तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फौजदारी मुद्दामा डोनल्ड ट्रम्प दोषी ठहर, निर्वाचनमा कस्तो प्रभाव पर्ला
अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प एउटा ऐतिहासिक फौजदारी सुनुवाइका क्रममा व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको ३४ वटा कसुरमा दोषी ठहर भएका छन्।
भूतपूर्व वा पदमा बहाल रहेका अमेरिकी राष्ट्रपति कुनै पनि अपराधमा दोषी ठहर भएको यो पहिलो घटना हो।
अदालतले जुलाई ११ मा उनीविरुद्ध सजाय सुनाउने छ। ट्रम्पलाई जेल सजाय पनि हुन सक्छ। कानुनविद्हरूले उनलाई जरिवाना हुने सम्भावना बढी रहेको बताएका छन्।
ट्रम्पले यो आदेशलाई "कलङ्क" भन्दै उक्त मुद्दा हेर्ने निकायकोअध्यक्षता गरेका न्यायाधीश मर्चनको आलोचना गरेका छन्।
ट्रम्पविरुद्ध परेका केही मुद्दाको सुनुवाइ हुन बाँकी नै छ।
राष्ट्रपति बाइडनलाई आगामी नोभेम्बरमा हुने चुनावमा पराजित गरेर ह्वाइट हाउसमा फर्किन ट्रम्पले निर्वाचन अभियान चलाइरहँदा यो आदेश आएको हो।
अदालतले २२ प्रत्यक्षदर्शीसँग छ सातासम्म बयान लिएको थियो। बयान दिनेमा ट्रम्पसँग अवैध यौन सम्बन्ध भएको र सन् २०१६ को चुनावअघि "चुप बस्न" रकम दिइएको भनिएकी पोर्नस्टार स्टोर्मी ड्यान्यल्स पनि थिइन्।
ट्रम्पका एक वरिष्ठ अधिवक्ताले 'फक्स न्यूज'लाई बताएअनुसार पूर्वराष्ट्रपतिको कानुनी टोलीले पुनरावेदनका लागि “सबै उपायमाथि छलफल” गरिरहेको छ।
कसले के भने?
अदालतको निर्णय वर्तमान अमेरिकी प्रशासनका लागि ठूलो जित भएको म्यान्हटनका पूर्वअभियोजक डङ्कन लेभिनले बताए।
“यो मुद्दा बलियो रूपमा पुष्टि भएको थियो अनि एक जनाको बयानले मात्रै नभई कागजपत्र, इमेल र फोन अभिलेखले त्यसलाई पुष्टि गरेको थियो,” उनको भनाइ छ।
उनले ट्रम्पले न्यायलाई "अवमूल्यन गर्न" आफ्नो सबै शक्ति प्रयोग गरेको भन्दै १० पटक फौजदारी अवहेलनामा संलग्न भएको पाइएको बताए।
“यो अभियोजकहरूको ठूलो जित हो।”
अदालतमा बयान दिन उपस्थित भएका ट्रम्पका पूर्ववकिल माइकल कोएनले आफू "चिन्तामुक्त" भएको तर आश्चर्यचकित नभएको प्रतिक्रिया दिएका छन्।
“अन्तिममा यसमा तथ्य जे थियो त्यो नै कायम रह्यो,” उनले भने, “यो जबाफदेहिता हो र यो नै अमेरिकालाई अहिले चाहिएको कुरा थियो।”
यो आदेश आउनुअघि अमेरिकी वयस्क चलचित्र अभिनेत्री ड्यान्यल्सलाई चुप बस्न रकम दिइएको मुद्दामा दोषी ठहर हुने एक मात्र व्यक्ति कोएन थिए।
अन्तर्वार्तामा उनले सुनवाइका क्रममा आफूले भोगेको तनाव र दबाव र विगतमा शपथ लिइसकेपछि पनि झुट बोल्नुपर्नाले थपिएको थप जटिलताबारे बोलेका थिए।
ट्रम्पको कानुनी टोलीका सदस्यले इजलास कक्षभित्र उनलाई कडा प्रश्नहरू गरेका थिए। टड ब्लान्चले कोएनलाई "हालसम्मकै सबैभन्दा ठूलो ठग" भनेका थिए। त्यसको प्रत्युत्तरमा कोएनले ट्रम्पका ती वकिललाई "हालसम्मकै सर्वाधिक मूर्ख वकिल" को सङ्ज्ञा दिएका थिए।
राष्ट्रपति निर्वाचनमा कस्तो प्रभाव पर्ला?
ट्रम्प अमेरिकाका पैँतालिसौँ राष्ट्रपति हुन्।
बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्करका अनुसार अमेरिकाको इतिहासमा यसअघि कुनै पनि पदासीन वा पूर्वराष्ट्रपति कुनै अपराधमा दोषी ठहर भएका थिएनन्। दोषी ठहर भएर पनि प्रमुख दलबाट राष्ट्रपतिको उम्मेदवार बन्न लागेका उनी पहिलो नेता हुन्।
स्टोर्मी ड्यान्यल्ससँग सम्बन्धित मुद्दामा ट्रम्पले पुनरावेदन गर्ने योजना बनाएको भए पनि अहिलेको फैसलाबाट राजनीतिक प्रभाव पर्न सक्ने ठानिएको छ।
यसै वर्षको सुरुमा उनी रिपब्लिकन पार्टीबाट उम्मेदवार मनोनीत भएका थिए। अदालतले सजाय सुनाएको केही दिनभित्रै उनी सो दलको अधिवेशनबाट औपचारिक उम्मेदवार बन्ने छन्।
मतसर्वेक्षणहरूमा ट्रम्प र जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। मतदाताहरूले मन परिवर्तन गर्न सक्ने धेरै महत्त्वपूर्ण राज्यहरूमा ट्रम्प लाभको स्थितिमा देखिन्छन्। तिनै राज्यले अन्तिम परिणामको छिनोफानो गर्छन्।
तर ती सर्वेक्षणहरूले यो फैसलाबाट परिस्थिति फेरिन सक्ने सङ्केत पनि गरेका छन्।
गत हिउँद याममा रिपब्लिकन पार्टीको प्राइमरी चुनावमा केही मतदाताले ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर भएको अवस्थामा उनलाई मत नदिने बताएका थिए। गत एप्रिलमा इप्सस र एबीसी न्यूजले गरेको अर्को सर्वेक्षणमा ट्रम्पलाई समर्थन गर्ने १६ प्रतिशतले उनी दोषी ठहर भएको अवस्थामा उनलाई मत दिने कि नदिने भनेर पुनर्विचार गर्ने बताएका थिए।
त्यतिबेला ट्रम्पविरुद्ध विभिन्न अपराध गरेको अभियोगमा चारवटा मुद्दा चलेका थिए। तीमध्ये सन् २०२० को राष्ट्रपतीय निर्वाचनको परिणाम उल्ट्याउने प्रयास र ह्वाइट हाउसबाट बहिर्गमन हुँदा वर्गीकृत दस्तावेजहरूसँग सम्बन्धित मुद्दा पनि थिए।
अब मतदाताहरूले अदालतको फैसलापछि आफ्नो निर्णय गर्न सक्छन्।
"वास्तविक फैसला नोभेम्बर ५ मा जनताले गर्ने छन्," अदालतबाट बाहिर निस्किएपछि ट्रम्पले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।