मर्स्याङ्दी नदीमा खसेको बसमा सवार 'कम्तीमा २७ जनाको मृत्यु'

राजमार्गबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय नम्बर प्लेट भएको बस

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, राजमार्गबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय नम्बर प्लेट भएको बस

तनहुँ जिल्लास्थित आँबुखैरेनीनजिकै शुक्रवार बिहान मर्स्याङ्दी नदीमा खसेको बसमा सवार कम्तीमा २७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताएका छन्।

उनका अनुसार गम्भीर अवस्थामा रहेका १६ घाइतेलाई सेनाको उक्त हेलिकप्टरबाट उपचारका लागि काठमाण्डू पठाइएको छ।

उनीहरूलाई महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ।

उक्त सडक दुर्घटनामा ज्यान गुमाएका २७ जनाको शव परीक्षणका लागि भरतपुर ल्याइएको अधिकारीहरूले बताएका छन्।

त्यसपश्चात् ती शवहरू भारत लगिने र आफन्तहरूलाई हस्तान्तरण गरिने बताइएको छ।

भारतीय दूतावासका प्रतिनिधि र नेपाली अधिकारीहरू चितवनस्थित भरतपुर अस्पतालमा रहेका हाम्रा संवाददाता ईश्वर जोशीले जनाएका छन्।

उक्त बस नेपालको रूपन्देही जिल्लाको बेलहिया नाका हुँदै गत भदौ ४ गते नेपाल प्रवेश गरेको रूपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बीबीसीका केशव कोइरालालाई बताएका छन्।

उक्त बस पोखराबाट काठमाण्डूतिर जाँदै गर्दै आँबुखैरेनीको ऐनापहरानजिकै सडकबाट तल खसेको थियो।

यसअघि बीबीसीका प्रदीप बस्यालसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी गौतमले बसमा सवार केही मानिस बेपत्ता भएका र उनीहरूको खोजी भइरहेको बताएका थिए।

दिउँसो घटनास्थलको निरीक्षण गर्न पुगेका उनले "२९ जनाको उद्धार गरिएको र तीमध्ये १५ जना बोल्न सक्ने अवस्थामा रहेको" जानकारी दिएका थिए।

घाइतेमध्ये केहीको उपचारको क्रममा वा उपचार गर्न पठाउँदै गर्दा बाटोमा मृत्यु भएको हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

दुर्घटनाको कारण खुल्न बाँकी छ।

प्रत्यक्षदर्शी रूपेश तामाङका अनुसार दुर्घटना बिहान ११ बजेतिर भएको हो। उनी स्थानीयवासी हुन्।

पन्ध्र मिनेटपछि आफू बस खसेको ठाउँमा पुग्दा यात्रुहरू यत्रतत्र छरिएको देखेको उनले बताएका थिए।

केही यात्रुहरूलाई प्रहरीसँग मिलेर आफूहरूले उद्धार गरेको उनले बताए।

सडकबाट तल खस्दा बसको छत छुट्टिएको छ।

बसमा को थिए

तनहुँ मर्स्याङ्दी बस दुर्घटनाका घाइतेको उद्धार गरिँदै

तस्बिर स्रोत, Reuters

डीएसपी भट्टका अनुसार केशरवानी परिवहनको उक्त बस गोरखपुरबाट नेपाल आएको हो।

बसमा चालक र सहयोगीबाहेक ४० जनाजति यात्रु भएको प्रहरीले जनाएको छ।

"दिउँसो ५ः०३ बजे भन्सार काटेर नेपाल आएका ४० यात्रु महाराष्ट्रका भएको अभिलेख छ," उनले भने।

सबै यात्रुहरू भदौ ४ गते भैरहवास्थित एउटा होटलमा बसेका थिए। उनीहरूलाई लिएर बस भोलिपल्ट बिहान पोखरातिर गएको भट्टले बताए।

प्रहरीका अनुसार आठ दिनको अनुमति लिएर उक्त बस नेपाल प्रवेश गरेको थियो।

ऐनापहरामा दुर्घटनास्थल

भारतीय अधिकारीको चासो

दुर्घटनाग्रस्त बसमा भएका यात्रुहरू भारतीय रहेको समाचारसँगै भारतीय अधिकारीहरूले घटनाबारे चासो व्यक्त गरेका छन्।

महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले 'एक्स'मा एक पोस्ट गर्दै उनीहरूमध्ये अधिकांश आफ्नो राज्यअन्तर्गत जलगाउँ जिल्लाका रहेको बताएका छन्।

आवश्यक समन्वयका लागि स्थानीय प्रहरी अधिकारीहरू उत्तर प्रदेश हुँदै नेपाली सीमासम्म आउने र राज्य सरकारले पनि नेपाल सरकारसँग समन्वय गरेर घाइतेहरूको उपचारको व्यवस्था मिलाउने उनले बताए।

यसैबीच काठमाण्डूस्थित भारतीय राजदूतावासले पनि स्थानीय अधिकारीहरूसँग समन्वय भइरहेको बताएको छ।

'अप्ठ्यारो ठाउँमा' दुर्घटना

दुर्घटनास्थलमा खिचिएका भिडिओ र तस्बिरमा मर्स्याङ्दी नदीको किनारामा दुर्घटनाग्रस्त बसको भग्नावशेष देखिन्छ।

यसअघि बस अप्ठ्यारो ठाउँमा खसेको हुनाले उद्धारमा कठिनाइ भएको आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालयका प्रमुख शिव थापाले बताएका थिए।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख भीष्मकुमार भूसालका अनुसार उद्धारकार्यमा सघाउन चिकित्साटोलीसहित एउटा हेलिकप्टर दुर्घटनास्थलमा पठाएको थियो।

आँबुखैरेनीमा दुर्घटना भएको हो

चितवनमा गुडिरहेको बसमा ढुङ्गा खस्यो

यसैबीच चितवन जिल्लामा पर्ने नारायणघाट-मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने ठाउँमा एउटा बस पल्टिँदा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बीबीसी संवाददाता ईश्वर जोशीका अनुसार गुडिरहेको बसमा बाटोमाथिबाट ढुङ्गा खस्दा उक्त बस अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले बताएको छ।

उक्त बस गौरबाट पोखरातर्फ जाँदै थियो।

गत महिना चितवनको सिमलतालमा दुइटा यात्रुवाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा खस्दा भारतीय नागरिकहरूसहित दर्जनौँ मानिसको मृत्यु भएको थियो।

ती बसमा सवार ६२ जनामध्ये तीन जना जीवितै बाहिर निस्किएका थिए भने २४ जनाको शव फेला परेको थियो।

दुवै बसको भग्नावशेष फेला परेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।