जासुसी बलुनमार्फत अमेरिकाको तथ्याङ्क चीनमा

बलुन

तस्बिर स्रोत, US AIR FORCE/DEPARTMENT OF DEFENCE/REUTERS

    • Author, माइक वेन्डलिङ
    • Role, बीबीसी न्यूज

यस वर्षको सुरुवातमा अमेरिकाको आकाशमाथि उडेको चिनियाँ बलुनलाई सुरक्षाको कारण देखाउँदै खसालिएको थियो। उक्त बलुन खसालिनुअघिसम्म कयौँ दिन सैन्य अखडाहरूबाट उसले गुप्तचर जानकारी सङ्कलन गर्न सफल भएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ।

बलुनले तत्कालको वास्तविक समयमा बेइजिङमा तथ्याङ्क पठाएको एनबीसी न्यूजले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ।

उक्त उपकरणले तस्बिर खिच्नुको साटो विद्युतीय सङ्केतहरू लिएको एकजना अधिकारीले बताएका छन्। यद्यपि, ह्वाइट हाउसले यसबारे हालसम्म कुनै पनि जानकारीको पुष्टि गरेको छैन।

यसअघि ह्वाइट हाउसले आकाशबाट खसालेका तीनवटा सन्दिग्ध वस्तुको “चिनियाँ जासुसी”सँग सम्बन्ध भएको कुनै सङ्केत नपाइएको ह्वाइट हाउसले जनाएको थियो।

तर अमेरिकी अधिकारीहरूले उक्त बलुन आफ्नो देशको आकाशमा उडेका कारण त्यसको खुफिया-सङ्कलन क्षमतालाई सीमित गर्न अमेरिका सफल भएको बताएका छन्।

सोमवार रक्षा मन्त्रालयका प्रवक्ताले एफबीआईले अझै पनि उक्त बलुनको भग्नावशेषहरूको जाँच गरिरहेको बताएको थियो।

चीन र अमेरिकाको झन्डा

तस्बिर स्रोत, Getty Images

"हामीलाई थाहा छ कि बलुन नियोजित रूपमा कुनै उद्देश्यसहित त्यसको मार्गमा चलाइएको थियो," प्रवक्ता सबरीना सिंहले भनिन्। उनले बलुन कुन सैन्य संरचनाहरूमाथि घुमिरहेको थियो भन्नेबारे चाहिँ प्रतिक्रिया जनाउन अस्वीकार गरिन्।

"हामी अझै पनि चीन उक्त बलुनको सहायतामा कस्ता सूचना सङ्कलन गर्न सक्षम थियो भन्नेबारे आवश्यक मूल्याङ्कन गरिरहेका छौँ। तर हामीलाई थाहा छ, हामीले अपनाएका उपायहरूले उनीहरूले पहिले नै उपग्रहहरूबाट सूचना सङ्कलन गर्न सक्ने क्षमताको तुलनामा निकै कम महत्त्व राख्छ," उनले भनिन्।

बलुन कहाँ उडेको थियो?

अमेरिकी अधिकारीहरूले फेब्रुअरीको सुरुमा अमेरिकी हवाई क्षेत्रमा पुनः प्रवेश गर्नु अघि अलास्काको अलेउटियन टापुहरू र क्यानडा हुँदै बिलिङ्ग्समा उडेको बताएका थिए।

आम मानिसहरूले बलुन महाद्वीपीय संयुक्त राज्यमाथि उडिरहेको जानकारी दिएपछि केही दिनसम्म त्यसको निगरानी, आकाशमै अवलोकन भए र त्यसबारे विविध आकलनहरू हुन थाले।

मानिसहरूले आकाशमा पहेँलो गोलो वस्तुको तस्बिरहरू साझा गरेका थिए जुन चन्द्रमाबाट पर देखिन्थ्यो।

redline
redline

करिब २०० फिट अग्लो उक्त उपकरणलाई अमेरिकी लडाकु विमानले फेब्रुअरी ४ मा साउथ क्यारोलिनाको तटमा खसाल्यो।

अमेरिकी अधिकारीहरूले पछि उक्त बलुन भेटेको बताएका थिए। चिनियाँ अधिकारीहरूले भने त्यो नागरिकले उडाएको मौसमबारे जानकारी लिने बलुन भएको दाबी गरेका थिए र

अधिकारीहरूले अमेरिकी मिडियालाई बताए अनुसार त्यस बलुनमाथि चीनको नियन्त्रण थियो। त्यसैले त्यसले सैन्य अड्डाहरू हुँदै पटक पटक आवतजावत गर्न सकेको थियो। त्यसले कहिले काहीँ आठको आकारमा उडान भरेको थियो।

यस घटनाले कूटनीतिक विवाद उत्पन्न गरायो र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले आफ्नो पूर्वनिर्धारित चीन भ्रमण रद्द गरे। उनले बेइजिङमा सुरक्षा, ताइवान र कोभिड-१९ लगायतका विभिन्न विषयहरूमा वार्ता गर्ने बताइएको थियो।

बलुन खसालेको केही सातापछि अमेरिकी लडाकु विमानहरूले चीन निर्मित भएको आशङ्कामा अन्य धेरै बलुनहरूलाई तल झारेका थिए। अमेरिकी रक्षा मन्त्रालयलेे चीनले विश्वभर बलुनहरूको सामूहिक सञ्चालन गरिरहेको जनाएको छ।