लीग २ मा टिक्न नेपाली क्रिकेट टोलीले दुबईमा भोग्नुपर्ने दुई चुनौती

नेपाली क्रिकेट टोली

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, आठ टोली सम्मिलित लीग २ मा नेपाल हाल अङ्कतालिकामा पुछारबाट दोस्रो स्थानमा छ
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

टी२० विश्वकपमा छनोट भएको खुसियाली राम्ररी मनाउन नपाउँदै राष्ट्रिय क्रिकेट टोली ओमानबाट यूएईतर्फ उड्यो।

त्यहाँको मौसममा एक हप्ता भिजेपछि टोली आइतवारबाट सुरु हुने आईसीसी विश्वकप लीग २ को पाँचौ चरणको प्रतिस्पर्धाका लागि खडा भएको छ।

लीग २ को यो चरणको प्रतिस्पर्धामा नेपालले अमेरिका र यूएईको सामना गर्दै छ। खेल दुबईमा यही कात्तिक १९ गतेसम्म चल्ने छ। यसअघिका शृङ्खला जस्तै प्रत्येक टोलीले एकअर्कासँग दुईदुई खेल खेल्ने छन्।

विश्वकप छनोटको 'मूड'विपरीत लीग २ मा नेपालसामु बेग्लै चुनौतीको सामना गर्नुपर्ने अवस्था छ।

भर्खरै विश्वकप छनोट भएकाले खेलाडीहरूको मनोबल बढेको हुन सक्ने भए पनि आठ राष्ट्र सम्मिलित प्रतियोगितामा पुछारबाट दोस्रो स्थानमा रहेकाले नेपाली टोली दबावमा छ।

मुख्य चुनौती

नेपाली क्रिकेट टोली

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, पछिल्ला महिनाहरूमा नेपाली क्रिकेट टोली टी२० विश्वकप छनोटमा केन्द्रित थियो

दुबईमा हुने प्रतिस्पर्धामा नेपालसामु मुख्यतः दुई चुनौती देखिएका छन्।

पहिलो कुरा नेपाल पछिल्लो चार महिना टी२० विश्वकप छनोटको तयारीमा केन्द्रित रहेका कारण खेलाडीहरूमा टी२० को शैली हाबी हुन सक्ने छ।

अर्कोतर्फ नेपालले प्रतियोगितामा जम्मा १२ अङ्क मात्र जोड्न सकेको छ। अब लीग २ मा जोगिन टोलीले अहिलेदेखि नै बढीभन्दा बढी खेल जित्नुपर्ने स्थिति छ। अर्थात् उनीहरूले दबावमा खेल्नुपर्ने छ।

क्रिकेट प्रशिक्षक राजु बस्न्यात २० वा ५० ओभरको खेल शैलीले खेलाडीहरूमा केही असर नपर्ने बताउँछन्।

उनी भन्छन्, "मानसिक पक्षको मात्र कुरा हो, जसमा हाम्रा खेलाडीहरू अभ्यस्त बनिसकेका छन्। त्यसैले २० ओभर वा ५० ओभरको खेलले नेपाली खेलाडीहरूलाई असर नपर्ला।"

गत २०१८-२३ को लीग २ शीर्ष ३ मा टुङ्ग्याएको नेपाल अहिले १६ खेल सम्पन्न भइसक्दा १२ अङ्क मात्र लिएर बसेको छ।

त्यसैले अब बचेको पाँच चरणमा शीर्षतातिर लम्किने हो भने अहिलेदेखि नै अङ्क बटुल्नुपर्ने छ।

अङ्कतालिकाको अवस्था

नेपाल र स्कटल्यान्डबीच एक खेलमा टस हुँदै

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, स्कटल्यान्ड नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो

हालसम्म २४ खेल खेलेको स्कटल्यान्ड ३० अङ्कका साथ शीर्ष स्थानमा छ।

नेपालसँग यही शृङ्खलामा खेल्न लागेको अमेरिका २८ अङ्कका साथ दोस्रो स्थानमा छ। यूएई भने छ अङ्कका साथ तालिकाको पुछारमा छ।

नेपाल र यूएई तालिकाको 'डेन्जर जोन' मा छन्। तसर्थ प्रत्येक टोलीले आठ अङ्कका लागि खेल्ने यो शृङ्खलामा दुवै टोलीले बढीभन्दा बढी अङ्क बटुल्न प्रयास गर्ने छन्।

