तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सन् २०२० को निर्वाचनमा हस्तक्षेप गर्न खोजेको भन्दै ट्रम्पविरुद्ध फेरि मुद्दा
- Author, म्याक्स माट्जा
- Role, बीबीसी न्यूज
संयुक्त राज्य अमेरिकामा अभियोजनकर्ताहरूले सन् २०२० को निर्वाचनमा हस्तक्षेप गर्न खोजेको विषयमा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध नयाँ अभियोगसहित मुद्दा चलाएका छन्। जो बाइडनसँग पराजित भएपछि ट्रम्पले मतपरिणाम प्रभावित पार्न खोजेको आरोप खेपेका छन्।
गत महिना अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपतिहरूले आफ्नो पदीय हैसियतमा गर्ने कामकारबाहीमा उन्मुक्ति पाउने आदेश दिएको थियो। त्यसपछि अहिले ट्रम्पविरुद्ध फेरि विभिन्न अभियोग लगाइएको हो।
संशोधित अभियोगपत्रमा पनि यसअघिकै चारवटा आपराधिक अभियोगहरू समाविष्ट छन्। यद्यपि अहिले ट्रम्पलाई त्यतिबेला पदासीन राष्ट्रपतिका रूपमा नभई राष्ट्रपति पदका एक उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ।
ट्रम्पले आफूले निर्वाचनमा हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आएका छन्। बरु उनले सन् २०२० को निर्वाचनमा मतदाताको नाममा व्यापक धाँधली भएको आरोप बिनाप्रमाण लगाउने गरेका छन्।
अमेरिकी न्याय मन्त्रालयका विशेष अभियोजनकर्ता ज्याक स्मिथले ट्रम्पविरुद्ध लगाएका चार अभियोगमा अमेरिकालाई धोका दिने षड्यन्त्र गरेको, एउटा सरकारी प्रक्रियामा अवरोध गर्ने षड्यन्त्र गरेको, एउटा सरकारी प्रक्रिया अवरोध गर्ने प्रयास गरेको र अधिकारविरुद्ध षड्यन्त्र गरेको आरोप लगाइएको छ।
ट्रम्पले यसअघि चारवटै अभियोगमा आफू निर्दोष रहेको दाबी गरेका थिए।
ट्रम्पका निजी वकिल टड ब्लान्शले यसबारे प्रतिक्रियाका लागि ट्रम्पको चुनावी अभियानसँग कुरा गर्न भने। तर उक्त अभियानले बीबीसीको प्रश्नमा कुनै उत्तर दिएको छैन।
आफ्नो सामाजिक सञ्जाल 'ट्रूथ'मा पोस्ट गर्दै ट्रम्पले आफूविरुद्धको नयाँ मुद्दालाई “मरेकालाई जिउँदो बनाउने प्रयास”को सङ्ज्ञा दिएका छन्। उनले यसलाई अमेरिकी जनताको ध्यान निर्वाचनबाट मोड्ने प्रयास भनेका छन्।
उनले यसलाई “तत्कालै खारेज गर्नुपर्ने” माग पनि गरेका छन्।
ट्रम्पको कानुनी टोलीसँग निकट एक स्रोतले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजसँग नयाँ अभियोजन “आश्चर्यको विषय नभएको” जनाएको छ।
नयाँ अभियोजनमा नयाँ के छ
अहिलेको अभियोगपत्रमा भाषाशैली र आरोपहरूसँग सम्बन्धित तर्कलाई परिष्कृत बनाउँदै सर्वोच्च अदालतले उन्मुक्तिबारे दिएको आदेशानुसार ट्रम्पमाथि अभियोजन हुन सक्ने तर्क गरिएको छ।
उदाहरणका लागि, अहिले ट्रम्पले चुनावी परिणाम उल्ट्याउन न्याय मन्त्रालयलाई दबाव दिएको पुरानो दाबी हटाइएको छ। यसअघि उच्च अदालतले ट्रम्पले न्याय मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिने कार्य गैरकानुनी नभएको ठहर गरेको थियो।
