जब भाले ठानिएको गोरिलाले बच्चा जन्मायो

गोरिला

तस्बिर स्रोत, COLUMBUS ZOO / TWITTER

अमेरिकाको ओहायोस्थित एउटा चिडियाखानाका कर्मचारीहरूलाई गोरिलाले चकित बनाइदियो। उनीहरूले चार वर्षदेखि भाले ठानेको त्यो गोरिलाले बच्चा जन्माएपछि सबै अचम्ममा परे।

सन् २०१९ देखि कोलम्बस चिडियाखानामा राखिएको सली नाम दिइएको उक्त गोरिला बिहीवार बच्चासहित भेटिएको थियो।

चिडियाखानामा जनावरको रेखदेख गर्ने कर्मचारीहरूले नवजात गोरिला “स्वस्थ देखिएको” र सलीले पनि उत्कृष्ट मातृत्व देखाइरहेको बताएका छन्।

एउटा ब्लग पोस्टमा उनीहरूले सलीको स्वास्थ्य सधैँ राम्रो भएका कारण उसलाई कहिल्यै स्वास्थ्य परीक्षण आवश्यक नभएको उल्लेख गरेका छन्। त्यही कारण उनीहरू त्यो गोरिला पोथी भएको थाहा पाउनबाट चुकेका थिए।

उक्त जन्म “अप्रत्याशित थियो तर हेरचाह गर्ने टोलीका लागि उत्साहजनक पनि भयो। सङ्कटापन्न वन्यजन्तुको संरक्षणका दृष्टिले पनि यो महत्त्वपूर्ण छ,” ब्लगमा भनिएको छ।

चिडियाखाना रेखदेख गर्ने कर्मचारीहरूका अनुसार उक्त गोरिलाले बच्चालाई दूध चुसाएको देख्नुअघि उनीहरूले त्यो पोथी भएको कुनै शङ्का गरेका थिएनन्।

गोरिलाहरूको लैङ्गिक पहिचान कठिन

“वयस्क नभएका गोरिलाहरूको लिङ्ग छुट्ट्याउन कठिन हुन्छ,” उनीहरू भन्छन्।

आठ वर्षको हुँदा सली बच्चा जन्माउने उमेरमा पुगेको भए पनि अझै आफ्नो लैङ्गिक गतिविधि देखाउने उमेर नभएको उनीहरूले बताएका छन्।

“आठ वर्षको उमेर सम्म भाले र पोथीहरू उत्रै आकारका देखिन्छन् उनीहरूको देखिने गरी यौनाङ्ग पनि विकास भएको हुँदैन। विशेष गरी भालेको। भालेहरू १२ वर्ष वा त्यो भन्दा ठूलो भएपछि मात्रै पछाडिपट्टि चाँदी रङ्गको पीठ देखिन्छ।”

गोरिलाहरूको गर्भावस्थाको लक्षण समेत छुट्ट्याउन सहज छैन। उनीहरूको ठूलो पेटको कारण वा उनीहरूको बच्चा मानिसको शिशुभन्दा धेरै सानो आकारको हुने भएकाले पनि हुनसक्छ।

“अति लोपोन्मुख यो प्रजातिको अर्को एउटा जन्मबाट हामी रोमाञ्चित भएका छौँ,” चिडियाखानाले भनेको छ।

गोरिलाको बच्चा जन्माउने पहिलो चिडियाखाना

दुर्लभ गोरिलाको चिडियाघरमा जन्म भएको पहिलो घटनाका रूपमा यसलाई लिइएको छ।

उक्त चिडियाखानाले भनेको छ, “सन् १९५६ यता ३४औँ गोरिला जन्मिँदा कोलम्बस चिडियाखाना गोरिलाको बच्चालाई स्वागत गर्ने पहिलो चिडियाखाना बनेको छ। जनावरको संरक्षण गर्ने हाम्रो महत्त्वपूर्ण कामकै एउटा पाटो यी गोरिला पनि हुन्।”

चिडियाखानाले हालै जन्मिएका बच्चाको पिता पहिचानका लागि डीएनए परीक्षण गरिने जनाएको छ।

सली ३९ वर्षको म्याक नामको भालेसँगको समूहमा बस्छे। तर यो समूहमा १० वर्षका कमोली र ६ वर्षका जेजे पनि बस्छन्।

कोलम्बस चिडियाखानाले सलीको बच्चाको लिङ्गबारे भने आफूहरू निश्चित भइसकेको जनाएको छ।

“त्यो पोथी हो। हाम्रो टिमले हेरेर र उसको तस्बिर जीवविज्ञान विज्ञहरूलाई पठाएर पनि निश्चित गरेको छ,” चिडियाखानाले भनेको छ।