तुलनात्मक रूपमा अमेरिका सुरक्षित स्थानमा पुगे जस्तो त देखिन्छ तर ३६ खेल खेल्नुपर्ने शृङ्खलाका लागि अझै कुनै पनि टोलीले सहज सहज महसुस नगरेको हुनुपर्छ।

नेपालका लागि त सहज हुने कुरै भएन। यूएई र नेपालबीचको टी२० होस् वा ५० ओभरको खेल, सधैँ भिडन्त हुने गर्छ।

प्रशिक्षक बस्न्यात भन्छन्, " यूएई पनि कठिन अवस्थामा रहेकाले प्रतिस्पर्धा झन् कठिन हुन सक्छ।"

अमेरिका पनि कठिन प्रतिद्वन्द्वी हो।

खेलाडी परिवर्तन

नेपाली क्रिकेट खेलाडी भीम सार्की (बायाँ) र अनिल साह

तस्बिर स्रोत, Kamal Pariyar/BBC

तस्बिरको क्याप्शन, भीम सार्की (बायाँ) र अनिल साहलाई एकदिवसीय क्रिकेटका लागि राम्रा खेलाडी मानिन्छ

नेपाली प्रशिक्षक स्टुअर्ट लले टी२० विश्वकप छनोट खेलेको टीमबाट एकदिवसीय टोलीमा तीन खेलाडी परिवर्तन गर्‍यो।

अनिल शाह, भीम सार्की र साहब आलमलाई टोलीमा भित्र्याइएको छ भने सन्दीप जोरा, आदिल आलम र लोकेश बमलाई यसपालि हटाइएको छ।

भीम सार्की एकदिवसीय खेलमा उपयुक्त मानिन्छन्।

प्रशिक्षक बस्न्यातका अनुसार यो परिवर्तनले टोलीको मध्यक्रममा देखिएको कमजोरी हटाउन मद्दत पुग्ने छ।

उनी भन्छन्, "टीममा भीम सार्की फर्किएका छन्। उनी नम्बर ४ का लागि उपयुक्त पात्र हुन् जस्तो मलाई लाग्छ। अनिल शाह पनि फर्किएका छन्। यसले टोलीमा मध्यक्रमको ब्याटिङमा सन्तुलन ल्याउन मद्दत गर्ला।"

प्रशिक्षकको भरोसा

नेपाली क्रिकेट टोलीका प्रशिक्षक स्टुअर्ट ल

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, प्रशिक्षक स्टुअर्ट लका लागि यो शृङ्खला एउटा महत्त्वपूर्ण परीक्षा हुने छ

स्कटल्यान्डमा भएको र स्कटल्यान्ड तथा नेदरल्यान्ड्स सम्मिलित लीग २ शृङ्खला अस्ट्रेलियाली प्रशिक्षक लले नेपाली टोली सम्हालेको पहिलो अवसर थियो।

त्यसमा उनी अत्यन्त सफल देखिए। पुछारमा रहेर सङ्घर्ष गरिरहेको नेपाल लीग तालिकाको शीर्ष ३ मा रहेका दुई टोलीसँग भिड्दै थियो।

यस्तो कठिन अवस्थामा लको नेतृत्वमा नेपालले चारमध्येको तीन खेल जितेर महत्त्वपूर्ण छ अङ्क जोड्यो।

पराजित भएको स्कटल्यान्डसँगको एक मात्र खेलमा पनि नेपालले जितको अत्यन्त नजिक पुगेर २ रनले माथ खाएको थियो।

लको नेतृत्वमा नेपाली टोली अझ बलियो देखिएको छ। नेपाललाई टी२० विश्वकपमा छनोट गराएर लले आफ्नो क्षमता पुष्टि गरिसकेका छन्। उनको अबको परीक्षा लीग २ मा नेपाललाई 'सेफ जोन' मा पुर्‍याउनुमा हुने छ।

नेपालको खेल तालिका र टोली

  • कात्तिक ९ : विरुद्ध अमेरिका
  • कात्तिक १३ : विरुद्ध यूएई
  • कात्तिक १५ : विरुद्ध अमेरिका
  • कात्तिक १९ : विरुद्ध यूएई

नेपाली टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, शाहब आलम, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र ललित राजवंशी।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।