स्कटल्यान्डमा देखिएको नेपाली क्रिकेट टोलीको आत्मविश्वास

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
पचास ओभरको विश्वकप लीग-२ र त्रिदेशीय टी-२० शृङ्खला दुवैको मूल्याङ्कन गर्दा नेपाली क्रिकेट टोलीको स्कटल्यान्ड भ्रमण सफल भएको टिप्पणी भइरहेको छ।
विश्वकप लीग-२ मा नेपालले ३ खेल जित्दै ६ अङ्क बटुल्यो र लीग तालिकाको सातौँ स्थानमा उक्लियो भने टी-२० शृङ्खलामा २ खेलमा जित र २ मा हार बेहोर्यो।
जितबारे धेरै भनिरहनु आवश्यक नहोला। तर अन्य सबै खेलको खास विशेषता भनेको नेपाली खेलाडीहरूमा बढेको आत्मविश्वास र उनीहरू निकै प्रतिस्पर्धी रहनु थियो।
जसलाई खेलाडीहरूको स्तरमा उल्लेख्य सुधार भएको रूपमा हेरिएको छ।
साथै प्रतियोगिताका अधिकांश खेलहरूको नतिजामा 'नाटकीय क्षण' देखिँदा नेपाली क्रिकेटको चर्चा अन्तर्राष्ट्रिय क्रिकेटको फेरी चुलिएको देखियो।
निकै कठिन मानिएको स्कटल्यान्ड भ्रमणलाई नेपालले लीग-२ को अहिलेसम्मकै सफल यात्रामा बदल्न सफल भएको खेल वृत्तमा विश्लेषण भइरहेको छ।
फर्किएको आत्मविश्वास
यस भ्रमणसँगै नेपाल लीग-२ तालिकामा एक स्थान माथि सातौँमा उक्लिएको छ।
लीग-२ को प्रतिस्पर्धामा खराब स्थितिमा रहेको नेपालको लागि प्राप्त ६ अङ्क निकै महत्त्वपूर्ण बनेको छ।
त्यस्तै टी-२० मा नेपाली खेलाडीहरूको प्रदर्शन प्रशंसनीय बनेको थियो।
लगातार २० ओभरको विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपालले आगामी अक्टोबरमा एसिया प्रशान्त छनोट खेल्दै छ।
त्यसको लागि यो अभ्यास निकै फलदायी देखिएको छ। खेलाडीहरूले कुनै पनि विकेटमा र कुनै पनि अवस्थामा राम्रो खेल्न सक्छ भन्ने आत्मविश्वास देखाउन सके।

तस्बिर स्रोत, CAN
स्कटल्यान्डविरुद्ध ९७ रन पछ्याउन सकस झेलेको नेपालले नेदरल्यान्ड्सविरुद्धको १७४ रन सहज रूपमा पार गरेको थियो।
खेलाडीहरू तुलनात्मक रूपमा युरोपको चिसो मौसम, घाँसे पिच र दुई कडा प्रतिद्वन्द्वीविरुद्ध हाबी रहँदै सहज प्रदर्शन गर्न सके।
यी सबैबाट 'ग' तालिकाको पुछारमा रहेर आत्मविश्वास गुमाइरहेको नेपाली खेलाडीहरूको विश्वास फर्किएको देखिनुलाई महत्त्वपूर्ण मानिएको छ।
उदाउँदा विकल्प

तस्बिर स्रोत, CAN
प्रतियोगितासँगै तीव्र गतिका बलर नन्दन यादव पहिलोपटक राष्ट्रिय टोलीमा प्रवेश पाए।
उनले तीव्र गतिको बलिङमा आफूलाई बलियो विकल्पको रूपमा उभ्याउन सफल भए।
त्यस्तै रुपेश सिंह र किरण ठगुन्नाले पनि टी-२० डेब्यु गरे। एक दिवसीयमा प्रभावकारी देखिएका आरिफ शेख र भीम सार्कीले टी-२० मा पनि योग्य रहेको प्रमाणित गरे।
एक दिवसीयमा लामो समयदेखि जम्दै आएका भीम सार्कीले टी-२० मा यसै शृङ्खला मार्फत डेब्युको अवसर पाए।
ल को सफल सुरुआत

तस्बिर स्रोत, CAN
परीक्षामा अस्ट्रेलियाका प्रशिक्षक स्टुअर्ट ल समेत थिए।
मोन्टी देशाईले प्रभाव देखाए तापनि छोड्ने बेला बेहालको स्थितिमा देखिएको नेपाली टोलीको जिम्मा सम्हालेका प्रशिक्षक स्टिउट लको सुरुआत गजबकै रह्यो।
दक्षिण एसियाली क्रिकेटलाई नजिक बाट बुझेका प्रशिक्षक लले नेपाली खेलाडीहरूको मानसिकताको राम्रो अध्ययन गरेको खेलहरूमार्फत देखियो।
उनले छोटो समयमा नै खेलाडीहरूको क्षमता बुझेर त्यसलाई उजागर गर्न सकेको विश्लेषण पाइन्छ।
सुरुआत राम्रो भयो भए तापनि अब उनको वास्तविक परीक्षा टी-२० विश्वकप छनोटका बेला हुनेछ।
चर्चा सुपर ओभरको

तस्बिर स्रोत, CAN
विश्वकप लीग-२ को पहिलो खेलको अन्तिम बलमा स्कटल्यान्डका खेलाडीले 'वाइड' फालेपछि नेपालले खेल नाटकीय रूपमा जितेको थियो।
त्यो रोमाञ्चकताबाट सुरु भएको प्रतियोगितामा अधिकांश खेल रोमाञ्चक बन्न पुगे।
स्कटल्यान्डसँगकै दोस्रो खेलमा नेपाल जितनजिक पुगेर २ रनले पराजित हुन पुगेको थियो।
त्यसमा सबैभन्दा रोमाञ्चक र कीर्तिमानी खेल भने तेस्रो सुपर ओभरमा पुगेर टुङ्गिएको खेल रह्यो।
नेदरल्यान्ड्स र नेपालबिचको उक्त खेल टी-२० को इतिहासमा पहिलो पटक तेस्रो सुपर ओभरमा पुगेको खेलको कीर्तिमान बनेको छ।
समग्रमा लीग-२ को सुरुआतपछि नेपाली टोलीले गरेको यो अब्बल प्रदर्शन हो।
यसै वर्ष नेपालले लीग-२ को दुई शृङ्खला खेल्दै छ भने अर्को वर्ष सन् २०२६ मा हुने टी-२० विश्वकपमा छनोट हुनका लागि प्रतिस्पर्धा गर्दै छ।
हालको नतिजाले त्यसमा सकारात्मक परिणाम ल्याउने आशा देखाएको धेरैको बुझाई छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








