यूएईसँगको हारपछि लीग २ मा नेपालको सङ्कट अझ गहिरिने

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
कप्तान रोहित पौडेलको शतकका बाबजुद आईसीसी विश्वकप लीग २ को महत्त्वपूर्ण खेलमा खेलमा यूएईसँग ५ विकेटले हारेपछि नेपाली टोली समस्यामा परेको छ।
जारी शृङ्खलाको पहिलो खेलमा अमेरिकाविरुद्ध हार भोगिसकेको नेपाली टोली आज बिहीवार यूएईसामु पनि निरीह देखियो।
लीग तालिकाको पुछारमा रहेको यूएई र त्यसभन्दा एक स्थान मात्र माथि रहेको नेपालबीचको यो खेलमा २ अङ्क बटुल्नु दुबै टोलीका लागि महत्त्वपूर्ण थियो। आठ राष्ट्र सम्मिलित प्रतियोगिताको चारवर्षे शृङ्खलाका आधा खेल सकिँदासम्म राम्रो अङ्क जोड्न नसकेकोले नेपाल टोली सहज अवस्थामा छैन।
आजको खेलमा २३३ रन बनाएर मध्यम चुनौती खडा गरेको नेपालको स्कोरलाई बलरहरूले प्रतिरक्षा गर्न सकेनन्।
खेलमा कुनै पनि बेला नेपाल जितको नजिक पुग्न सकेको देखिएन।
दुबई क्रिकेट रङ्गशालामा बिहीवार भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले सबै विकेट गुमाएर २३३ रन बनाएको थियो।
जवाफमा यूएईले ४४औँ ओभरमा ५ विकेट गुमाएर सहजै लक्ष्य पूरा गर्यो।
बलिङमा सङ्घर्ष

तस्बिर स्रोत, CAN
अलिशान सराफूले २६ बलमा ४५ रन दिएर यूएईलाई सानदार सुरुवात दिलाएका थिए।
'पावरप्ले'मा यूएईले जम्मा १ विकेट गुमाएर ६३ रन जोडिसकेको थियो।
नवौँ ओभरमा अलिशान र १२औँ ओभरमा सोहेब खान मात्र १ रनको अन्तरमा आउट भएपछि नेपाली टोलीमा केही बेर खुसी छाएको थियो।
तर यूएईले १८ औँ ओभरमा १०० रन जोडिसकेको थियो।
अर्का ओपनर आर्यांश शर्माले ९८ रन जोडेर नेपाललाई हारतर्फ डोहोर्याइदिए। पैतीसौँ ओभरमा उनी पनि सन्दीप लामिछानेद्वारा 'कट एन्ड बोल्ड' त भए तर त्यो एकदमै ढिला भइसकेको थियो।
आर्यांशलाई साथ दिइरहेका मोहम्मद वासिम (२६ रन) लाई रोहित पौडेल र कुशल भुर्तेल मिलेर रनआउट गराएका थिए।
चालीसौँ ओभरमा हर्षित कौशिकलाई दीपेन्द्रसिंह ऐरीले आउट गरिदिए। तर त्यति बेलासम्म धेरै ढिला भइसकेको थियो।
नेपालबाट सन्दीप लामिछानेले दुई तथा दीपेन्द्र र करण केसीले एकएक विकेट लिएका थिए।
हारपछि कप्तान रोहितले भने, " हामीले २७०/८० रनसम्म पुग्ने लक्ष्य राखेका थियौँ। तर दीपेन्द्र र गुलशन आउट भएपछि मुस्किल भयो। हामी योजनाअनुसार बलिङ गर्न पनि चुक्यौँ। "
ब्याटिङमा कप्तानको भर
पहिलो ब्याटिङ रोज्ने कप्तान रोहित पौडेलको निर्णय त्यति बेला सङ्कटमा परेको थियो, जब नेपालले पहिलो पावर प्लेमा ३३ रन मात्र जोड्न सक्यो। त्यति बेलासम्म दुई मुख्य खेलाडी टोलीले गुमाइसकेको थियो।
प्रारम्भिक ब्याटर कुशल भुर्तेल ७ रन र भीम सार्की ३ रनमा आउट भएपछि नेपालको सुरुवात खराब बनेको थियो। आशिफ शेखले ३५ रन बनाएर स्कोर उकास्न प्रयास गरेका थिए।
तर उनी आउट भएपछि कप्तान रोहित एक्लैले क्रीजमा सङ्घर्ष गरे। बाँकी खेलाडीहरू भने जम्न सकेनन्।नेपाली ब्याटिङ रोहित पौडेलको एकल प्रदर्शनजस्तै देखिएको थियो।
उनले आरिफ शेखसँग मिलेर चौथो विकेटका लागि ७० रनको साझेदारी गरे। आरिफले २७ रन बनाए।

तस्बिर स्रोत, CAN
त्यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीसँग पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गरे।
दीपेन्द्र २३ रन बनाएर खेलिरहेको अवस्थामा रनआउट हुनु नेपालको लागि दुर्भाग्य बन्न पुगेको थियो।
त्यसपछि आएका कुनै पनि खेलाडीले रोहितलाई साथ दिन सकेनन्। लगत्तै अर्को बलमा गुलशन झा पहिलो बलमा नै आउट भएका थिए।
रोहित ४८ औँ ओभरको अन्तिम बलमा आउट हुन पुगेका थिए। त्यति बेला नेपाल आठ विकेटको क्षतिमा २ १७ रनको स्थितिमा थियो।
सोमपाल कामीले ६ रन र करण केसीले १३ रन बनाई आउट भएका थिए । सन्दीप लामिछाने ३ रनमा अविजित रहे।
शतक
यूएईविरुद्ध रोहित पौडेलले बनाएको १०९ रन उनको एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक हो। योसँगै उनी दुई एकदिवसीय शतक बनाउने पहिलो नेपाली पनि बनेका छन्।
यस क्रममा १३० बलको सामना गरेका रोहितले पाँच चौका र दुई छक्का प्रहार गरेका थिए। अन्य खेलाडीहरू एकपछि अर्को गरी आउट भइरहेको बेला मैदानमा डटेर उनले खेल सम्हालेका थिए।
रोहितले पहिलो अन्तर्राष्ट्रिय शतक सन् २०२२ मा पपुवा न्यू गिनी 'पीएनजी'विरुद्ध बनाएका थिए। काठमाण्डूमा खेलिएको दुई एकदिवसीय शृङ्खलामा रोहितले १२६ रन जोडेका थिए, जुन उनले बनाएको अहिलेसम्मको उच्च स्कोर पनि हो।
नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने खेलाडीहरूमा पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल र भीम सार्की छन्।
रोहित यसअघि दुई पटक 'नर्भस नाइन्टिज' को सिकार भएका थिए। सन् २०२२ मा उनले कीर्तिपुरमा स्कटल्यान्डविरुद्ध अविजित ९५ रन बनाएका थिए भने गत वर्ष अमेरिकाको ड्यालसमा अमेरिकाविरुद्ध ९६ रन बनाएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








