लीग २ को नयाँ शृङ्खलाको पहिलो खेलमा नेपालको हार

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
विश्वकप क्रिकेट लीग २ को नयाँ शृङ्खलाअन्तर्गत दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पहिलो दिनको खेल नेपाली टोली लागि सुखद रहेन।
लीग २ को पाँचौँ शृङ्खलाको पहिलो दिनको खेलमा अमेरिकाले नेपाललाई १०६ रनले सहजै पराजित गर्यो।
नेपाली खेलाडीहरूले न त बलिङमा कुनै प्रभाव देखाउन सके न त ब्याटिङमा नै लय समाउन सके।
फलत: २६२ रनको चुनौतीपूर्ण स्कोर बनाएको अमेरिकाविरुद्ध ब्याटिङ गर्न आएको नेपाली टोली १५६ रनमा समेटियो।
यो हारले आठ राष्ट्रबीच चार वर्षसम्म चल्ने जारी प्रतियोगिताको तालिकामा नेपाल सातौँ स्थानमा १२ अङ्कका साथ अड्किएको छ। अमेरिकाले भने ३० अङ्क जोड्दै शीर्ष स्थानमा रहेको स्कटल्यान्डसँग बराबरी गरेको छ।
विफल ब्याटिङ

तस्बिर स्रोत, CAN
दुबईको यो मैदानमा नेपालले यसअघिका खेलमा पनि ब्याटिङमा सङ्घर्ष गरेको थियो।
आज ओपनर कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमा नै आउट भएसँगै नेपाली ब्याटरको सङ्घर्ष सुरु भएको थियो।
अमेरिकी बलरहरूले कसिकसाउ बलिङ गर्दै एकपछि अर्को विकेट लिन थालेपछि नेपाली टोलीले पूरै इनिङ्स दबावमा खेलेको थियो।
आशिफ शेख (३७ रन) र भीम सार्की (२९ रन) ले सम्हालिएर खेल्दै स्कोर बढाउन प्रयास गरे। पहिलो 'पावरप्ले'मा ३५ रन जोडेर यी दुईले खेलमा नियन्त्रण बनाउन खोजेका थिए।
तर १६ औँ ओभरमा यी दुवै जना चार बलको अन्तरमा आउट भएपछि नेपालका लागि थप कठिनाइ आइपर्यो। कप्तान रोहित पौडेल २ रनमा आउट भए भने आरिफ शेख २० रनमा रनआउटको सिकार हुन पुगे।
एउटा एन्डमा दीपेन्द्रसिंह ऐरीले सङ्घर्ष गरिरहँदा अर्को एन्डमा एकपछि अर्को विकेट गुमिरह्यो। गुलशन झा ३ रन, सोमपाल कामी ११ रन, करण केसी २ रन र सन्दीप लामिछाने ० रनमा आउट भएपछि नेपालको हार सोचेभन्दा एकदमै सहज भयो।
दीपेन्द्र ४० औँ औभरमा रन बनाएर आउट भएसँग खेल सकियो।
बलिङमा झट्का

तस्बिर स्रोत, CAN
टस जितेर पहिलो फील्डिङ रोजेको नेपालले पहिलो १० ओभरमा ३२ रन मात्र दिएर कसिकसाउ बलिङ गरेको थियो।
त्यतिबेला सोमपाल कामीले ओपनर आन्ड्रीस गोसको विकेट लिएका थिए। त्यसपछि १५ औँ ओभरमा अमेरिकी कप्तान मोनाङ्क पटेल (१० रन) लाई आरिफ शेखले एलबीडब्ल्यूको धरापमा फसाएपछि बलिङमा नियन्त्रण बनाएका थिए।
तर एउटा एन्डमा ओपनर स्मित पटेलले सानदार इनिङ्स खेल्दै अमेरिकाको खेल सम्हालेका थिए। उनले साइतेजा मुक्कामलासँग तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेपछि अमेरिका लामो स्कोरतिर अगाडि बढेको थियो।
स्मित १०० बल खेलेर ७५ रन बनाएर खेलिरहँदा रनआउटको सिकार भएका थिए।
तेत्तीस ओभरमा उनी आउट हुँदा अमेरिकाको १४३ रन थियो। लगत्तै सन्दीप लामिछानेले साइतेजालाई बोल्ड गरेपछि अमेरिका १४५-४ को स्थितिमा आयो।
खेलको यो टर्निङ पोइन्टपछि नेपालले विपक्षी रनको गति रोकेको थियो।
तर मिलिन्द कुमारले ५० बलमा ७० रन बनाए। इनिङ्सलाई अझ आक्रामक बनाएपछि अमेरिका २६२ रनको चुनौतीपुर्ण स्कोर बनाउन सफल भएको थियो।
अमेरिकाले अन्तिम दुई ओभरमा ३२ रन जोडेको थियो। अन्तिम ओभरमा करण केसीले १९ रन दिएका थिए।
नेपालका लागि सन्दीप लामिछानेले दुई तथा आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले एक-एक विकेट लिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








