सिन्धुपाल्चोक विपद्: "मेलम्ची नदीमा एक घण्टाभित्र अस्वभाविक पानीको मात्रा देखियो"

नदीमा बाढी

तस्बिर स्रोत, EPA

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा आकस्मिक रूपमा आएको बाढीको कारण बुझ्न गएको अधिकारी र विज्ञहरूले माथिल्लो तटीय क्षेत्रमा ठूला पहिरोहरू गएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।

शनिवार विपद् अधिकारीहरू सहित मौसमविद्, जलविद् र भूगर्भविद्हरू रहेको १० सदस्यीय टोली मेलम्ची बजार र चनौटेसम्म पुगेको थियो।

त्यहाँभन्दा केही माथिको किउल भन्ने ठाउँसम्म नदी आसपासको भूभागमा समेत हवाई निरीक्षण गरिएको उक्त दलका सहभागीहरूले बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्राविधिक सहसचिव अमृत श्रेष्ठले पहिरोले नदी थुनेर पछि त्यो बाँध फुट्दा आकस्मिक बाढी आएको सुरुवाती सङ्केत देखिएको बताउँछन्।

"त्योभन्दा माथि धेरै पानी परेको हुनसक्छ। तर मापनविन्दुहरू त्यसतर्फ नहुनु र हामी समेत मौसमको कारण नदीको उपल्लो स्रोतसम्म पुग्न नसक्दा अहिलेलाई थप भन्न सकिने अवस्था छैन।"

के देखे निरीक्षण टोलीले?

मङ्गलवारको जलवायु विवरण केलाउँदा समेत नाकोटे भन्ने ठाउँमा रहेको नदीमापन केन्द्रमा जलसतह ४.७ मिटरबाट तीन मिटरमा खसेको देखिएको प्राधिकरणका अधिकारीहरू बताउँछन्।

त्यसपछि एक्कासि छ मिटर देखाएर उक्त मापन उपकरण नदीले बगाएर हराएको देखिएको बताइएको छ।

"तथ्याङ्कले बीचमा एक घण्टा जति पानी घटेको र पछि ह्वात्तै बढेको देखाएको छ। त्यो सहज अवस्थामा वर्षाको बेला नहुने प्रवृत्ति हो," मौसम विज्ञान विभागका जलविद् रुद्र परियार भन्छन्।

"जसको अर्थ बीचमा केही बेर कतै नदी थुनिएको भन्ने सङ्केत हो।"

चनौटे र मेलम्चीजस्ता ठाउँमा लेदो माटो र ढुङ्गाको मात्र उच्च रूपमा थुप्रिनुले समेत त्यसको स्रोत माथि भइरहेको भूक्षय नै हुनुपर्ने विज्ञहरू बताउँछन्।

माथिपट्टि भएको हुनसक्ने भूक्षयले जम्मा पारेकै थिग्र्यान बगेर आउँदा तीनदेखि झन्डै १० मिटरसम्म खोलाको सतहमा ढुङ्गा-माटो पुरिएको पाइएको दलका विज्ञहरूले बताएका छन्।

हेलम्बु

तस्बिर स्रोत, RSS

जलविद् परियार थप्छन्, "हामी नदीको स्रोत र थप माथिल्लो तटीय क्षेत्रमा पुग्न नसक्दा पहिरो एउटै ठूलो गएको हो वा थुप्रै पहिरो गएका हुन् भनेर यकिन गर्न सकिने अवस्था छैन।"

२०७२ सालको भूकम्पपछि उच्च गतिमा चलायमान भएको सो क्षेत्रमा गुगल नक्साबाट मूल्याङ्कन गर्दा माथिल्लो तटीय क्षेत्रमा पहिरोको सम्भावित ठाउँहरू समेत देखिने विपद् अधिकारीहरू बताउँछन्।

थप सङ्कट टार्ने उपाय के?

तिनै उच्च मात्राका थिग्र्यानका कारण मेलम्ची र इन्द्रावती नदीले आफ्नो नियमित लय समात्न सङ्घर्ष गरिरहेको र त्यसले आसपासका बस्तीलाई अझै जोखिममा पारेको विवरणहरू आएका छन्।

"हाम्रो निरीक्षणमै पनि नदीको दुवैतर्फको भूभाग तीव्र रूपमा कटानमा परिरहेको देखिएको छ। जसले तल्लो भूभागमा थिग्र्यान थप थोपारिरहेको छ," प्राधिकरणका श्रेष्ठ थप्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सिन्धुपाल्चोकमा बाढीपहिरोको वितण्डा

"थिग्र्यानले पुरिएर नदीको उँचो भएपछि तत्कालका लागि तटीय भेग सुरक्षित पार्न नदीलाई नियमित लयमा फर्कने गरी ससाना लय खुलाउने एवं किनारालाई सबलीकरण गर्न आवश्यक छ।"

तर वास्तविक स्रोतको पहिचान अझै हुन नसक्दा त्यसले नै पूर्ण रूपमा काम गरिहाल्छ भन्ने सुनिश्चितता नरहेको अधिकारीहरूको भनाइ छ।

नदीमा अझै उच्च वेगमा ढुङ्गा बगेर आइरहेको आवाज नै सुनिएको निरीक्षणमा गएका विज्ञहरू बताउँछन्।

चनौटेको एउटा बस्ती एउटा ठूलो ढुङ्गाको भरमा रहेको र त्यसलाई थप आड दिनुपर्ने अवस्था रहेको समेत उनीहरू बताउँछन्।

पानी कति पर्‍यो 'थाहा छैन'

मेलम्ची खोला

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, मेलम्ची नदीमा गत मङ्गलवार बाढी आएको थियो

अर्को एउटा सम्भावना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रमा धेरै पानी नै परेको पनि हुनसक्छ भन्ने कतिपयले ठानेका छन्।

त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्रका प्राध्यापक डा. तारानिधी भट्टराईले त्यस क्षेत्रमा पानी मापन केन्द्र नभएका कारण त्यो सम्भावनालाई हेर्ने वैज्ञानिक विवरण नभएको बताउँछन्।

"तर भूउपग्रहबाट प्राप्त विवरणको मूल्याङ्कन गरेर मोटामोटी रूपमा परेको पानीको मात्र हेर्दा धेरै पानी परेको देखिँदैन। हिमताल फुटेर त्यस्तो भएको हो कि भन्नलाई माथिपट्टि ठूलो हिमताल भएको प्रमाण पनि देखिँदैन।"

सरकारी टोलीमा विज्ञको रूपमा शनिवार सिन्धुपाल्चोक पुगेका डा. भट्टराई नदीले उच्च रूपमा कटानलाई हेर्दा बाढीको कारण पत्ता लगाउनु महत्त्वपूर्ण हुने बताउँछन्।

उनको भनाइ छ, "माथिल्लो तटीय क्षेत्रमा केही न केही जलवायुजन्य घटना घटेको छ। तर त्यो ठ्याक्कै यही नै भएको भनेर हाम्रो भ्रमणले अझै ठोकुवा गर्न सक्ने अवस्था छैन।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, सिन्धुपाल्चोकका बाढीपीडित भन्छन्, 'सर्वस्व लग्यो, अब सरकारको आस'