नयाँ अभियोगपत्र ३६ पृष्ठको छ। यसअघि हालिएको मुद्दामा अभियोजनपत्र ४५ पृष्ठको थियो।
मङ्गलवार विज्ञप्ति जारी गर्दै विशेष अभियोजनकर्ताको कार्यालयले नयाँ अभियोजनको कारणबारे स्पष्टीकरण दिएको छ। तर न्याय मन्त्रालयले यसबारेमा थप टिप्पणी गर्न अस्वीकार गरेको छ।
नयाँ अभियोगपत्रमा ट्रम्पले राष्ट्रपतिको हैसियतमा नभई एक नागरिकका रूपमा गरेका कार्यले निर्वाचनको परिणाम प्रभावित गर्ने प्रयास गरेको दाबी गरिएको छ।
“निर्वाचन परिणामको प्रमाणीकरण वा प्रक्रियागत कार्यमा प्रतिवादीको कुनै आधिकारिक भूमिका नभए पनि उम्मेदवारका रूपमा आफू नै निर्वाचित हुने उनको व्यक्तिगत स्वार्थ थियो,” नयाँ अभियोजनमा भनिएको छ।
अर्को हरफमा उनको चुनावी अभियानले जोर्जामा दायर गरेको मुद्दाको सन्दर्भ पनि उल्लेख गरेको छ। पुरानो अभियोगपत्रमा उक्त मुद्दा उनको नाममा दर्ता भएको भनिएको थियो। तर नयाँ अभियोगपत्रमा उक्त मुद्दा राष्ट्रपतिको उम्मेदवारको हैसियतमा उनले दायर गरेको उल्लेख छ।
नयाँ अभियोजनमा न्याय मन्त्रालयका अधिकारी जेफ्री क्लार्कमाथिको अभियोग पनि हटाइएको छ। पहिला सरकारी वकिलले क्लार्कले "फर्जी मतदाता" तयार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको आरोप लगाएका थिए।
फर्जी मतदाताकाण्ड के हो
राष्ट्रपति निर्वाचनको परिणाम छिनोफानो गर्ने निर्वाचक मण्डलको प्रणालीमा हस्तक्षेप गर्ने प्रयासमा फर्जी मतदाता प्रकरण भएको थियो।
रिपब्लिकन पार्टीको बहुमत रहेका सात राज्यका विधायिकाहरूलाई रिपब्लिकन निर्वाचकहरू मात्रै छान्न तर बाइडनले जितेका राज्यबाट कसैलाई पनि नछान्न मनाउने प्रयास गरिएको थियो।
वास्तविक निर्वाचकहरूको साटो त्यसरी छानिएका निर्वाचकहरूको मतलाई मान्यता दिन लगाउने र बाइडनको जित उल्ट्याउने प्रयासमा फर्जी प्रमाणपत्रहरू अमेरिकी सिनेटमा पठाइएको थियो।
अभियोगपत्रमा क्लार्कको नाम उल्लेख नभए पनि सार्वजनिक अभिलेखका आधारमा उनको पहिचान खुलाएका थिए।
नयाँ अभियोगपत्रमा बाइडनलाई निर्वाचित भएको प्रमाणपत्र दिने काम रोक्न ट्रम्पले उपराष्ट्रपति माइक पेन्सलाई मनाउन खोजेको भन्नेसहितका मुख्य आरोपहरू समाविष्ट छन्।
गत महिना सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सबीच भएका सबै संवाद राष्ट्रपतिको आधिकारिक काममा पर्ने बताएको थियो।
नयाँ अभियोगपत्रले विशेष अभियोजनकर्ता स्मिथले सर्वोच्च अदालतको आदेश आएपछि पनि मुद्दा चल्न सक्ने ठानेको देखिएको कोलम्बिया ल स्कूलसँग आबद्ध संवैधानिक कानुनका ज्ञाता ड्यान्यल चार्ल्स रिच्मनले बताए।
राष्ट्रपतिका कस्ता निजी गतिविधिविरुद्ध आपराधिक अभियोग दायर गर्न पाइन्छ भन्ने सन्दर्भमा अदालतले स्पष्ट नपारिदिएकाले अहिले फेरि लगाइएका अभियोगहरू सर्वोच्च अदालतले भनेको राष्ट्रपतिको उन्मुक्तिको दायरामा पर्छ कि पर्दैन भन्ने स्पष्ट नभएको रिच्मन बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।