वर्षाका कारण देशभर जनजीवन प्रभावित, पानी कहिलेसम्म पर्छ?

तस्बिर स्रोत, Getty Images
हिउँद याम सकिन लागेसँगै भइरहेको वर्षाका कारण देशभरको तापक्रम चिसिएको विज्ञहरूले बताएका छन्। रामेछाप, दोलखा, ताप्लेजुङ, बागलुङलगायत हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा हिमपातसमेत भएकाले जनजीवन प्रभावित बनेको विवरणहरू सार्वजनिक भएका छन्।
वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार केही दिनयता जल तथा मौसम विज्ञान विभागमा मौसमी अवस्थाबारे विभिन्न जिज्ञासासहित सम्पर्क गर्नेहरूको सङ्ख्या बढ्दो छ। विशेषगरी विभिन्न पदयात्रा वा पर्वतारोहणमा हिँडेकाहरूले चासो देखाउने गरेका छन्।
“हिमाली क्षेत्रमा पदयात्राका लागि पुगेका कतिपयले ‘हामी यो ठाउँमा पुगेका छौँ के गरौँ?’ भनेर फोन गरिराख्नु भएको छ। हामीले पूर्वानुमानको आधारमा आज वर्षासँगै अन्य मौसमी प्रतिकूलताका कारण नहिँड्न र भोलि र पर्सि मात्र हिँड्न सुझाव दिएका छौँ,” उनले भनिन्।
विज्ञ कँडेलका अनुसार पहाडी तथा हिमाली क्षेत्रमा रहेका सर्वसाधारणले विशेष सतर्कता अपनाउनु पर्ने स्थिति छ। कारण- अहिले वर्षा र हिमपातसँगै हावाहुरी, मेघ गर्जन र चट्याङसमेत परिरहेका छन्।
“यो मौसमी अवस्थामा प्राकृतिक प्रकोपसाथै अन्य जोखिम बढ्छन्। त्यसैले कुनै पनि किसिमको प्रत्यक्ष तथा परोक्ष असरबाट बच्न सतर्क रहनु उचित हुन्छ,” उनले भनिन्।


अहिले वर्षाको कारण के?
नेपालमा मनसुनपूर्व उत्पन्न हुने स्थानीय वायुप्रणाली र पश्चिमी वायु सक्रिय भएका कारण वर्षा भएको जानकारहरू बताउँछन्। मौसमविद् शान्ति कँडेलका अनुसार पानी पर्नका लागि आवश्यक जलवाष्पयुक्त हावा पनि देखिएको छ।
“पानी पर्नका लागि जुन हावामा पानीको मात्रा आवश्यक पर्छ त्यो अरब सागर र बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको देखिन्छ। त्यसैले केही दिनदेखि देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ,” उनले जानकारी दिइन्। सोही जलवाष्पयुक्त हावाका कारण केही दिनयता बिहानको समयमा घाम लागे पनि दिउँसो मौसम धुम्म हुने र पानी पर्ने गरेको उनले बताइन्।
पछिल्लो २४ घण्टामा भने केही स्थानमा मध्यम र केहीमा भारी वर्षा भइरहेको कँडेलले जानकारी दिइन्।
“उच्च पहाडी तथा हिमाली भूभागहरूमा पूर्वदेखि पश्चिमसम्म नै हल्का हिमपात भइसकेको ट। यो वर्षा हिमपात मेघ गर्जन र चट्याङ सहित हुन्छ। र यसले मानिसको दैनिकीमा असर पार्छ।“
नेपालमा मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको अवधिलाई हिउँद मानिन्छ। यो वर्ष सो अवधिमा औसत ११.७ मिलिमिटर मात्र वर्षा भएको विभागको तथ्याङ्क छ।
हिउँद सकिएयता मार्च महिनाभरिमा काठमाण्डू उपत्यकाभित्र मात्र ३४.२ मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको थियो। उक्त अवधिमा अहिलेसम्म २८.२ प्रतिशत वर्षा भएको जनाइएको छ।
“अहिलेसम्म मापन भएको मात्रा अनुसार काठमाण्डूमा अपेक्षित औसत वर्षाको हाराहारी पुग्ने सम्भावना देखिन्छ,” कँडेलले भनिन्।

