रुस र युक्रेन 'ब्ल्याक सी'मा युद्धविराम गर्न सहमत

तस्बिर स्रोत, Getty Images
- Author, इयन इकमन
- Role, बीबीसी न्यूज
रुस र युक्रेनले अमेरिकासँग छुट्टाछुट्टै सम्झौता गर्दै ब्ल्याक सीमा नौसैनिकहरूबीच युद्धविरामका लागि सहमति जनाएका छन्। साउदी अरबमा तीन दिन चलेको शान्ति वार्तापछि यस्तो विकासक्रम देखा परेको हो।
वाशिङ्गटनले ती सम्झौताहरू घोषणा गर्दै आफ्नो विज्ञप्तिमा सबै पक्षहरूले "बलियो र दिगो शान्ति" तर्फ काम गरिरहने बताएको छ। यस सम्झौताले एउटा महत्त्वपूर्ण व्यापार मार्ग पुनः सञ्चालित गर्नेछ।
ह्वाइटहाउसका अनुसार उनीहरूले एक अर्काको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने पहिले नै गरिएको सहमति लागु गर्ने "उपायहरू तय गर्न" प्रतिबद्धता समेत जनाएका छन्।
तर रुसले आफ्ना खाद्य र मलखादका व्यापारविरुद्ध लगाइएका कैयौँ प्रतिबन्धहरू हटाइएपछि मात्र यस युद्धविराम लागु हुने जनाएको छ।
अमेरिकी अधिकारीहरू रियादमा युद्धविराम गराउने उद्देश्यसाथ मस्को र किएभका वार्ताकारहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन्।
तर रुसी र युक्रेनी प्रतिनिधिमण्डलहरू भने प्रत्यक्ष भेटेका छैनन्।
'सही दिशातर्फको एक कदम'
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त सागरमा हमला रोक्ने सम्झौतालाई सही दिशातर्फको एक कदम बताएका छन्।
"यसले काम गर्नेछ भनिहाल्नु निकै हतार हुनेछ, तर यी उपयुक्त बैठक, उपयुक्त निर्णय, उपयुक्त कदमहरू थिए," किएभमा आयोजित पत्रकार सम्मेलनमा उनले भने।
"यसपछि कसैले युक्रेनलाई दिगो शान्तिका लागि अग्रसर नभएको भनेर आरोप लगाउन सक्दैन।"
यसअघि जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति सम्झौतामा अवरोध पुर्याएको आरोप लगाएका थिए।
तर वाशिङ्गटनको घोषणा लगत्तै क्रेमलिनले अन्तर्राष्ट्रिय खाद्य तथा मलखाद व्यापारमा संलग्न रुसी ब्याङ्क, उत्पादक र निर्यातकर्ताहरूमा लगाइएको प्रतिबन्ध नहटाएसम्म ब्ल्याक सी युद्धविराम लागु नहुने बतायो।
अमेरिका के भन्छ?
ह्वाइटहाउसको विज्ञप्तिमा चाहिँ यस सम्झौता कहिलेदेखि लागु हुने भन्ने कुरा स्पष्ट थिएन।
प्रतिबन्धहरू हटाउने विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा ट्रम्पले भने: "हामी अहिले ती सबै विषयमा सोचिरहेका छौँ। हामी त्यसलाई हेरिरहेका छौँ।"
अमेरिका-रुस वार्ताबारे वाशिङ्गटनको विज्ञप्तिमा अमेरिकाले "कृषि र मलखाद निर्यातको लागि विश्व बजारमा रुसको पहुँच पुनर्स्थापित गर्न मद्दत गर्ने" उल्लेख छ।
किएभमा बोल्दै जेलेन्स्कीले त्यसलाई "आधार कमजोर पारेको" रूपमा व्याख्या गरे।

उनले यदि मस्को आफ्नो प्रतिबद्धताबाट पछि हटेमा युक्रेनले रुसमाथि थप प्रतिबन्ध र अमेरिकाबाट थप सैन्य सहयोगको लागि जोड दिने बताए।
युक्रेनीहरू लक्षित आफ्नो रात्रिकालीन सम्बोधनमा जेलेन्स्कीले ब्ल्याक सीको युद्धविराम प्रतिबन्ध हट्ने कुरामा निर्भर हुने भनेर क्रेमलिनले झुटो बोलेको बताए।
विगतको प्रयास
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण आकारको हमला गरेपछि त्यसै वर्ष ब्ल्याक सीमा व्यावसायिक पानीजहाजहरूको सुरक्षित आउजाउ गर्ने अनुमति दिएको थियो।
युक्रेन र रुस दुवै प्रमुख खाद्यान्न निर्यातकर्ता भएकाले युद्ध सुरु भएपछि तिनको भाउ बढेको थियो।
युक्रेन जाने कार्गो जहाजहरूलाई रुसले आक्रमण नगरी सुरक्षित रूपमा आउजाउ गर्न अनुमति दिन "ब्ल्याक सी खाद्य सम्झौता" राखिएको थियो।
त्यतिखेरको उक्त सम्झौताले अन्न, सूर्यमुखी तेल र खाद्य उत्पादनको लागि आवश्यक मलखाद जस्ता अन्य सामग्री ब्ल्याक सीमार्फत् ढुवानीलाई सहज बनाएको थियो
त्यो सुरुमा १२० दिनका लागि भए तापनि कैयौँ पटक लम्ब्याइएपछि रुसले सन् २०२३ को जुलाईमा सम्झौताका मुख्य कुराहरू कार्यान्वयन नभएको दाबी गर्दै फिर्ता लिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








