाल ४९ औँ ओभरमा दुई छक्का खाएपछि ६ बल खेल्नु अघिनै पराजित हुन पुग्यो।
हारपछि नेपाली कप्तान रोहित पौडेलले भने, "केही महत्त्वपूर्ण क्याचहरू छुट्नु हाम्रो निम्ति दुर्भाग्य रह्यो।"
उनले ब्याटिङ शैली अनुसार नेपालले ३०० रन पुग्नुपर्ने बताउँदै अन्तिममा रन आउन नसकेको बताए।
यद्यपि उनले अमेरिकाले राम्रो खेलेको भन्दै टोलीको प्रशंसा गरे।
अमेरिका भने ३ मा ३ खेल जित्न सफल भएको छ।
कडा प्रतिस्पर्धा

तस्बिर स्रोत, CAN
पहिलो पावर प्लेमा विकेट नगुमाएरै ५३ रन बनाउँदै ठूलो लक्ष्य पछ्याउन आएको अमेरिकाले सही ढङ्गले खेल सुरुआत गरेको थियो।
तर स्मिथ पटेललाई गुलशन झा र शयन जहाँगिरलाई सन्दीप लामिछानेले आउट गरेपछि खेलमा नेपाल हाबी हुन प्रयास गरेको देखिन्थ्यो।
अमेरिकी कप्तान मोनांक पटेललाई नन्दन यादवले २१ रनमा आउट गरेपछि अमेरिका २१ ओभरमा ९५-३ को स्थितिमा पुगेको थियो।
तर मध्यक्रमका खेलाडी साइतेजा मुकामल्लाले ७५ रन तथा मिलन्द कुमारले ७० रन बनाएपछि अमेरिका खेलमा फर्कियो।
यी दुईको जोडीले चौथो विकेटका लागि १२३ रनको साझेदारी गर्नुनै अमेरिकाको जितको आधार बनेको देखियो।
करण केसीले ४६ औँ ओभरमा मुकामल्लाको विकेट लिनुका साथै ४८ औँ ओभरमा सन्दीप लामिछानेले शुभम रन्जनेको विकेट लिएपछि खेले अन्त्यतिर निकै रोमाञ्चक बन्न पुगेको थियो।
यस्तोमा ४९ औँ ओभरमा नन्दन यादवले १७ रन खाएपछि नेपाल पराजित हुन पुग्यो।
हरमित सिंहले नन्दनको बलमा २ छक्का प्रहार गरेर खेलको अन्त्य गरेका थिए।
नेपालको तर्फबाट सन्दीपले ३ तथा नन्दन, करण र गुलशनले १/१ विकेट लिए।
नेपालको खराब सुरुवात कसरी सम्हालियो?

तस्बिर स्रोत, CAN
नेपालको ब्याटिङ् सुरुआत राम्रो हुन सकेनको थिएन।
ओपनर आशिफ शेख दोस्रो ओभरमा आउट हुन पुगे। दोस्रो ओभरमा व्यक्तिगत २ रनमा आशिफ आउट भएपछि पहिलो पावर प्लेमा नेपाल दबावमा परेको थियो।
यद्यपि १ विकेटको क्षतिमा पावर प्लेमा नेपालले ५० रन जोड्यो।
यसका लागि भीम सार्की र ओपनर कुशल भुर्तेलले ८६ रनको राम्रो साझेदारी गरेका थिए।
कुशल अर्धशतकको नजिक पुगेको बेला २० औँ ओभरको पहिलो बलमा हरमित सिंहद्वारा आउट भए।
उनले ६५ बल खेल्दै ४७ रन बनाए।
हरमितले यी दुबैलाई आउट गरेर अमेरिकालाई खेलमा फर्काउने प्रयास गरेका थिए।
उनले २२ औँ ओभरमा ४३ रन बनाएर खेलिरहेका भीमलाई बोल्ड गरिदिए।
त्यसपछि आएका भरपर्दा मानिने आरिफ शेख २ रनमै आउट भए।
त्यतिबेला नेपालले २५ औँ ओभरमा १०६ रन बनाएको थियो र टोलीका ४ खेलाडी आउट भइसकेका थिए।
यस्तोमा कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले मिलेर नेपालको इनिङ उकास्ने काम गरे।
यी दुईले पाँचौँ विकेटका लागि ८९ रनको साझेदारी गरेपछि २०० रन पार गर्ने सुदृढ अवस्थामा पुग्यो।
रोहित ३७.४ ओभरमा ३६ रन बनाएर क्याच आउट हुन पुगे। हरमितले नै यो जोडी तोड्ने काम गरे।
नेपाल ५ विकेटको क्षतिमा १९५ रनको अवस्थामा पुग्यो।

तस्बिर स्रोत, CAN
दीपेन्द्र ऐरीले यो खेलमा राम्रो ब्याटिङ गरे।
शृङ्खलामा रन नआइरहेकोले आलोचना खेपिरहेका दीपेन्द्रले ६७ बलमा ७५ रन बनाए। यस क्रममा उनले २ चौका र ३ छक्का प्रहार गरेका थिए।
यद्यपि ४५.३ ओभरमा उनी निकै गलत समयमा आउट हुन पुगे, जसका कारण पछिल्ला ओभरमा नेपालको रन घट्ने सङ्केत देखिएको थियो।
दीपेन्द्रलाई साथ दिन आएका गुलशन झाले भने रन बनाउन सङ्घर्ष गरे। यही दबावमा उनी ११ बलमा ५ रन बनाएर आउट भए।
यद्यपि करण केसीले आक्रामक रूपमा खेल्दै ३१ बलमा ४९ रन बनाएर नेपाललाई उकास्ने काम गरे। उनले ३ छक्का र २ चौका प्रहार गरेका थिए।
जारी शृङ्खलामा नेपालले बनाएको यो उच्च स्कोर हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