तस्बिर स्रोत, RSS
कस्ता असर पर्छन्?
लामो खडेरीपछि पानी परेकाले केही स्थानका किसानहरूलाई केही राहत हुने जानकारहरूले बताएका छन्। अहिलेको वर्षाले विशेषतः छोटो जरा हुने कोसेबालीलाई केही "राहत" पुग्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का प्रमुख टीकाबहादुर कार्कीले यसअघि बीबीसीलाई बताएका थिए।
तर सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अनपेक्षित वर्षाका कारण दालका विभिन्न प्रजाति खेती गरेका किसानहरू मर्कामा परेका छन्।
सर्लाहीमा वर्षाले गर्दा मुसुरोको दाल, मटर कोसालगायत कोसे बालीमा आंशिक क्षति पुगेको यादवको भनाइ छ।
“पानी पर्नुले वातावरण केही सफा र शीतल भएको छ। अहिले परेको पानी किसानले चाहेका थिएनन्। केही किसानहरूले वर्षाका कारण बाली क्षति भएको गुनासो गरेका छन्,” यादवले भने।
यद्यपि, पहाडी भेगमा किसानहरू सिँचाइका लागि धेरैजसो आकाशे पानीमै भर पर्ने भएकाले यसको खेती पातीमा ठूलो महत्त्व रहेको वरिष्ठ वैज्ञानिक कार्कीले बताएका छन्। पहाडी भेगमा यस पटक उत्पादन कम हुने पहिल्यै आकलन गरिएकोमा यस वर्षाले त्यहाँ केही राहत दिएको उनको भनाई छ।
स्वास्थ्यमा प्रभाव
वर्षाका कारण वायुमण्डलमा जम्मा भएको धुलोका कण पखालिएर सफा देखिने भए पनि त्यसले मानिसको स्वास्थ्यमा असर पुर्याउने विज्ञहरूले चेतावनी दिएका छन्।
“वायुमण्डलमा रहेका केही खतरायुक्त धुलोका कणहरू पानीबाट तल खस्छन्। त्यसले स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ,” विज्ञ शान्ति कँडेलले भनिन्।
मौसम परिवर्तन हुने विविध समयमा इन्फ्लूएन्जा अर्थात् मौसमी फ्लूको समस्या समेत देखिने बताउँछन् विज्ञ डा. विमल शर्मा चालिसे।
“यो निकै छिटो सर्छ। प्राय सङ्क्रमित मानिसको श्वास प्रश्वासबाट यो सहजै फैलन्छ। त्यसैले बिरामीको नजिक जानु नै पहिलो जोखिम हो,” उनले यसअघि बीबीसीसँग बताएका थिए।
फ्लूमा अचानक ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्ने र हाच्छिउँ आउनेजस्ता लक्षण देखिने विज्ञहरू बताउँछन्।
अन्य कठिनाइ
वर्षाका कारण दुर्घटनाको जोखिम बढ्ने सम्भावनाबारे बताउँछिन् विज्ञ कँडेल। काठमाण्डूका सडकपेटी भत्काउनेदेखि देशका विभिन्न स्थानमा भइरहेका सडकलगायत संरचना निर्माण कार्य अवरुद्ध भएको उनले जिकिर गरिन्।
त्यस्तै उड्डयन सेवा अवरुद्ध हुनेदेखि कतिपय स्थितिमा उद्धारका उडानहरू समेत रोकिएको बताइन्छ।
“जनजीवनसँगै विकास तथा निर्माण कार्य पनि प्रभावित भएकाले मौसम सुधारबारे जिज्ञासाहरू आइरहेका छन्,” उनले भनिन्।


के छ पूर्वानुमान
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने क्रम जारी छ। बुधवारदेखि भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसम विभागले जनाएको छ।
“क्रमिक सुधार भन्दैमा पानी नै पर्दैन भन्ने होइन। भोलि र पर्सी, हिजो र आजको तुलनामा मौसम सफा हुन्छ। पहाडी भूभागमा भने वर्षाको क्रम जारी रहन्छ। यो बेला हावाहुरीको सम्भावना पनि उस्तै छ,” विज्ञ कँडेलले भनिन्।
मङ्गलवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा क्षणिक रूपमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बुधवार देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ।








